देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणमा नयाँ टोलीका रूपमा प्रवेश गरेको बिर्ता राइनोजले पहिलो सहभागितामै उपाधि जितेर इतिहास बनाएको छ । सोमबार देवदह क्रिकेट युनिट (डिसियू) को मैदानमा भएको फाइनलमा खैरेनी ग्लाडिएटर्सलाई २६ रनले पराजित गर्दै बिर्ताले उपाधि उचालेको हो ।
तेस्रो संस्करणको डिपिएलमा बिर्तासहित भलुही राइजिङ र शंकरपुर सुपरकिंग्स नयाँ टोलीका रूपमा सहभागी भएका थिए । नयाँ टोलीको प्रवेशसँगै यसपटकको प्रतियोगितामा टोलीगत प्रतिस्पर्धाको समीकरण पनि फेरिएको थियो । तीमध्ये बिर्ताले पहिलो सहभागितामै उपाधि जित्दै आफ्नो उपस्थितिलाई सफल बनाएको छ ।
यस संस्करणमा अघिल्ला दुई संस्करणको च्याम्पियन पकडी प्यान्थर्स सहभागी भएन । अघिल्लो संस्करणको उपविजेता टटेरा डाइनामाइट भने लिग चरणबाटै बाहिरियो । यसले डिपिएलको तेस्रो संस्करणमा अघिल्ला संस्करणमा प्रभाव जमाएका टोलीहरूको वर्चस्व कायम रहेन भन्ने देखाएको छ । नयाँ टोलीको आगमन र पुराना टोलीको कमजोर प्रदर्शनले प्रतियोगितालाई थप खुला प्रतिस्पर्धामा परिणत गर्यो ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको बिर्ता राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । बिर्ताका अमित यादवले २८ बलमा ४ चौका र ४ छक्कासहित अविजित ५२ रनको आक्रामक इनिङ खेले । इन्द्रजीत यादवले २३ बलमा ३६ र अब्रार अलीले ३७ बलमा ३४ रन बनाएपछि बिर्ताले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
१५९ रनको लक्ष्य पछ्याएको खैरेनी ग्लाडिएटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । खैरेनीका रुपेश कुर्मीले १९ बलमा २ चौका र ५ छक्कासहित ४५ रन बनाएर जितको सम्भावना कायम राख्ने प्रयास गरे पनि अन्य ब्याटरबाट पर्याप्त साथ पाएनन् ।
बिर्ताका धर्मेन्द्र यादवले ३ विकेट लिए । इन्द्रजीत यादव र अमित पाठकले समान २ विकेट लिएपछि खैरेनीको लक्ष्य पछ्याउने प्रयास रोकिएको थियो । बिर्ताले २६ रनको जितसँगै पहिलो सहभागितामै डिपिएलको उपाधि जित्यो ।
तेस्रो संस्करणमा आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो । खेलाडी अक्सनदेखि नै चर्चा पाएको प्रतियोगितामा नयाँ खेलाडी र स्थापित खेलाडीको मिश्रणले प्रतिस्पर्धालाई रोचक बनाएको थियो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण सेतोमसी मिडिया नेटवर्क प्रा.लि.ले गरेको थियो ।
उपाधि जितेसंगै विर्ताले दुई लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेतामा चित्त बुझाएको खैरेनीले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology