देवदह । देवदह नगरपालिकाले आगामी आर्थिक वर्षको चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत बजेट खर्च गर्ने योजना अघि बढाएको छ । बिहिबार प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाका विषयगत शाखा र वडा कार्यालयलाई जारी गरेको पत्रमा चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत बजेट गर्ने कार्य योजना उल्लेख गरेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको बुँदा नं २४५ मा चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत खर्चको लक्ष्य लिईएको हुनाले उपभोक्ता मार्फत संचालन हुने आयोजनाहरू प्रभावकारी तवरले कार्यान्वयनमा लैजान पत्रमा अनुरोध गरिएको छ ।
नगरपालिकाको कार्यतालिकामा असोज मसान्तसम्म उपभोक्ता समिति गठन, कार्तिक मसान्तसम्म उपभोक्ता समितिलाई तालिम, मङ्सिर मसान्तसम्म
योजना सम्झौता र २०८२ बैशाख मसान्तसम्म कार्य सम्पन्न गरि जेष्ठ मसान्तसम्म भुक्तानी फरफारक गरिने पत्रमा उल्लेख छ ।
असारे विकासलाई निरुत्साहित गरि समयमै व्यवस्थित र गुणस्तरीय तवरले कार्यसम्पन्न गर्न कार्यतालिका बनाएर काम गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
असार १० गते सम्पन्न चौधौं नगरसभाबाट १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट ल्याएको देवदहले आ.व. ०८१/८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
नगरपालिकाले आर्थिक विकास तर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।
पुर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार छुट्याइएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology