देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा टटेरा डाइनामाइट र ढेकावर योद्धा विजयी भएका छन् । आजको पहिलो खेलमा टटेराले खैरेनी ग्लाडियटर्सलाई ४ विकेटले पराजित गरेको हो ।
टटेराले टस जितेर दिएको बलिङको निम्तो स्वीकार्दै खैरेनीले १५.३ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सफल भयो । खैरेनीका लागि महेश मल्लाहले १४ रन तथा अवरार शाहले १२ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् । खैरेनीलाई सस्तैमा समेट्न टटेराका लागि डेभिड थापाले ३, एजाज अहमदले ३, सुरज सहानीले २ तथा विपिन भट्टराई र विभेस खातीले १÷१ विकेटको योगदान गरे ।
जवाफमा ५३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेराले १२.५ ओभरमा ६ विकेट गुमाएर सहज जीत हात पार्यो । टटेराको जीतका लागि सुरज सहानीले १८ रन तथा एजाज अहमदले १० रनको योगदान दिए । खैरेनीका लागि कमल जैसीले २, प्रेम भुर्तेलले २ तथा सुरज गुरुङ्गले १ विकेट लिएपनि त्यो जीतका लागि प्रयाप्त भएन । खेलमा टटेराका डेभिड थापा प्लेयर अफ दि म्याच घोषित भए ।
यसैगरी सोमवारको दोश्रो खेलमा ढेकावरले तेस्रो जित हात पार्दै लिगको उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । उसले पाकडी प्यान्थर्सलाई ८ विकेटले पराजित गर्यो । खेलमा टस जितेर ढेकावरले दिएको व्याटिङ्को निम्तो स्वीकार गरेको पाकडीले २० ओभरमा सवै विकेट गुमाएर ९४ रनको मध्यम योगफल तयार गर्यो । पाकडीका लागि सुरज चौधरीले ३५ रन, प्रकाश भण्डारीले १२ तथा रोशन गुरुङले ११ रनको योगदान दिए । ढेकावरका लागि अजय यादवले ३ विकेट, हिल्सन पाण्डे क्षेत्रीले ३, समिर थापा र लाल बहादुर मल्लाहले समान १÷१ विकेट लिए ।
जवाफमा ९५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको ढेकावरले अजय यादवको २६, हिल्सन पाण्डेको २० र सम्राट थापाको १७ रनको मद्धतमा मात्र २ विकेटको क्षतिमा सहज जीत निकाल्यो । पाकडीका लागि निश्चल ज्ञवालीले सान्त्वना २ विकेट लिएपनि त्यो जितको लागि प्रयाप्त बनेन । खेलमा सम्राट थापा प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलि मंगलवारको खेल खैरेनी ग्लाडियटर्स विरुद्ध शीतलनगर सुपर स्टाईकर्स विच बिहान १० बजे डि सि यु क्रिकेट मैदान शीतलनगरमा हुने आयोजक डि युनिटी युथ क्वलका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए । भोलि हुने खेलबाट सुपर फोरमा पुग्ने टिमको टुङ्गो लाग्ने आयोजकले जनाएको छ ।
असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।
प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology