देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा जारी 'सगरमाथा खेल सप्ताह' सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रम बीच विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले कार्यक्रमको समापन गरे ।
विगत १० वर्षदेखि खेल सप्ताह गर्दै आएको सगरमाथाले चालु शैक्षिक सत्रको कार्यक्रममा ११ विधाका खेलमा २२ खेल संचालन गर्यो । प्रतियोगितामा १९६ जना विद्यार्थीले सहभागीता भएको र ६६ जना पुरस्कृत भएको विद्यालयका सह-प्राचार्य प्रदिप अधिकारीले जानकारी दिए ।
खेल सप्ताहको समापन गर्दै विद्यालयका प्राचार्य पौडेलले विद्यार्थीहरूको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । 'किताबी ज्ञानले मात्र विद्यार्थीको बहुआयामिक विकास गर्न सक्दैन भन्ने हामीले बुझेका छौं ।' प्राचार्य पौडेलले भने, 'खेल प्रतिभा, गायन, नृत्य, अभिनय, चित्रकला, वक्तृत्वकला आदि प्रतिभा जुन विद्यार्थीमा अन्तरनिहित छन् । त्यसलाई बाहिर ल्याउन शुक्रवारे नियमित अतिरिक्तसंगै सप्ताहप्यापी खेलकुदका कार्यक्रम फलदायी हुने हाम्रो विश्वास छ ।'
खेल सप्ताहको अन्तिम दिन शुक्रवार सम्पन्न खेलमा कक्षा ८, ९ र १० का छात्र तथा छात्राबीच सम्पन्न सटपुटमा छात्रातर्फ जस्मिन कुँवर प्रथम, प्रसुमी सुनार द्वितीय र प्रेक्षा जी.सी. तृतीय हुन सफल भए । छात्र सटपुटतर्फ सुमित थापा प्रथम, सौरव हमाल द्वितीय र आयुष हमाल तृतीय स्थानमा रहे ।
त्यसैगरी जेभलिन थ्रोमा छात्रातर्फ जस्मिन कुँवर प्रथम, प्रसुमी सुनार द्वितीय र सुचना सुनार तृतीय भए भने छात्रतर्फ हिमाल सारु प्रथम, विश्वास पल्ली द्वितीय, आयुष हमाल तृतीय र सौरव हमाल सान्त्वना स्थानमा रहे ।
आजै सम्पन्न ट्रिपल जम्पमा छात्रातर्फ जस्मिन कुँवर प्रथम, सुचना सुनार द्वितीय, रेणुका मगर तृतीय र जान्वी मास्के सान्त्वना स्थानमा रहन सफल भए । छात्रतर्फ समिर राना प्रथम, सुमित थापा द्वितीय, कपिल राना तृतीय र सौरव हमाल सान्त्वना स्थानमा रहे ।
खेल शिक्षक सुजता राना र उमेश रानाको सञ्चालनमा खेलहरू सम्पन्न भई सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन भएको अतिरिक्त क्रियाकलाप संयोजक दधिराम ज्ञवालीले जानकारी दिए ।
सगरमाथा खेल सप्ताह पुस १ गतेदेखि सुरु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology