देवदह । देवदह नगरपालिकाले निर्माण गर्दाको भुक्तानी चुक्ता नगरेपछि शौचालय निर्माण उपभोक्ता समितिले विरोध स्वरूप गरेको तालाबन्दी खुलेको छ। निर्माण भएको ६ वर्ष पछि लगाइएको ताला तोडे लगत्तै बिहिबारदेखि सार्वजनिक शौचालय सञ्चालनमा आउने 'देवदह आवाज'का स्थानीय प्रेम थापाले बताए ।
शौचालयमा लगाइएको ताला पूर्ण रुपमा आजदेखि खुलेको र अब नगरपालिकाले ३ दिनभित्र सञ्चालन नगरे देवदह 'आवाज समूह'ले सञ्चालन गर्ने उनले उनले बताए ।
तत्कालीन जिल्ला विकास समिति रूपन्देहीको २०७१/०७२ को बजेटबाट पुर्व पश्चिम राजमार्ग नजिक शितलनगरमा सार्वजनिक शौचालय निर्माण गरिएको थियो । २०७१ सालबाट काम सुरु गरिएको शौचालय करिब ३ वर्ष पछि पुरा भयो । शौचालय निर्माण गर्दा करिव २४ लाख खर्च भएपनि जिल्ला विकास समिति मार्फत आएको रकम पटक पटक गरेर करिव १५ लाख रुपैयाँ मात्र भुक्तानी दिएको र अन्य पैसा नदिएका कारण शौचालयमा निर्माण समितिलेद्वारा ताला लगायो । शौचालय निर्माण गर्दा बढि खर्च भएको र नगरपालिकाको प्राविधिकहरूले खर्च मूल्यांकन सही नगरिदिँदा व्यवसायीहरूलाई ल्याएको सामाग्रीको रकम समेत तिर्न नसकेको निर्माण समितिका अध्यक्ष केशव आर्चायले बताए । उनले शौचालयको ताला तत्कालीन वडा ७ का अध्यक्ष पदम थापालाई बजाएको जानकारी दिए ।
यता देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले भने शौचालय निर्माण उपभोक्ता समितिले लागत भन्दा बढि रकम दावी गरेपछि शौचालय सञ्चालनमा आउन नसकेको बताएका छन् । देवदह नगरपालिकाका प्राविधिकले गरेको पुनः मूल्यांकनको रकम उपभोक्ता समितिले लान नमानेको उनले बताए। नगरपालिकाले चाडैनै बैठक बसी यसको निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।
वर्षौ सम्म पनि सार्वजनिक शौचालय सञ्चालनमा आउन नसक्दा शौचालय भत्किनुका साथै धाराहरू चोरी भएको छ ।
देवदह नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनि सार्वजनिक स्थलमा शौचालय नहुनले व्यवहारमा भन्दा पनि निर्णयमा मात्र सिमित बन्न पुगेको छ ।
सार्वजनिक शौचालय बनेर पनि सञ्चालन हुन सकेको छैन भने अधिकांश स्थानमा सार्वजनिक शौचालय नै बनेका छैनन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology