देवदह । देवदह नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा वडा कार्यालय र नगरपालिकाका शाखाहरुले गतवर्षको समिक्षासंगै सुझाव प्रस्तुत गरेका छन् ।
समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले सबै वडा कार्यालय र शाखाहरुले सम्बन्धित क्षेत्रमा विनियोजन भएको बजेट परिचालन गर्न भूमिका खेल्नु पर्ने बताए । पुँजीगत खर्च बढाउने र नगरसभाले पास गरेका योजनाको सहि ढंगले कार्यान्वयन गर्ने कार्य वडा र शाखाहरुको भएको उल्लेख गर्दै उनले नागरिकले महसुस गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।
"वार्षिक समिक्षा कार्यक्रममा शाखा र वडाले प्रस्तुत गरेका प्रतिवेदन विगतमा भन्दा सुधारिएको छ । अझैपनि आफ्नो शाखा र वडामा कति बजेट हो ? त्यसको कति प्रतिशत खर्च भयो ? उपलब्धि के भयो भन्नेसहितको प्रतिवेदन आउन सकेको छैन । उनले भने, "आगामी दिनमा अझै परिणाममुखी काम गर्नुपर्ने दायित्व हामी माथि छ । यसलाई सबैले मनन गरौँ र जिम्मेवारी पुरा गरौँ ।"
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले प्रभावकारी सेवा प्रवाहलाई ध्यानमा राख्न कर्मचारीलाई निर्देशन गरे । जनप्रतिनिधिसंग एकाकार भएर नागरिकका समस्या समाधान र गुनासो सम्बोधन गर्ने कार्य कर्मचारीको भएको उल्लेख गर्दै सापकोटाले राजश्व संकलन, पुँजीगत खर्च वृद्धि र सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
समिक्षा कार्यक्रममा नगरपालिकाका १२ वटै वडाले सुझाबसहित एकमुष्ट प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रशासन शाखा, शिक्षा शाखा, कृषि शाखा, पशु विकास शाखा, वातावरण तथा विपद शाखा, स्वास्थ्य शाखा, पूर्वाधार शाखा, न्यायिक समिति, प्रशासन शाखा, जिन्सी शाखा लगायतका शाखाले गत आर्थिक वर्षको उपलब्धि प्रस्तुत गरेका थिए ।
समिक्षा कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे तथा वडा अध्यक्ष, कार्यापालिका सदस्य र नगरसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology