भगवान् बुद्धले रोहिणी नदी तटमा शाक्य र कोलियहरूबिच पानीको विषयमा हुन लागेको महायुद्धलाई रोक्नु भएको थियो । त्यसबेला युद्ध रोक्न शाक्य र कोलियहरूलाई देशना गर्नु भएको कथामध्येको एक कथा फन्दक जातक हो । गौतम बुद्धले फन्दन जातक कथामार्फत दिएको बुद्धवाणीको सार शत्रुताको कारणले दुबैको हानि हुन्छ र त्यो विनाशकारी नै हुन्छ भन्ने हो । रोहिणी नदी तटमा बुद्धले देशना गर्नु भएको फन्दन जातक कथाको सार यस्तो छ ।
फन्दन जातक कथा
वाराणासीमा ब्रह्मदत्तले राज्य गरिरहेको समयमा नगरको बाहिर सिकर्मीहरूको गाउँ थियो । त्यहाँ एक जना एकजना सिकर्मीले जङ्गलबाट काठ ल्याई रथ बनाएर बेच्थे र आफ्नो जीविका चलाउँथ्यो । त्यस समयमा हिमालय प्रदेशमा महाफन्दन नामको एक वृक्ष थियो । त्यहीँ एउटा कालो सिंह सिकारको खोजीमा आई बसेको थियो । त्यस समयमा उक्त ठाउँमा बेस्सरी हावा चल्यो र रुखको सुकेको हाँगा भाँचियो । त्यो हाँगा खसेर सिंहको शरीरमा लाग्यो ।
त्यस हाँगाले लाग्दा सिंहलाई दुःखेको अनुभव भयो । डराएर केही पर भाग्यो । पछाडि फर्केर हेर्दा उसले कसैलाई देखेन । सिंहले सोच्यो “पक्कै पनि यो वृक्षमा रहेको वृक्षदेवले म बसेको सहन सकेन । ठिकै छ, मैले पनि जानेको छु, यसलाई के गर्नु पर्छ ?” यति सोच्दा सोच्दै सिंह रिसाएर रुखलाई झम्टियो र वृक्षदेवलाई धम्काउँदै भन्यो– “मैले न तिम्रो पातलाई खाने गर्छु, न त हाँगाविँगा नै भाँच्ने गर्छु । अन्य पशुहरू यहाँ आएर बस्दा तिमीले सहेर बस्छौ । म यहाँ बस्दा सहन सकनौँ ? मैले तिमीप्रति के नै दोष गरेको छु र ? केही दिन पर्ख, तिम्रो जरासहित उखलेर टुक्रा टुक्रा पारिदिनेछु ।”
केही समयपछि त्यसै समयमा ब्राह्मण सिकर्मी तीन जना मान्छेहरूका साथ रथको निम्ति काठ खोज्दै फन्दन वृक्षनिर पुगे । सिंहले तिनीहरूलाई देखेपछि भन्यो–“हातमा बञ्चरो लिएका हे पुरुष ! तिमीले काठ काट्ने इच्छा गरेका हौ ?” सिंहका कुरा सुनेर सिकर्मी छक्क प¥यो । यसअघि पशुले मानिसले जस्तै बोलेको थाहा नपाएको उसले सोच्यो, पक्कै यसलाई रथ बनाउन मिल्ने काठको बारेमा थाहा छ । त्यसैले सिकर्मीले भन्यो “हो म काठ काट्न आएको हुँ । मलाई भन नेमिको लागि कुन काठ बलियो हुन्छ ?”
आफूले चिताए बमोजिम सफल हुने कुरा बुझेपछि सिंहले भन्यो– “न त शाल, न त खयर, न त कर्ण, धव त झन कहाँ हुन्छ र ? फन्दन नाउँको काठ नै नेमिको लागि सबैभन्दा बलियो हुन्छ ।” सिंहका कुरा सुनेर प्रसन्न भई सिकर्मीले सोध्यो, “कस्तो किसिमको हुन्छ फन्दन वृक्ष ?”
सिंहले बतायो– “जसका हाँगाहरू लामो हुन्छन्, लच्किएको हुन्छ तर भाँचिदैनन । जुन रुखको फेदमा म बसीरहेको छु, त्यही रुखको नाउ नै फन्दन हो । यसको काठबाट तिमीले रथको चक्का, डण्डा, नाभी, चक्काको घेरा लगायत सबै बनाउन सक्छौ ।”
सिंहले फन्दन वृक्ष सिकर्मीहरुलाई चिनाएपछि त्यहाँबाट अलि पर गइ बस्यो । सिकर्मीहरुले वृक्ष ढाल्ने योजना बनाए । यो सबै वृक्षदेवले देखिरहेका थिए । उनले सोचे, मैले सिंहमाथी केही फालेको छैन, विनाकारण यसले ममाथी शत्रुता गरी मेरो वासस्थानलाई नष्ट पार्न खोजेको छ । अब म त वर्वाद हुने नै भएँ, सिंहलाई पनि वर्वाद पार्ने उपाय गर्छु भनी वृक्षदेवले आफ्नो स्वरुप त्यही वनमा काम गर्ने मानिसको जस्तो बनाएर सिकर्मीलाई सोध्यो । “ओ पुरुष ! तिमीले यो साह्रै महत्त्वपूर्ण रुख पाएछौ । यसबाट राम्रो रथ बनाउन सकिन्छ तर रथको पाङ्ग्रामा कालो सिंहको छालाद्वारा चार अङ्गुलको पेटी बनाएर लगायौ भने रथको चक्का फलामको जस्तै बलियो हुन्छ । अनि तिमीले धेरै पैसा कमाउन सक्छौँ ।”
सिकर्मीले सोध्यो “कालो छाला कहाँ पाउँछ ?”
मानिसको रुप धारण गरेको वृक्षदेवले भने– “तिमीलाई यो फन्दनको वृक्ष कसले देखायो ?”
सिकर्मीले भन्यो “कालो सिंहले ?”
मानिसको रुप धारण गरेको वृक्षदेवले भने– “हो त्यही सिंहसँग पुगेर स्वामी ! तपाईंले देखाएको वृक्ष कहाँबाट काट्नु पर्छ मलाई बताइदिनू भन । उसले शङ्काविना यहाँ यहाँ काट्नु भनेर थुतुनोले छुँदै देखाउँदा तिम्रो धारिलो बञ्चरोले प्रहार गर्नु । उसको मृत्यु भएपछि उसैको कालो छाला निकालेर मासु खानु अनि यो वृक्षलाई काट्नु”
सिकर्मीले त्यसै ग¥यो । सिंह पनि मारियो । फन्दन वृक्ष पनि काटियो ।
यस कथामा सिंहले फन्दनप्रति र फन्दनले सिंहप्रति एक आपसमा सत्रुता जगाएका कारण दुबैको विनास भयो ।
फन्दन जातक कथाको सन्देश
जहाँ झगडा गर्ने मानिसहरू हुन्छन्, त्यहाँको अवस्था सिंह र फन्दनको जस्तै हुन्छ । अफ्ठ्यारोमा पनि मिलनसार भई बस्ने व्यक्ति कहिल्यै पनि योगक्षमबाट विमुख हुनु पर्दैन । जसरी बुद्धले फन्दन जातक कथाबाट एकमेल हुन सिकाउनु भएको छ त्यसरी नै मान्छे एकमेल हुन सिक्नुपर्छ ।
राजनीतिक दल, धर्म, आर्थिक अवस्था, जात, भाषा, लिङ्ग, भूगोल, संस्कृति लगायतका विषयमा हुने एकपक्षीय बुझाइले मानिसमा द्वन्द्वभाव बृद्धि हुन सक्छ । बुद्धले चर्चा गर्नु भएको दुःख आर्यसत्य बुझ्न सकेमा मात्र व्यक्तिमा हुने अवगुणलाई व्यक्ति स्वम्ले स्वमूल्याङ्कन गरी आफ्ना कमीकमजोरीलाई सुधार गर्न सकिन्छ । द्वन्द्व झगडाले सम्पूर्ण जगतलाई भलो गर्दैन । सबैको भलो हुने गरि व्यक्तिको मनोभाव सकारात्मक भएमा मात्र हामीले अपेक्षा गरेको आदर्श समाज निर्माण हुन जान्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology