बुद्धकालीन समयमा कपिलवस्तु र कोलिय नगरलाई रोहिणी नदीले छुट्याएको थियो । त्यसबेला शाक्य र कोलियहरूले रोहिणी नदीमा बाँध बाँधेर खेतीका लागि पानी लाने गर्दथे । एक वर्ष जेठमहिनाको पूर्णिमातिर अत्यन्तै खडेरी परेको थियो । जसकारण खेतीवाली सुकेर गइरहेको थियो । सिंचाई गर्नका लागि शाक्य र कोलिय किसानहरू रोहिणी नदी किनारमा भेला भएका थिए । कपिलवस्तु र कोलियका किसानहरू रोहिणी (रोहिनी) नदीको पानीको बिषयमा मेरो भाग, मेरो भाग भन्दाभन्दै भनाभन, झगडा र कलह गर्न थाले । त्यो कलह कृषकहरूबाट श्रेष्ठी (अमात्य), श्रेष्ठीहरूबाट राजपुत्रहरू लगायत सैनिक हुँदै माहाराजाहरूसम्म पुगेपछि महायुद्धको तयारी भएको थियो । त्यसबेला गौतम बुद्धले श्रावस्ती विहारमा महासमय सुत्त देशना गरिरहनुभएको थियो । बौद्ध साहित्य अनुसार उहाँले दिव्य–दृष्टिद्वारा हेर्दा कोलिय र शाक्यहरूको कलह यसप्रकार देख्नु भएको उल्लेख छ ।
भेलामा कोलियवासीले भने : “यो पानीलाई दुबैले लिएमा न त तिमीहरूलाई पुग्छ न त हामीहरूलाई नै पुग्छ । त्यसैले यो नदीको सबै पानी हामीलाई चाहिन्छ । यो नदीको सबै पानी हामीलाई लगाउन दिनू ।”
यस्तो कुरा सुने पछि कपिलवस्तुवासीले भने : “तिमीहरूले भण्डारा जहिले पनि भरिपूर्ण गरिराखेका हुन्छौ । हामीलाई आवश्यक पर्ने कुराहरु लिन झोला वा टोकरी लिएर तिमीहरूको घरैपिच्छे हामी घुम्न सक्दैनौँ । यो पानी हामीले लगाउन पाएमा हाम्रो खेतलाई पुग्छ । त्यसैले यो पानी हामीलाई देऊ ।”
कोलियवासीले भने : “अहँ दिँदैनौँ ।”
यसरी कुरा गर्दागर्दै झन विवाद बढ्यो । हात हालाहाल भयो । यसरी हात हालाहाल हुँदा उनीहरूले राजकुलका कुराहरू निकालेर झनै विवाद चर्काए ।
कोलियहरूले भने : “तिमीहरू, जो कि कुकुर र स्याल जस्तै आफ्नै बहिनीहरूसँग बस्ने गर्छौ ।”
कपिलवस्तुका वासिन्दा शाक्यहरूले भनेँ : “कोढीका सन्तानहरू हो ! अब तिमीहरू फर्केर जाऊ, जो अनाथ पशुपक्षी जस्तै कोलवृक्षमुनी बस्छौ ।”
रोहिणी नदीमा बुद्धको आगमन
त्यही समयमा भगवान गौतम बुद्ध युद्ध शान्त गर्नको निम्ति आकाशमार्ग हुँदै रोहिणी नदीको तटमा अवतरण गरी बुद्धासनमा बस्नुभयो । बुद्धले केशद्वारा गाढा घनघोर अन्धकार रोशनी प्रकट गराउँदा सम्पूर्ण लोक नै अध्यारो भयो । दुबै पक्षबाट लड्न तयार भएका सबै व्यक्तिहरू भयले कँम्पित भई अफ्शोचमा परे । बुद्धले त्यहाँ छ प्रकारका रोशनी फैलाउनु भयो । त्यो देखेर युद्धका लागि तयार राजाहरू बुद्धलाई बन्दना गरी यथास्थानमा बसे । भगवान बुद्धले त्यहाँको अवस्था बुझि सोध्नु भयो ।
बुद्ध : “महाराज हो ! तिमीहरू यहाँ किन आउनु परेको ?”
राजाहरु : “भन्ते ! हामी यहाँ न त नदी हेर्न आएका हौँ, न त खेल खेल्नका निम्ति आएका हौँ । हामी त यहाँ युद्ध गर्न आएका हौँ ।
बुद्ध : “महाराज हो ! युद्ध गर्नुको कारण के हो ?”
राजाहरु : “भन्ते ! पानीको कारणले गर्दा युद्ध गर्नुु परेको ।”
बुद्ध : “महाराज हो ! पानीको मूल्य कति पर्छ ?”
राजाहरु : “भन्ते ! पानीको मूल्य कम नै पर्छ ।”
बुद्ध : “महाराज हो ! पृथ्वीको मूल्य कति पर्छ ?”
राजाहरु : “भन्ते ! अमूल्य छ ।”
बुद्ध : “महाराज हो ! क्षेत्रीको मूल्य कति पर्छ ?”
राजाहरु : “भन्ते ! क्षेत्रीहरूको मूल्य पनि अमूल्य नै छ ।”
बुद्ध : “महाराज हो ! मूल्य कम पर्ने पानीको निम्ति अमूल्य भएका क्षेत्रीहरूको किन नाश गर्न खोजेको ?”
भगवान गौतम बुद्धको यो प्रश्न सुनेपछि युद्ध गर्ने तयारी सहित आएका शाक्य र कोलिय राजाहरू नाजवाफ भए । त्यसपछि बुद्धले कलह र झगडाले कसैलाई भलो हुँदैन भनी उनीहरूको कलह, वैरभाव, वैमनश्यता हटाउन जातक कथाहरूको देशना गर्नु भयो । युद्धका अवगुणहरू प्रकाश पार्न फन्दन जातक, अरूको कुरामा प्रमाण नभई विश्वास नगर्न दुद्दुभ (पथवी उद्दिय) जातक र कसैसँग वैरभाव नराख्न लटुकिक जातकको देशना गर्नुभयो । एकता र मेलमिलाप बढाउन सम्मोदमान जातक, रुक्खधम्म जातक र धर्मको भाव बढाउन अत्तदण्ड सुत्तको देशना मार्फत पूर्वोदाहरण दृष्टान्तहरूद्वारा उपदेश दिनु भएको थियो ।
त्यसपश्चात भगवान बुद्धको उपदेशले युद्धका लागि तयार भएका दुबै पक्षले गल्ती महसुस गरे । यी जातक कथा सुन्न पाएर दुबै पक्षका लड्न तयारी भएका योद्धाहरूको क्रोधको अग्नि निभेर शान्त भई शस्त्रअस्त्र हटाई त्यागदिए । उनीहरूमा मैत्री स्वभाव जागृत भएर आयो । बुद्धको उपदेशले युद्धका लागि तयार भएका दुबै पक्षले गल्ती महसुस गरे । बुद्धको उपदेश सुनी २५० कोलिय र २५० शाक्य कुमारहरू भिक्षु भई प्रवजित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology