देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत आज आइतवार सम्पन्न दुई खेलमा पाकडी प्यान्थर्स र ढेकावर योद्धा विजयी भएका छन् । आइतवारको पहिलो खेलमा पाकडीले शीतलनगर सुपर स्टाइगर्स विरुद्ध ६ विकेटको सहज जीत हात पार्यो ।
डिपिएल पहिलो सिजनको विजेता समेत रहेको पाकडीले खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निधो गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको शीतलनगर १९.५ ओभरमा ९४ रनको योगफलमा अल आउट भयो । शीतलनगरका लागि सागर लामिछानेले ३०, विनोद क्षेत्रीले २९ तथा सचिन पान्डेले १० रन जोडे । पाकडीका निश्चल ज्ञवालीले ४, प्रकाश भण्डारी रसङ्केत भट्टराइले ३÷३ विकेट लिए ।
९५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको पाकडीले ५ ओभर २ बल बाँकी रहदै ४ विकेट गुमाएर सहज जीत हात पार्यो । पाकडीका लागि प्रकाश भण्डारीले ३६ बलमा नट आउट रहँदै ४७ रन जोड्दा निश्चल ज्ञवालीले १७ तथा रोशन गौतमले टिमका लागि नट आउट १५ रनको योगदान गरे ।
शीतलनगरका विनोद क्षेत्रीले २ तथा सागर लामिछाने र मञ्जित हरिजनले समान १÷१ विकेट लिए पनि जितका लागि त्यो प्रयप्त हुन सकेन । खेलमा प्रकाश भण्डारी म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी आइतवारको दोश्रो खेलमा ढेकावरले उत्कृष्ट पुनरागमन गर्यो । भवानीपुरले टस जितेर दिएको ब्याटिङको निम्तोलाइ स्विकार गर्दै मैदानमा उत्रिएको ढेकावरले ५ विकेटको क्षतिमा १०२ रन तयार गर्यो । ढेकावरका लागि सम्राट थापाले नट आउट ४८ तथा हिल्सन क्षेत्रीले २७ रनको योगदान गरे । बलिङ तर्फ सन्दिप अर्यालले २ तथा सुन्दर केवट, प्रकाश बराल र डि.के यादवले समान १÷१ विकेट लिए ।
जवाफमा १०३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भवानीपुरर ५२ रनमा अल आउट हुन पुग्यो । भवानीपुरका लागि प्रकाश बरालले १९ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् । बलिङ तर्फ ढेकावरका लाल बहादुर ठकुरीले ३ विकेट लिए भने सम्राट थापा, हिल्सन क्षेत्री र अजय यादवले समान २÷२ विकेट लिए । खेलको म्यान अफ दि म्याच सम्राट थापा घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलि सोमवारको खेल खैरेनी ग्लाडियटर्स विरुद्ध टटेरा डाइनामाइट र पाकडी प्यान्थर्सका विरुद्ध ढेकावर योद्धा विच हुने आयोजक डि युनिटी युथ क्वलका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पहिलो खेल डिसियु क्रिकेट मैदान शीतलनगरमा बिहान १० बजे हुने र दोस्रो खेल दिउसो १ बजे हुने खेल संयोजक गोपाल प्रसाद भण्डारीले जनाएका छन् ।
असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।
प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology