देवदह । देवदह नगरपालिकाले बिहिवार योजना तथा कार्यक्रम सम्झौता स्थगन सम्बन्धि सूचना जारी गर्यो । चालु आर्थिक वर्ष २०८१/०८२ मा अनुमान अनुसारको राजस्व संकलन नहुँदा र संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तथा समानीकरण अनुदानमा कटौती भएपछि नगरपालिकाले आफ्ना कार्यक्रम तथा आयोजना सम्झौता स्थगन गर्ने निर्णय गरेको विषय सूचनामा उल्लेख छ।
नगर प्रमुख स्तरको निर्णयानुसार मिति २०८१ चैत २२ गतेदेखि लागु हुने गरी नगरस्तरीय, वडास्तरीय तथा शाखागत सबै कार्यक्रम र आयोजनाको सम्झौता अर्को व्यवस्था नभएसम्मका लागि रोकिएको नगरपालिकाले जनाएको छ।
सूचना अनुसार उपलब्ध स्रोतसाधनले स्वीकृत कार्यक्रम तथा आयोजनाको भुक्तानीमा कठिनाइ हुन सक्ने अवस्था सिर्जना भएको छ। यस्तो परिस्थितिमा आर्थिक व्यवस्थापनलाई सन्तुलित बनाउने उद्देश्यले सम्झौता स्थगन गरिएको जनाइएको छ। यद्यपि, नगरपालिकाबाट स्वीकृत शशर्त कार्यक्रम, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, स्थानीय आर्थिक विकास सूचकाङ्क तथा कार्यसम्पादन मूल्याङ्कनसँग सम्बन्धित कार्यक्रमहरू भने यो निर्णयको दायरामा नपर्ने स्पष्ट गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचनाबारे सेतोमसीले जिज्ञासामा नगर प्रमुख ध्रुवप्रसाद खरेलले रकम अभावले मात्र योजना सम्झौता स्थगित नगरिएको बताए। चैत्र अघि नै योजना सम्झौता कार्य सक्ने र बैशाखसम्म भुक्तानी लिने कार्य सकाएर असारे विकास रोक्ने योजना अनुसार योजना सम्झौता कार्य रोकिएको प्रमुख खरेलले दावी गरे । 'यो नगरसभा र कार्यपालिका कै निर्णय हो । हामीले समयमै योजना सम्झौता गर्न निरन्तर अनुरोध गर्दै आएपनि अझै केही योजना सम्झौता हुन बाँकी रहेको देखिएको छ ।" उनले भने, "हाललाई ति योजनाको सम्झौता रोकिएको छ ।"
यसरी हेर्दा रकम अभावले आयोजना सम्झौता स्थगन गरिएको नगरपालिकाका शाखा प्रमुख रमेश गिरीद्वारा जारी सूचना र केही योजना समयमै सम्झौता नगरिएकोले असारे विकास रोक्न सम्झौता बन्द गरिएको भन्ने नगर प्रमुख खरेलको भनाई बाझिएको छ। यसले देवदह नगरपालिकामा बजेट सकिएर योजना सम्झौता रोकिएको हो या समय सकिएर भन्ने प्रश्न खडा भएको छ ।
यस्तो छ, चालु वर्षको दोस्रो चौमासिकको प्रगति विवरण :
चालु आर्थिक वर्षको दोस्रो चौमासिक अन्त्यसम्म देवदह नगरपालिकाको भौतिक प्रगति २५ प्रतिशत रहेको छ । नगरको आर्थिक प्रगति ११ प्रतिशत रहेको छ । नगरपालिकामा चालु आर्थिक वर्षमा निर्माण तथा वस्तु खरिद सम्बन्धि ठेक्काहरुको संख्या २६ रहेको र त्यसमा निर्माण तर्फको ठेक्काहरुको संख्या १९ र वस्तु खरिद तर्फको ठेक्का ७ वटा रहेको छ ।
फाल्गुन मसान्तसम्म १६३ वटा योजनाहरुको अन्तिम भुक्तानी समेत भएको र दर्ता भइ सम्झौता भएका योजना १६९ रहेका छन् । यसअघि नगरपालिकाले नियमित पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार निर्माण खरिद तर्फको भौतिक र आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा अधिकृत रमेश गिरीले कुल ४४८ वटा योजना मध्ये ३३२ वटा योजना सम्पन्न भएको र एक सय १९ वटा योजना सम्झौता हुन बाँकी रहेको जानकारी दिएका थिए ।
वडागत रुपमा हेर्दा वडा नं १ ले ३०.९४ प्रतिशत, वडा नं २ ले ५१.७३ प्रतिशत, वडा नं ३ ले ४०.४३ प्रतिशत, वडा नं ४ ले ३०.५७ प्रतिशत र वडा नं ५ ले ५६.०८ प्रतिशत वजेट रकम खर्च गरेका छन् । यसैगरी वडा नं ६ ले २८.७२, वडा नं ७ ले ४९.४२, वडा नं ८ ले ३९.८८, वडा नं. ९ ले १९.९८ र वडा नं १० ले सवैभन्दा कम १२.५४ प्रतिशत रकम खर्च गरेका छन् । प्रतिशतका हिसावले हेर्दा फाल्गुन मसान्तसम्म वडा नं ११ ले ५५.६९ प्रतिशत र वडा नं १२ ले ५१.७३ प्रतिशत वजेट रकम खर्च गरेको देखिन्छ।
चालु आर्थिक वर्षमा एक अर्व २५ करोड २३ लाख ६५ हजार पाँच सय रुपैंया कुल बजेट विनियोजन गरेको देवदह नगरपालिकाले चालु तर्फ ४७ प्रतिशतभन्दा बढि अर्थात २७ करोड ७२ लाख ६२ हजार रुपैंया र पुजिगत तर्फ जम्मा १० प्रतिशतको हाराहारीमा रकम खर्च गरेको छ । यसरी औषतमा हेर्दा दोश्रो चौमासिकसम्म २७.९८ प्रतिशत बजेट रकम खर्च भएको छ ।
शाखागत रुपमा कुल विनियोजित बजेट मध्ये शिक्षा शाखाले ५७.१३ प्रतिशत रकम खर्च गर्दा स्वास्थ्यले ३८.६७ प्रतिशत, कृषिमा १९.०७ प्रतिशत र पशुपन्छि विकासमा २१.२८ प्रतिशत रकम खर्च भएको छ । यस्तै भुमि तर्पm १४.५३ प्रतिशत रकम खर्च हुँदा सामाजिक समानता तथा सामाजिक समोशीकरण शिर्षकमा २९.७ प्रतिशत रकम खर्च गरिएको छ । शाखागत खर्च अन्तर्गत सवैभन्दा कम पुर्वाधार–यातायात शिर्षकमा रहेको पाइएको छ ।
चैत्र ३ को नगरपालिकाको पत्रकार भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले यसवर्ष आन्तरिक राजश्वको दर निकै कम भएको बताउँदै दोस्रो चौमासिकसम्म आईपुग्दा राजश्व दर घाटामा रहेको जानकारी दिएका थिए ।
२०७३ साल यता नगरपालिकाको वेरुजु २० करोड ५४ लाख बढि रहेको भएपनि प्रत्येक वर्ष थपिदै आएको बेरुजु रकम यसबर्ष केहि घट्ने गरि काम गरिएको नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology