देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को फाइनलमा साविक विजेता पाकडी प्यान्थर्स र टटेरा डाइनामाइट विच प्रतिष्पर्धा हुनेभएको छ । बिहिवार सम्पन्न दोस्रो क्वालिफायरमा खैरेनीलाई ७ विकेटको फराकिलो अन्तरले हराएसँगै टटेराले पाकडीसँगको फाइनल भेट पक्का गरेको हो ।
खेलमा टटेराले टस जितेर दिएको ब्याटिङको निम्तो स्वीकार्दै खैरेनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ७२ रनको सामान्य योगफल तयार गरेको थियो । खैरेनीका लागि सुरज गुप्ताले १२, महेश मल्लाह र राम चालिसेको १०/१० रनको योगदान हुनु बाहेक अन्य ब्याट्समेन चल्न सकेनन् । खैरेनीलाई सस्तैमा समेट्न टटेराको लागि विभेश खातीले ३, विपिन भट्टराई र सुरज सारुले २/२ तथा डेभिड थापा र एजाज अहमदले १/१ विकेट लिए ।
जवाफमा ७३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेराले १४.३ ओभर खेल्दै मात्र ३ विकेटको क्षतीमा सहज जीत हात पार्यो । टटेराका लागि डेभिड थापाले ३७, सुरज सारुले २० र विभेश खातीले ९ रनको योगदान गरे । खैरेनीका इड्रिस खान र किशोर यादवले १/१ विकेटको योगदान गरे भने टटेराका विपिन भट्टराई रन आउट हुन पुगे । खेलमा विभेश खाती प्लेयर अफ दि म्याच घोषित भए ।
योसंगै बुधवारको खेलमा खैरेनीलाई पराजित गरेर फाईनल यात्रा तय गरेको पाकडीसँग टटेराको भेट हुनेछ । यो सिजनमा पाकडीको संयमित प्रदर्शन रहेको छ भने टटेरा लिग चरणका सुरुवाती ३ खेल हारेपनि त्यस लगत्तैका सबै खेलमा जीत हात पार्दै फाईनलमा पुगेको हो ।
भोलिको फाईनल खेलमा टटेरासंग यस सिजनका सबैभन्दा महंगा खेलाडी डेविड थापा पाकडीका लागि भारी पर्न सक्नेछन् भने यो सिजनमा बलिङ्ग र ब्याटिङ दुवैतर्फ फर्ममा रहेका पाकडीका कप्तान प्रकाश भण्डारी र सुझबुझका साथ खेल्न सक्ने रोशन गौतम र निश्चल ज्ञवाली टटेराका लागि मार्केवल खेलाडी बन्न सक्छन् ।
सुरुवाती खेलमा स्लो पिचका कारण लो स्कोर बन्ने गरेको भएपनि केहिदिन यताका खेल हेर्दा १२० देखि माथि १५० सम्मको रन समेत बन्ने गरेको देखिएको छ । त्यसैले पनि शुक्रवारको फाईनल खेलमा पहिलो ईनिङ्मा बलिङ गर्ने टिमले ब्याटिङ् साईडलाई कम स्कोरमा रोक्नुपर्ने देखिन्छ ।
डिपिएलको यस सिजनमा पाकडी, टटेरा लगायत शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनि नगदसहित पुरस्कृत गरिने आयोजक डि युनिटी युथ क्लवका अध्यक्ष सचिन कुमार श्रेष्ठले बताए ।
प्रतियोगिताका सबै खेल फेसबुक पेज सेतोमसी डटकम र युट्युव च्यानल 'सेतोमसी एचडी'बाट प्रत्यक्ष प्रसारण भईरहेको छ । भोलिको फाइनल खेलसमेत प्रत्यक्ष प्रशारण हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology