देवदह। बिहानको ठिक ११ बजेको छ । ढकमक्क फुलेका सयपत्री फूल घामको किरणसँगै टल्किरहेका छन् । फूलमाथि भमराहरू झुम्मिएका छन् । चारैतिर पहेँलपुर देखिने यो दृश्य कुनै आकर्षक फूलबारीभन्दा कम छैन । तर यो कुनै व्यावसायिक फूलबारी नभई विद्यार्थीले आफ्नै मेहनत र पसिनाले तयार पारेको फूलखेती हो । तिहारलाई लक्षित गरी विद्यार्थीले विगत तीन वर्षदेखि निरन्तर फूलखेती गर्दै आएको यो दृश्य रुपन्देहीको देवदह नगरपालिका ५ स्थित केरवानी माध्यमिक विद्यालयको हो ।
विद्यालयले विगत तीन वर्षदेखि तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएको छ। यस वर्ष करिब १० हजार रुपैयाँ बराबरका फूलका बेर्ना रोपिएको विद्यालयले जनाएको छ । उत्पादित फूल बिक्रीबाट करिब ६० हजार रुपैयाँ आम्दानी हुने विद्यालयको अनुमान छ ।
विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाका अनुसार कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गर्ने विद्यार्थी फूलखेतीमा प्रत्यक्ष संलग्न छन् । विद्यार्थीले उत्पादन गरेको फूल प्रतिकेजी २५० देखि ४०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।
फूल बिक्रीबाट प्राप्त आम्दानीमध्ये ३० प्रतिशत रकम फूलखेतीमा संलग्न विद्यार्थीलाई उपलब्ध गराइनेछ भने ७० प्रतिशत रकम विद्यालयले अन्य आर्थिक स्रोतसमेत कृषि सामग्री खरिद, जमिन खनजोत तथा कृषि क्षेत्रकै अन्य गतिविधिमा खर्च गर्दै आएको प्रधानाध्यापक ढुङ्गानाले बताए ।
विद्यालयले कृषि शिक्षालाई किताब र कक्षाकोठामा मात्र सीमित नराखी व्यवहारमै उतार्ने प्रयास गरिरहेको छ। त्यसका लागि विद्यालय परिसरमै माछापालन, च्याउखेती, तरकारीखेती, फूलखेती, तरकारी तथा फलफूलका बेर्ना उत्पादन, कागतीखेती र बदामखेतीजस्ता गतिविधि सञ्चालन हुँदै आएका छन् ।
विद्यार्थीले पढेका कुरा आफैँ खेतबारीमा पुगेर अभ्यास गर्न पाउँदा सिकाइ प्रभावकारी हुने प्रधानाध्यापक ढुङ्गानाको भनाइ छ । अध्ययन पूरा गरेपछि आफ्नै देशको माटोमा केही गर्न चाहने विद्यार्थीलाई यस्ता गतिविधिले थप प्रेरणा दिने उनको विश्वास छ ।
कक्षा ९ मा कृषि विषय अध्ययनरत रविना रानाकालागि पनि फूलखेती पढाइसँगै सिकाइको राम्रो माध्यम बनेको छ । किताबमा पढेका कुरा आफैँले खेतमा पुगेर अभ्यास गर्न पाउँदा व्यवहारिक ज्ञान बढी प्राप्त भएको र विषयवस्तु बुझ्नसमेत सहज भएको उनले बताइन् ।
कृषि पढाइलाई उत्पादनसँग जोड्दै आएको केरवानी माध्यमिक विद्यालयको यो प्रयासले विद्यार्थीलाई श्रमको महत्त्व बुझाउनुका साथै कृषि क्षेत्रमा सम्भावना खोज्न प्रेरित गरेको छ । विद्यालयको फूलखेती तिहारका लागि फूल उत्पादन गर्ने माध्यम मात्र बनेको छैन, विद्यार्थीलाई पढ्दै, सिक्दै र कमाउँदै आत्मनिर्भर बन्ने बाटो देखाउने अभ्यास समेत बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology