देवदह । देवदह नगरपालिकाले अन्तराष्ट्रिय भिक्षुणी संघसंग गरेको सम्झौता खारेज गरेको छ । सम्झौता अनुसार काम नभएको भन्दै साउन २८ गते बसेको नगरपालिकाको १८१औं कार्यपालिका बैठकले सम्झौता भंग गरेको हो ।
पूर्व पश्चिम लोकमार्गसंग जोडिएको शितलनगरमा करिव १५ कठ्ठा जग्गामा बौद्ध धर्मसँग सम्बन्धित अन्तराष्ट्रिय भिक्षुणी संघले ५०० जना अटाउने योग ध्यान गर्ने, विहार सहितका संरचना निर्माण र व्यवस्थापन गर्ने गरी २०७६ जेठ ३१ गते सम्झौता भएको थियो ।
सार्वजनिक जग्गा अनियमित भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नगरपालिकाले नै आवश्यक निर्णय गर्न अख्तियारले पत्र पठाएपछि सम्झौता खारेज गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकको निर्णय नं. १ मा भनिएको छ, "नगरपालिका र अन्तराष्ट्रिय भिक्षुणी संघ वीच भएको सम्झौतामा निर्माण कार्य ६ महिनाभित्र सुरु गरी ५ वर्षभित्र सम्पन्न गर्ने उल्लेख भएकोमा सो को पालना नभएको, निर्माण कार्यमा प्रयोग हुने रकमको स्रोत तथा विवरण पेश नगरिएको, सम्झौता भएपछि संस्थाको नाम परिवर्तन सम्वन्धी काम गरेको, ध्यान गर्ने मुल आकर्षक संरचना निर्माण सम्बन्धी कुनै कार्य नगरी आवास मात्र निर्माण गरेको र सार्वजनिक जग्गा उपयोग सम्बन्धी कार्यविधिको समेत पूर्ण पालना भएको नदेखिएकोले देवदह नगरपालिका र भिक्षुणी संघ वीच मिति २०७६।२।३१ को सम्झौता आजैका मिति देखि खारेज गरी साविककै अवस्थामा ल्याउने निर्णय गरियो ।"
५१ करोडको लागतमा संरचना निर्माण हुने गरि ठेका लागिसकेको र भवन निर्माणको केही काम समेत सुरू भैसकेको अवस्थामा नगरपालिकाले सम्झौता खारेज गरेपछि अब के हुने भन्ने अन्यौल देखिएको छ ।
यस विषयमा भिक्षुणी संघसंग जोडिएर काम गरिरहेका स्थानीयहरूसंग कुरा गर्दा उनीहरूले काम नरोकिने बताए । "कानूनी जटिलता त देखियो तर व्यावहारिक रूपमा काम गर्न समस्या छैन' एक स्थानीयले भने, "यहाँको बिजुली पानी सबै महामाया बौद्ध बिहारको नाममा छ । यथास्थितिमा फर्किने नगरपालिकाको निर्णय अनुसार अब जग्गा बिहारको नाममा आएको हुनाले काम गर्न असहज हुन्छ भन्ने लाग्दैन ।"
कार्यपालिका बैठकले देवदह नगर अस्पतालको प्रगति र अबको योजना तय गर्ने, देवदह नगरपालिका कोशेली भवन संचालन तथा व्यवस्थापन कार्यविधि संशोधन गर्ने, सहदवनिया हाट बजारको ठेक्का सम्बन्धि दोस्रो सूचना प्रकाशन गर्दा समेत आवेदन नपरेपछि न्युनतम रकम ७ लाख बाट घटाएर ५ लाख कायम गरि पुन: सूचना जारी गर्ने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology