देवदह । नवलपरासीको त्रिवेणीमा आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने गजेन्द्र मोक्षनारायण भैरव विराट महायज्ञको प्रचारप्रसारका लागि निस्किएको रथयात्रा टोलीलाई देवदहमा स्वागत गरिएको छ ।
मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली रथयात्रा टोलीलाई आइतबार देवदहस्थित लोकेश्वर मन्दिरमा स्वागत गरिएको हो । वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले आयोजना हुन लागेको महायज्ञबारे प्रचारप्रसार गर्दै रथयात्रा टोली देवदह हुँदै पश्चिमतर्फ लागेको छ ।
रथयात्रा टोलीलाई देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगरप्रमुख हिरा बहादुर खत्री, नगर प्रवक्ता गणेश डुम्रे लगायतले स्वागत गरेका थिए ।
टोलीमा हिन्दु धर्मगुरु वासुदेव प्रपन्नाचार्य, विश्व प्रकाश प्रपन्नाचार्य र सनातन प्रपन्नाचार्य सहभागी छन् । मेची–महाकाली यात्रा पूरा गरी रथयात्रा त्रिवेणी पुगेर समापन हुने जनाइएको छ ।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्षसमेत रहेका स्थानीय अगुवा वासुदेव रिमालको अध्यक्षता र प्रदीप अधिकारीको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology