Logo

२०८३, आश्विन ९गते


images
images

बौद्ध इतिहास

पृथ्वी उल्टिएको कथा

पृथ्वी उल्टिएको कथा

images
  • पृथ्वी उल्टिएको कथा
    images
    images

    पृथ्वी उल्टिएको कथा भगवान गौतम बुद्धले रोहिणी नदीतटमा सुनाउनु भएको कथा हो । रोहिणी नदीवाट सिचाइका लागि लगिएको कुलोले गर्दा तत्कालीन कोलिय र शाक्य राज्यका किसानहरूवीच भनाभन भई हातपात हुने स्थितिसम्म पुगेको थियो । त्यसबेला राजवंशलाईसमेत असर पर्ने गरी दुबैतर्फका किसानहरुले नराम्रो शब्द प्रयोग गरेका थिए । किसानका झगडाका कुरा राजदरवारसम्म पुगेपछि ठूलै युद्धको तयारी भएको थियो । कोलिय र शाक्यबिचको युद्ध रोक्न भगवान बुद्ध स्वयम् रोहिणी नदीमा प्रकट हुनु भयो । बुद्धले रोहिणी नदीतटमा महायुद्धको तयारी गरेका शाक्य र कोलीय राजाहरुलाई प्रश्न सोधेर नाजवाफ तथा लज्जित बनाउनु भयो । वैरभाव र वैमनश्यता हटाउन बुद्धले रोहिणी नदीमा विभिन्न जातक कथाहरू सुनाउनु भयो । अरूको कुरा सुनेर त्यसको पछि लाग्दा हुने वेफाइदाहरू बुझाउन बुद्धले सुनाउनु भएको पथवी उद्दिय जातक कथा निकै रोचक छ । अरूको कुरामा प्रमाण नभई विश्वास गर्दा हुने क्षतिबारे बुद्धले यस कथामार्फत बुझाउन खोज्नु भएको छ । बुद्धले रोहिणी नदीमा देशना गर्नु भएको पथवी उद्दिय जातक कथालाई यहाँ प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    पथवी उद्दिय जातक कथा

    images
    images
    images

    निकै पहिले वाराणसीमा ब्रम्हदत्त राजाले राज्य गरिरहेको समयमा बोधिसत्वको जन्म सिंहको रुपमा भयो । वयस्क भएपछि त्यो सिंह जङ्गलमा बस्न गयो । उक्त्त जङ्गलको पश्चिम छेउँतिर समुद्र नजिकै ताड र बेलका रुखहरुको वन थियो ।  ताड र बेल भएको वनमा खरायोहरु बस्ने गर्दथे ।

    images
    images
    images

    एकदिन एउटा खरायो आफूले शिकार गरेको खानेकुरा खाँदै बेलको जरालाई सिरानी बनाएर ताडको छायामा बिसरहेको थियो । त्यत्तिकैमा खरायोले बिचार गर्न थाल्यो यदि यो पृथ्वी पल्टियो भने म कहाँ जाने ? 

    त्यही समयमा सामान्य हावाकै कारण एउटा पाकेको वेल ताडको रुखको पातमा झर्यो । दङ्ग्रङ्ग गरेको ठूलो आवाज सुनेर खरायोलाई लाग्यो ! ला पृथ्वी पल्टियो ।

    खरायो त्यहाँबाट उठ्यो र भाग्यो । मृत्यु भयदेखि डराएर बेस्सरी दौडिरहेको त्यो खरायोलाई देखेर अरु खरायोहरूले सोधे  किन तिमी यसरी डराएर भागिरहेका छौ ?

    खरायोले दौडिँदै उत्तर दियो भो ! नसोध साथीहरु ! भयङ्कर डरलाग्दो घटना घट्यो ! पृथ्वी पल्टिरहेको छ ।
     
    खरायोको कुरा सुन्ने बित्तिकै सबै खरायोहरु उसकै पछिपछि दौडिन थाले । सबै खरायोहरुले आवाज निकालिरहेका थिए - अनिष्ट भयो । पृथ्वी पल्टिरहेछ ! पृथ्वी पल्टिरहेछ !!! पृथ्वी पल्टिरहेछ !!!
     
    यो कुरा सुन्नेजति यिनीहरूकै पछिपछि भागे । यसरी खरायोहरू एकले अर्कालाई देखे, फेरि अरुलाई देखे एवं प्रकारले हजारौं खरायोहरू जम्मा भएर भागिरहे ।

    खरायोहरू भागिरहेको मृगले देख्यो । ध्यान दिएर सुन्यो । अनिष्ट भयो । पृथ्वी पल्टिरहेछ ! पृथ्वी पल्टिरहेछ !! पृथ्वी पल्टिरहेछ !!! मृग पनि पछि लाग्यो । सुङ्गुर, नीलगाई, राँगा, साँढे, वाघ, हात्ती आदि पृथ्वी पल्टिरहेछ भन्ने कुरा सुन्ने वित्तिकै उनीहरूकै पछि लागेर भाग्न थाले । एवंप्रकारले उक्त्त क्षेत्रभरि पशुहरूको वथान दौडिरएको थियो । कहाँ पुग्ने कुनै योजना थिएन । अलिपर समुद्र थियो । उनीहरु समुद्रतर्फ गइरहेका थिए ।

    त्यसवेला वोधिसत्व सिंहले पशुहरूको वथान भागिरहेको देखेर सोधे - "यो के हो ?"

    पशुहरूको वथानबाट भययुक्त्त आवाज आइरहेको थियो, पृथ्वी पल्टिरहेको छ ।

    यस्तो कुरा सुनेर सिंहले विचार गर्यो कि पृथ्वी त कहिल्यै पल्टिदैन । अवश्य पनि यिनीहरूले केहि देखेको हुनुपर्छ । यदि मैले केहि प्रयत्न गरिनँ भने यिनीहरू सबैले ज्यान गुमाउने छन् । मैले यिनीहरूलाई जसरी पनि जोगाउनु पर्छ । 

    त्यसपछि वेगले नजिक पुगेर अग्लो ठाउँबाट तीनपटकसम्म सिंह जोडजोडले गर्जियो । अन्य जनावरहरू सिंहको भयङ्कर आवाज सुनेर त्यहीँ रोकिए । सबै जनावरहरुको त्रसित आवाज आइरहेको थियो । 

    सिंहले उनीहरुको नजिक गएर उनीहरूसँग सोध्यो किन यस्तरी भागिरहेका छौ ?

    सबैले भने : पृथ्वी पल्टिरहेछ ।

    सिंहले सोध्यो : पृथ्वी पल्टेको कसले देखेको हो ?

    सिंहले हाट्टीहरूसंग सोधेपछि उनीहरूले जवाफ दिए - "हामीलाई थाहा छैन, वाघलाई थाहा छ ।" 

    वाघहरुले भने - "हामीलाई थाहा छैन, गैंडालाई थाहा छ ।" 

    गैंडाहरूले भने - "हामीलाई थाहा छैन, साँढेहरूलाई थाहा छ ।"  

    साँढेहरूले भने - "हामीलाई थाहा छैन, नीलगाईहरूलाई थाहा छ ।"
     

    नीलगाईहरूले भने - "हामीलाई थाहा छैन, सुङ्गुरहरूलाई थाहा छ ।"

    सुङ्गुरहरूले भने - "हामीलाई थाहा छैन, मृगहरूलाई थाहा छ ।"

    मृगहरूले भने - "हामीलाई थाहा छैन, खरायोहरूलाई थाहा छ ।"

    खरायोहरूसँग सोध्नासाथ त्यसमध्ये एउटा खरायोलाई देखाएर भने - "यसले देखेर  भनेको हो ।"

    सिंहले त्यो खरायोसँग सोध्यो - "साथी ! के तिमीले पृथ्वी पल्टेको देखेकै हौ त ?" हो स्वामी ! मैले देखेकै हुँ, सुनेकै हुँ ।

    कहाँ बसिरहेको बेलामा देखेका हौ ? "म पश्चिम समुद्रको नजिकै वनमा थिएँ । बेल रुखको जरा र ताडवृक्षको छायाँमा बसिरहेको बेलामा विचार गरेँ (पृथ्वी पल्टिएमा म कहाँ जाने ? त्यही समयमा पृथ्वी पल्टेको ठूलो आवाज सुनिएपछि म डराएर भागेको हुँ ।"

    सिंहले विचार गर्यो - निश्चय पनि ताडपत्रमा पाकेको बेल झर्नासाथ आवाज निस्कियो होला । त्यही आवाज सुनेर यसले पृथ्वी पल्टियो भन्ने सम्झेर भागेको हुनुपर्छ । मैले यथार्थ कुरा बुझ्नै पर्ने हुन्छ । 

    सिंहले त्यस खरायोलाई आफ्नो साथमा राखेर अन्य जनावरहरूलाई आश्वासन दियो । म जहाँ खरायोले पृथ्वी पल्टेको देखेको हो, त्यहीँ गएर यथार्थ

    बुझेर आउँछु । म नआएसम्म तिमीहरू यहीँ पर्खिराख ।

    सिंहले खरायोलाई आफ्नो पीठमा राखेर बेगले उक्त्त वनमा पुऱ्यायो र सोध्यो - तिमीले देखेको स्थान देखाऊ ।

    खरायोले भन्यो - "स्वामी ! मलाई डर लाग्छ ।"

    'आऊ डराउनु पर्दैन ।'

    खरायो बेलवृक्ष नजिक जान डराएर अलि टाढै बसेर देखायो - स्वामी ! तिम्रो भलो होस् । ऊ त्यो ठाउँमा निकै ठूलो दङ्ग्रङ्ग आवाज निस्केकै हो । म बसिरहेको ठाउँमा आएको दङ्ग्रङ्गको निकै ठूलो आवाज के को हो ? त्यो त मलाई पनि थाहा छैन ।

    दुहुभायति भद्दन्ते, यस्मिं देसे वसामहं । अहंम्पेतं न जानामि, किमेतं दुहुभायतु ति ॥

    यस्तो कुरा सुनेपछि सिंह खरायो बसेको बेलको जरा र ताडको रुखमुनि गयो । खरायो बसिरहेको ठाउँमा टुटेको ताडको पात थियो । ताडको पातकै नजिक झरेर बेल फूटेको थियो । यो देखेपछी पृथ्वी पल्टिएको होइन भन्ने यथार्थ सिंहले बुझ्यो । खरायोलाई पनि त्यो कुरा बुझायो । उसले खरायोलाई काँधमा बोकेर फेरि पहिलेकै ठाउँमा आइपुग्यो । त्यसपछि पशु बथानलाई यथार्थ कुरा बुझायो । त्यसपछि सबैको डर हट्यो । आआफ्नो बथान बनाउँदै जनावरहरु फर्किन थाले । यदि बोधिसत्व सिंह त्यहाँ नभएको भए धेरै जनावरहरू समुद्रमा डुवेर मर्ने थिए । बोधिसत्वको कारण धेरैको प्राण बच्यो ।

    पथवी उद्दिय जातक कथाको सन्देश

    अरुको कुरा सुनेर त्यस्तै गर्नेहरू, आफ्नै विवेक तथा ज्ञानद्वारा काम नगर्ने र अरुको कुरामा विश्वास गर्नेहरू मूर्ख हुन् । जो सदाचारी हुन्छ, जो प्रज्ञाद्वारा चित्त अग्निलाई शान्त पार्न लागिरहन्छ, जो पापकर्मवाट टाढा रहन्छ, विरत रहन्छ, यस्ता धीर व्यक्तिहरू अरुको कुरामा विश्वास नगर्ने हुन्छन् । 
    त्यसैले भनिएको छ - जसले अरुले भनेका भरमा मात्र विश्वास गर्दैन, आफैले निर्वाणलाई जानि सक्छ, जन्म लिनुपर्ने सांसारिक बन्धन क्षीण गरिसक्छ, गर्नु पर्ने कार्यहरू पूरा गरेपछि सम्पूर्ण तृष्णा त्याग्न सक्छ, त्यसलाई नै उत्तम व्यक्त्ति भनिन्छ ।

    भगवान बुद्धले किसानका कुराको विना प्रमाण विश्वास गर्ने श्रेष्ठी (अमात्य), श्रेष्ठीहरूको कुरा विश्वास गर्ने राजपुत्रहरू, राजपुत्रहरूको कुरामा विश्वास गर्ने सैनिकहरु, सैनिकहरुको कुरामा विश्वास गरेर महायुद्धको तयारी गर्ने माहाराजाहरुलाई प्रभाव पार्ने गरि पथवी उद्दिय कथामार्फत उपदेश दिनु भएको थियो । 

    त्यसपश्चात भगवान बुद्धको उपदेशले युद्धका लागि तयार भएका दुबै पक्षले गल्ती महसुस गरेका थिए । जातक कथा सुन्न पाएर दुबै पक्षका लड्न तयारी भएका योद्धाहरूको क्रोध शान्त भई शस्त्रअस्त्र त्यागेका थिए । उनिहरूमा मैत्री स्वभाव जागृत भएर आएको थियो । बुद्धले सुनाएको यस्ता कथा र उपदेशले युद्धका लागि तयार भएका दुबै पक्षले गल्ती महसुस गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।