देवदह । पाकडी प्यान्थर्स देवदह प्रिमियर लिग (डिपिएल) दोस्रो सिजनको फाईनल प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो क्वालिफाएरमा खैरेनी ग्लाडियटर्सलाई ४५ रनले पराजित गर्दै पाकडी फाईनल प्रवेश गरेको हो ।
खैरेनीले टस जितेर दिएको ब्याटिङ्गको निम्तोलाई स्वीकार गर्दै पाकडीले ८ विकेटको क्षतीमा १३८ रन बनायो । पाकडीका लागि संकेत भट्टराई र रोशन गौतमले समान ३१ रन तथा विपर्सन केसीले २९ रनको योगदान दिए । खैरेनीका लागि किशोर यादव र अनिल यादव र प्रेम भुर्तेलले समान २÷२ विकेट लिए ।
जवाफमा १३९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको खैरेनी १६.१ ओभरमा ९३ रनमा अल आउट हुन पुग्यो । खैरेनीलाई सस्तैमा समेट्न पाकडीका रोशन गौतमले ४, निश्चल ज्ञवाल२ि तथा बैजनाथ यादव, प्रकाश भण्डारी र रोहित कुँवरले समान १÷१ विकेट लिए । खेलका म्यान अफ दि म्याच पाकडीका रोशन गौतम घोषित भए ।
यसैगरी आजै सम्पन्न एलिमिनेटर खेलमा टटेरा डाइनामाईटले उत्कृष्ट जीत निकाल्दै दोश्रो क्वालिफाएरमा स्थान बनाएको छ । शुरुमा टस जितेर टटेराले ढेकावरलाई ब्याटिङ्गको निम्तो दियो । टटेराको निम्तोलाई स्वीकार गर्दै ब्याटिङ्गमा उत्रिएको ढेकावर सबै विकेट गुमाएर ९४ रनमा अल आउट हुन पुग्यो । ढेकावरका लागि सुमन पाण्डेले ३५, आयुष पंगेनीले १७ र हिल्सन पाण्डेले १५ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् । ढेकावरलाई मध्यम स्कोरमा समेट्न टटेराका विभेस खातीले ३, विपिन भट्टराईले २ तथा सुरज सारुले १ विकेट हात पारे ।

जवाफमा ९५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेराले १६.४ ओभरमा मात्र २ विकेटको क्षतीमा सहज जीत हात पार्यो । टटेराका लागि डेभिड थापाले ४३ र विपिन भट्टराई ३३ रनको योगदान गरे । खेलमा विभेस खाती म्यान अफ दि म्याच घोषित भए । एलिमिनेटरमा जीत निकालेसंगै टटेरा दोस्रो क्वालिफाएरको लागि छनोट भएको छ । टटेराले बिहिवार पहिलो क्वालिफाएरमा पराजित खैरेनी ग्लाडिएटर्ससंग प्रतिष्पर्धा गर्नेछ भने पराजयसंगै ढेकावर यस सिजनको डिपिएलबाट बाहिरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।
प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology