रुपन्देही । कोभिड-१९ को संक्रमणको असामान्य वृद्धिसंगै जति अस्पतालमा बेड, औंषधी र अक्सिजनको अभाव छ । त्यसकै हाराहारीमा रगतको पनि अभाव छ । तर, स्वयंसेवी रक्तदाता समाजको सक्रियताकै कारण उक्त अभावको अत्यधिक महसुस बिरामी र आफन्तले गर्न पाएका छैनन् ।
रक्त अभाव पुर्तिका लागि रक्तदाता समाजले दिनहुँ रक्तदान कार्यक्रमको आयोजना गरिरहेको बताउँदै स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले आफुहरु फिल्डमै गएर समेत रगत ब्यबस्थापन गरिरहेको सेतोमसीलाई बताए ।
शनिबार (हिजो) मात्र कपिलवस्तुमा २० युनिट रगत संकलन गरेको समाजले आइतबार (आज) रुपन्देहीको भलुही र बुटवलमा गरि ४५ युनिट रगत जम्मा गरेको छ ।
देवदहको भलुहीमा आयोजित विशेष रक्तदान कार्यक्रमबाट ३० युनिट र बुटवलबाट १५ युनिट गरि ४५ युनिट रगत संकलन भएको समाजका महासचिव उदयराज भट्टराईले जानकारी दिए ।
निषेधाज्ञाकै विच भलुहिमा संघार समूहले आयोजना गरेको रक्तदान कार्यक्रममा रगत संगै आर्थिक सहयोग पनि प्राप्त भएको समाजका सचिव प्रशन्न श्रेष्ठले बताए ।
काेभिड संक्रमणकाे समयमा कसैलाई पनि रगत अभाव नहाेस, सवैलाई रगत व्यवस्थापन हाेस भनेर रगत व्यवस्थापन अन्तर्गत रक्तदान कार्यक्रममा हुने खर्चको
लागि स्थानीय वीर बहादुर बाेहराले १० हजार ११० रुपैया सहयोग गरेको कार्यक्रममा सहभागी समाजका सदस्य अर्जुन पाैडेलले बताए ।
भलुहीमा आयोजित कार्यक्रममा संघार समूहका अध्यक्ष मोहन जी. सी. संगै स्थानीय स्वयंसेवी रक्तदाताहरुको उल्लेख्य सहभागीता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology