पश्चिमी मुलुकहरू अन्धकार युगमा रहनुपर्दा एसिया र भारतीय महाद्वीप स्वर्णयुगमा थियो । त्यसबेला भारतका गुप्त शासकहरूद्वारा निर्माण भएको विकासले दक्षिण एसियालगायतका मुलुकमा प्रभाव जमाएको थियो । मौर्य र गुप्त शासकहरूले त्यसबेला छिमेकी देशहरूसँग बलियो सम्बन्ध निर्माण गरेका थिए । राजनीतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक एवं कलाकृतिमा भएको विकास अनुकरणीय थियो । भारतको इतिहासमा गुप्त शासकहरुको शासनकाल उन्नत देखिएकोले त्यो अवधि स्वर्ण बन्न पुगेको हो ।
शिक्षाका लागि त्यसबेलाका शासकहरूले मनग्गे सहयोग गर्ने हुनाले नालन्दा विश्वविद्यालयमा निःशुल्क शिक्षा दिइन्थ्यो । नालन्दालाई सबैभन्दा बढी सहयोग गर्ने शासकहरूमा राजा हर्षबर्धन पर्दछन् । उनले विश्वविद्यालयलाई राम्रो बनाउन नालन्दा वरपरका २ सय गाउँबाट सङ्कलन भएको राजस्व सोझै विश्वविद्यालयलाई दिने प्रबन्ध मिलाएका थिए ।
भारतमा स्वर्णयुग निर्माणका लागि मौर्यहरुले निर्माण गरेको आधारलाई बिर्सनु हुँदैन । मौर्यहरुको जगमा नै गुप्तहरुको शासन अवधि (ई.स. ३१९ देखि ४६७) उत्कृष्ट बनेको हो । गुप्त साम्राज्यका चन्द्रगुप्त, समुद्रगुप्त, चन्द्रगुप्त द्वितीय, कमारगुप्त प्रथम र स्कन्दगुप्तजस्ता शासकहरूले भारतीय महाद्वीपलाई उन्नत बनाउन त्योबेला धेरै क्षेत्रमा ठूलो लगानी गरेको पाइन्छ । भव्य वास्तुकला गुप्त शासनकालको महत्वपूर्ण भाग थियो । गुप्तसाम्राज्यमा पाइने अधिकांश मूर्तिकलाहरू धर्म र आध्यात्मसँग सम्बन्धित थिए । जसलाई मथुरा तथा सारनाथमा रहेका बुद्धमुर्तिहरूले प्रतिनिधित्व गर्दछन् । यसबाहेक प्राचीन भारतको इतिहासमा त्यसबेला नै विभिन्न विहार तथा महाविहारहरू निर्माण भएका थिए । अध्ययन तथा पठनपाठन हुने महाविहारहरूलाई समकालमा प्राचीन विश्वविद्यालयहरूका रुपमा चर्चा गरिएको पाइन्छ । नालन्दा, विक्रमशीला, ओदान्तपुरी, तक्षशीला, पुस्पागिरी, रत्नागिरी, भल्लबी, विक्रमपुर, सोमापुरा तथा जगदुल्ला भारतीय महाद्वीपमा स्थापित लोकप्रिय प्राचीन विश्वविद्यालयहरू हुन् ।
नालन्दा विश्वविद्यालयको स्थापना पाँचौं शताब्दीमा भएको हो । अक्सफोर्ड विश्वविद्यालयभन्दा करिब ६ सय वर्ष अगाडि नै नालन्दा स्थापना भएको थियो । नालन्दाको शिलान्यास गुप्तराजा कुमारगुप्त प्रथमले गरेका थिए । गुप्तवंशको अन्त्यपछि अन्य राजाहरूले पनि यस विश्वविद्यालयको विकासलाई निरन्तरता दिइरहे । नालन्दा विश्वविद्यालयलाई भारतीय बौद्ध राजाहरूले मात्र नभई इन्डोनेसियाका हिन्दू राजाहरूलेसमेत सहयोग गरेको पाइन्छ ।
छैटौँ शताब्दीमा राजा हर्षको समयमा नालन्दा विश्वकै उत्कृष्ट र प्रतिष्ठित आवासीय शैक्षिक केन्द्र बनेको थियो । विक्रमशिला, ओदान्तपुरी र सोमपुर महाविहार चलाउने पालवंशका शासकहरूलेसमेत नालन्दालाई सहयोग गर्दथे । तर यी विश्वविद्यालयहरूबीच पनि प्रतिस्पर्धा थियो । यी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान तथा विभिन्न प्रतियोगिताहरू हुन्थ्यो, जसले विद्यार्थीहरूलाई थप अब्बल र सक्षम बनाउथ्यो ।
नालन्दाका प्रथम प्राचार्य नागार्जुन हुन् । नागार्जुनलाई बुद्धपछिको प्रतिष्ठित विद्वान मानिन्छ । नालन्दामा अध्ययन गर्ने विद्यार्थीहरू पनि उस्तै प्रख्यात भएको इतिहास छ । प्रसिद्ध भारतीय भिक्षु बसुबन्धु, प्रसिद्ध विश्वयात्री ह्वेनसाङ, प्रसिद्ध गणितज्ञ आर्यभट्टजस्ता व्यक्तिहरू नालन्दाका विद्यार्थी हुन् । त्यसबेला मुख्यद्वारमा रहने परीक्षकले सोधेको प्रश्नमा सही उत्तर नदिएसम्म अध्ययन गर्न चाहने व्यक्तिलाई नालन्दा विश्विद्यालयमा छिर्न निषेध थियो ।
शिक्षाका लागि त्यसबेलाका शासकहरूले मनग्गे सहयोग गर्ने हुनाले नालन्दा विश्वविद्यालयमा निःशुल्क शिक्षा दिइन्थ्यो । नालन्दालाई सबैभन्दा बढी सहयोग गर्ने शासकहरूमा राजा हर्षबर्धन पर्दछन् । उनले विश्वविद्यालयलाई राम्रो बनाउन नालन्दा वरपरका २ सय गाउँबाट सङ्कलन भएको राजस्व सोझै विश्वविद्यालयलाई दिने प्रबन्ध मिलाएका थिए ।
चिनिया यात्री ह्वेनसाङले उल्लेख गरेअनुसार नालन्दा विश्वविद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी तथा १ हजार बढी शिक्षककर्मचारीहरू थिए । नालन्दामा पुस्तकालय, ११ वटा होस्टेल, ३ हजार आवासीय कोठाहरू, केन्द्रीय सभाहल, पार्क, विश्राम कक्ष, चमेना गृह, एक विद्यार्थीका लागि ध्यानकक्षसहितको एक आवाशीय कोठा, लकर र पुस्तककर्नरकोसमेत सुबिधा थियो । नालन्दामा अधिकांश विद्यार्थी भारत, चीन, तिब्बत, पर्सिया, कोरिया, जापान, श्रीलङ्का, सुमात्रा, नेपाल र ग्रीसलगायतका देशबाट अध्ययनका लागि आउने गर्दथे ।
नालन्दामा अध्ययनका लागि आएका पहिलो चिनियाँ यात्री फाइयान हुन् । त्यसबेला विश्वविद्यालय निर्माण हुने क्रममा थियो । त्यसपछि ह्वेनसाङ आए । उनले नालन्दामा बौद्ध धम्म, गणित, चिकित्सा र ज्योतिष विज्ञान अध्ययन गरे । अर्को प्रख्यात चिनियाँ यात्री आइचिन्भी सन् ६७३ मा नालन्दा आए । यी चिनियाँ यात्रीहरूको पुस्तकहरुमा नालन्दाको सुनौलो इतिहासका धेरै विषयहरु उल्लेख छन् ।
नालन्दाका प्रथम प्राचार्य नागार्जुन हुन् । नागार्जुनलाई बुद्धपछिको प्रतिष्ठित विद्वान मानिन्छ । नालन्दामा अध्ययन गर्ने विद्यार्थीहरू पनि उस्तै प्रख्यात भएको इतिहास छ । प्रसिद्ध भारतीय भिक्षु बसुबन्धु, प्रसिद्ध विश्वयात्री ह्वेनसाङ, प्रसिद्ध गणितज्ञ आर्यभट्टजस्ता व्यक्तिहरू नालन्दाका विद्यार्थी हुन् । त्यसबेला मुख्यद्वारमा रहने परीक्षकले सोधेको प्रश्नमा सही उत्तर नदिएसम्म अध्ययन गर्न चाहने व्यक्तिलाई नालन्दा विश्विद्यालयमा छिर्न निषेध थियो ।
ह्वेनसाङका अनुसार नालन्दामा ९ तले एकआपसमा जोडिएका ३ वटा विशाल भवनहरूमा पुस्तकालय थियो । एकआपसमा जोडिए पनि ३ वटा भवनको फरकफरक नाम थियो । नालन्दामा रहेका यी पुस्तकालयका नाम रत्नरञ्जन, रत्नोदधि र रत्नसागर थियो । पुस्तकालयमा अध्ययन गर्ने स्थान पनि थियो । यसर्थ नालन्दाको पुस्तकालय त्यसबेला संसारकै उत्कृष्ट पुस्तकालय थियो । जहाँ ९० लाखभन्दा बढी पुस्तक र पाण्डुलिपीहरू थिए ।

नालन्दा विश्वविद्यालयको पुस्तकालयललाई धर्मगुञ्ज अर्थात् सत्यको पहाड वा सत्यको खजाना भनिन्थ्यो । नालन्दा बौद्ध दर्शनको केन्द्र भए पनि पुस्तकालयमा बौद्ध दर्शनका ग्रन्थहरूसँगै हिन्दू दर्शन, खगोल विज्ञान, गणित, तर्कशास्त्र, अर्थशास्त्र, चिकित्सा विज्ञान, पुरातत्व विज्ञान र अन्य विषयसँग सम्बन्धित मौलिक ग्रन्थहरू थिए । नालन्दामा १०८ विषयमा पठनपाठन हुन्थ्यो ती सबै विषयका पाण्डुलिपि पुस्तकालयहरूमा थियो साथै ती विषयसँग सम्बन्धित शिक्षकहरूको उपलब्धता नालन्दामा थियो ।
यहाँ उच्च दक्षता भएका अध्ययापक तथा विद्यार्थीहरूबाट पाण्डुलिपि तयार पार्ने, नयाँ दर्शनबारे खोजी गर्ने, त्रिपिटक तथा महत्त्वपूर्ण पाण्डुलिपिहरूको प्रतिलिपि तयार पार्ने काम हुन्थ्यो । नालन्दामा विद्वान पण्डितहरूले गहिरो अध्ययन गरी आफैले पाण्डुलिपि लेख्थे । पाण्डुलिपि तयार गर्ने व्यक्तिको मृत्युपछि उसले तयार पारेको पाण्डुलिपिलाई नालन्दाको पुस्तकालयमा अध्ययन गर्न मिल्ने गरि राखिन्थ्यो ।
सन् ७५० मा गोपालवंशबाट सुरु भएको पालवंश ११७४ मा गोविन्द पालमा पुगेर पतन भएको थियो । पालवंशका राजाहरूको हिन्दूधर्म दर्शनप्रति बढी झुकाव थियो । उनीहरूले नालन्दा विश्वविद्यालयलाई प्रदान गर्ने सहयोग विस्तारै कटौति गर्दै गइरहेका थिए । जसले नालन्दा विश्वविद्यालयको व्यवस्थापन असहज बन्दै गएको थियो । नालन्दा विश्वविद्यालयको पतन हुने क्रम ११ औं शताब्दीबाटै सुरु भइसकेको थियो । त्यसबेला नेपाल, तिब्बत, बिहार र बंगालमा त्रान्त्रिक विद्या लोकप्रिय बन्दै थियो । अध्ययन गर्न खोज्नेहरू त्रान्त्रिक विद्या अध्ययन हुने ठाउँहरूमा आकर्षित थिए । यसको प्रभावले नालन्दामा आउने विद्यार्थीहरू विस्तारै कम हुँदै गइरहेका थिए ।
त्यसो त नालन्दा विश्वविद्यालयलमा पटकपटक ठूला आक्रमणहरू भएकाछन् । पहिलो आक्रमण स्कन्द गुप्तको समयमा मिर कुलको नेतृत्वमा हुनस समूहले गरेको थियो । पहिलो आक्रमणपछि यसलाई पुननिर्माण गरि अझ ठूल्ठूला भवन बनाएर विहारबाट महाविहार बनाइएको थियो ।
दोस्रो आक्रमण सातौँ सताव्दीको सुरुवातमा बङगालको गौदास राजवंशद्वारा भएको थियो । यो आक्रमणमा भिक्षुहरूलाई काटेर मारिएको थियो । यद्यपि दोस्रो आक्रमणपछि राजा हर्षवर्धनले नालन्दालाई अझ राम्रोसँग पुननिर्माण गरिदिए । त्यसपछि सन् ११९३ मा टर्किसियन सेनापति बख्तियार खिलजीले नालन्दामा आक्रमण गरे । बख्तियारले गरेको तेस्रो आक्रमण नालन्दाको विरासत समाप्त पार्ने विनासकारी आक्रमण सावित भयो ।
टर्किसियन सेनापति बख्तियार खिलजी लामो समयसम्म बिरामी भएका थिए । धेरै किसिमका उपचारले उनको स्वास्थ्यमा सुधार नआएपछि नालन्दाका प्राचार्य राहुल श्रीभद्रद्वारा बख्तियारको उपचार गर्नु पर्ने सुझाब प्राप्त भयो । नालन्दाका प्राचार्य राहुल श्रीभद्रले ठिक पार्न सक्ने भए पनि बख्तियार गैरमुसलमानबाट आफ्नो रोगको उपचार गर्न इच्छुक थिएनन् । उनको स्वास्थ्य झनै विग्रिएपछि नालन्दाबाट राहुल श्रीभद्रलाई बोलाइयो ।
नालन्दाका प्राचार्य राहुल श्रीभद्र आएपछि बख्तियारको स्वास्थ्य जाँच गर्न खोजे । तर बख्तियारले गैरमुसलमानले दिएको कुनै औषधि नखाने सर्त राखे । बख्तियारलाई आफूले कुनै पनि औषधि नदिने सर्तमा स्वास्थ्य जाँच गरेका श्रीभद्रले छिट्टै निको हुने आश्वासन दिएर त्यो दरवारबाट निस्किए ।
केही दिनपछि श्रीभद्रले बख्तियारलाई कुरानका केही पानाहरू दिए र त्यसलाई नियमित पढेमा रोग निको हुने बताए । बख्तियारले पनि तोकिएको समय अनुसार नियमित कुरान पढे । श्रीभद्रले कुरानका पानाहरूमा उनको रोग निको पार्ने औषधि लगाएका थिए । कुरान पढ्न पाना फर्काउँदा बख्तियारले थुक लगाउँदै फर्काउँथे जसले गर्दा औषधि उनको शरीरभित्र पुग्थ्यो । औषधिले काम गर्न थालेपछि बख्तियार पूर्ण रुपमा निको भए ।
निको भएपछि बख्तियारलाई म कसरी निको भएँ भन्ने प्रश्नले सताउन थाल्यो । जब बख्तियारलाई यसबारे जानकारी भयो त्यसपछि उनलाई श्रीभद्रद्वारा सर्त पालना नभएको तथा आफ्ना गुरुहरूभन्दा बढ्ता अरु जानकार भएको कुरा मञ्जुर भएन ।
बख्तियार बौद्ध तथा हिन्दूहरूप्रति सहिष्णु थिएनन् । आफ्नो समुदायबाहेकका अरु विद्वान भएको उनलाई स्वीकार्य पनि थिएन । उनी अरुको त्यो विद्वता र विद्वताको स्रोतलाई सदाका लागि समाप्त पार्न चाहन्थे ता कि इस्लामीकरण सहज रुपमा हुन सकोस् ।
विश्वविद्यालयहरू नै ज्ञानको स्रोत भएको बख्तियारले बुझेपछि नालन्दा, विक्रमशीला र ओदान्तपुरीमा ठूलो फौजसहित आक्रमण गरे । बख्तियारका सेनाहरूले अधिकांश विद्यार्थी र शिक्षकहरूलाई निर्मम तरिकाले आक्रमण गरे । टाउको छिनाइएका हजारौँ विद्यार्थी र शिक्षकहरूको लास नालन्दा वरीपरी थिए । बख्तियारका सेनाहरूले कतिपयलाई जिउँदै जलाए । नालन्दाको पुस्तकालयहरूमा आगो लगाइदिए । आक्रमण सकिएपछि त्यहाँको ध्यान गुफा तथा अन्य लुक्ने ठाउँहरूमा लुकेर बाँचेका भिक्षु तथा विद्यार्थीहरू तिब्बततर्फ लागे । नालन्दामा भएको तेस्रो आक्रमणले नालन्दको विरासतलाई सदाका लागि ध्वस्त पारिदियो ।
इस्लामी इतिहासकार मिनहाजुद्दीन सिराजद्वारा लिखित पुस्तक तबाकत–ए–नसिरीमा उल्लेख भएअनुसार पुस्तकालयमा लगाइएको आगो ३ महिनासम्म जलिरहेको थियो । बख्तियारको आक्रमणले पुस्तकालयमा राखिएका सबै पुस्तक तथा मौलिक पाण्डुलिपिहरू जलेर नष्ट भए । जुन पाण्डुलिपिहरू विश्वका लागि वास्तविक ज्ञानका स्रोत थिए ती कहिल्यै पुनः लेखन हुन सकेनन् । यो आक्रमण यति भयानक थियो कि नालन्दालाई पुनः निर्माण नै गर्न सकिएन । सत्यको केन्द्रका रुपमा रहेको नालन्दा लगायतका विश्वविद्यालयको सुनौलो विरासत जलेर धुवासँगै विलायो ।
भारतीय पुरातत्व सर्वेक्षणको पिताका रुपमा चिनिने अलेक्जेन्डर कनिङ्घमलाई बौद्ध स्मारकहरूमा धेरै चासो थियो । सन् १८६१ मा भारतीय पुरातत्व सर्वेक्षण सुरु भयो । कनिङ्घमलाई नै भारतीय पुरातत्व सर्वेक्षणको निर्देशक बनाइयो । सर्वेक्षणका क्रममा उनले बिहारको राजधानी पटनाबाट १०२ किलोमिटर टाढा बढगाउँ नजिक एउटा ठूलो ढिस्को भेटे । जसमा श्री नालन्दा महाविहार आर्य भिक्षु संघस्य लेखिएको थियो । उनले तुरुन्तै बुझे कि यो चिनियाँ यात्री ह्येनसाङले सन् ६४६ मा लेखेको पुस्तकमा उल्लेखित नालन्दा विश्वविद्यालय हो ।
त्यसपश्चात नालन्दामा उत्खनन् सुरु भयो । उत्खननले नालन्दाको अदृष्य इतिहासलाई सजिब बनाइदियो । नालन्दाको भग्नावशेष तथा अवशेष करिव डेडलाख वर्गमिटरमा फैलिएको पाइयो । हालसम्म नालन्दामा २० प्रतिशतजतिमात्र उत्खनन भएको छ । हालै भएका उत्खननले नालन्दामा ६ वटा इट्टाका मन्दिर र ११ वटा गुम्बा रहेको खुलासा गरेको छ । आज नालन्दाका भग्नावशेष तथा अवशेषहरू विश्वसम्पदा स्थल हुन् । यहाँको भग्नावशेष र अवेशषहरू हेर्न संसारभरबाट मानिसहरू आउँछन् तर त्यहाँ जे छ र जे देखिन्छ त्यो वास्तविक नालन्दाको छाँया पनि होइन ।
सन् २००७ मा दोस्रो पूर्वी एशिया शिखर सम्मेलन भएको थियो । उक्त सम्मेलनमा नालन्दा विश्वविद्यालयलाई क्षेत्रीय सहयोग लिई नयाँ ढङ्गबाट सुचारु गर्न प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावअनुसार सन् २०१० मा भारतले संसदबाट कानुन निर्माण ग¥यो । सन् २०१४ देखि नालन्दामा पुनः अध्ययनअध्ययापन सुरु भएको छ तर प्राचीन विश्वविद्यालयको महिमालाई कायम गर्न भारत सरकार र विश्व समुदायले नालन्दामा ठूलो लगानी गर्नु पर्ने देखिन्छ ।
प्रतिक्रियाका लागि : nirmaldhungana2020@gmail.com, 9857028507
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology