देवदह । खैरेनी ग्लाडिएटर्स देवदह प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा ढेकावर योद्धालाई ३ विकेटले पराजित गर्दै खैरेनीले फाइनलमा स्थान बनाएको हो ।
डिसियू मैदानमा टस जितेर पहिले बलिङ रोजेको खैरेनीले ढेकावरलाई २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनमा रोकेको थियो । ढेकावरका लागि सम्राट थापाले ३०, तुलबहादुर थापाले २३ र रामनाथ कुर्मीले १६ रन बनाए ।
खैरेनीका अनिल यादव र रुपेश कुर्मीले समान २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको खैरेनीले १९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । खैरेनीका संकेत भट्टराईले २७, सुरज सरुले २४ र अर्जुन घर्तीले २१ रन बनाए । ढेकावरका तुलबहादुर थापा र रञ्जित खड्काले समान २ विकेट लिए ।
यससँगै डिपिएलको उपाधिका लागि बिर्ता राइनोज र खैरेनी ग्लाडिएटर्सबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणको खेलमा खैरेनीले बिर्तालाई पराजित गरेको थियो । तर, शनिबार सम्पन्न पहिलो क्वालिफायरमा सुपर ओभरमा खैरेनीलाई हराउँदै बिर्ताले फाइनलमा स्थान बनाएको थियो । अब दुवै टोली उपाधिका लागि पुनः आमनेसामने हुँदैछन् ।
डिपिएलको विजेता टोलीले २ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
डिपिएलका सबै खेल सेतोमसी डटकममार्फत प्रत्यक्ष प्रसारण हुँदै आएका छन् । सोमबार दिउँसो १ बजे हुने फाइनल खेल पनि सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology