Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

अभावदेखि अभियन्तासम्म

अभावदेखि अभियन्तासम्म

images
  • अभावदेखि अभियन्तासम्म
    images
    images

    देवदह  । ग्रामीण परिवेश अत्यन्त सामाजिक र आत्मिय हुन्छ । जसले समाजको यथार्थ चित्रणसँगै सँस्कृति परम्परा, रीतिरिवाज अनि रहनसहनको चित्रण गर्दछ । समाजमा पात्र अनेक हुन्छन्, त्यहाँ प्रवृत्ति पनि फरक फरक हुन सक्छन् । परिवर्तनशिल समाजमा प्रवृत्ति र पात्रको विच द्धन्द्ध हुन्छ, त्यसले समाजमा एउटा दृष्टिकोण निर्माण गर्छ । 

    images
    images
    images

    कुनै अमुक परिवार अनि समाजमा कहिलेकाहीँ एउटा पात्रको प्रवेश यसरी हुन्छ, जसले त्यो समाजको परिवेशलाई फरक ढङ्गले बुझ्छ, बुझाउने प्रयास गर्छ । उसलाई समाजमा अरु पात्रले के भन्छन् भन्ने त्यति धेरै चासो हुँदैन । कतिपय अवस्थामा परिवारको असहयोग, समाजको गाली, इश्र्या, आदि इत्यादिको उसलाई कुनै प्रवाह हुँदैन । उसले समाजप्रति त्यति ठुलो चाहना पनि केहि राख्दैन । न त उसले समाजबाट केहि आर्जेर ठुलो प्रगति नै गरेको हुन्छ । 

    images
    images
    images

    समाजमा पढेलेखेका बुज्रुकदेखि सामान्य पढेलेखेका मानिसहरु पनि रहने गर्छन् । यस्तै समाजमा संघर्ष गर्दै अघि बढ्ने केहि पात्र पनि हुनेगर्छन् जो चुपचाप रहन्छन्, त्यतिधेरै औपचारिक शिक्षा पनि हुँदैनन् । उनीहरु आफुभित्र सँधै सकारात्मक चेत बोकेर दृढ इन्च्छाशक्तिका साथ समाज बदल्ने सपना देख्छन् । त्यस्तै एउटा पात्र हुन् रुपन्देहीको देवदह ६ की सावित्रा बस्याल ।

    images
    images
    images

    वि.सं. २०१५ साल भदौ ५ गते स्याङ्जा जिल्लाको साविक पञ्चायत गाविस वडा नं २ आङ्माङ् गाउँमा राँईलो सन्तानको रुपमा सावित्राको जन्म भएको हो । बुवा हरिलाल र आमा लक्ष्मी चापागाईको कोखबाट एउटा यस्तो गाउँमा सावित्राले पाइला टेकिन, त्यो गाउँमा न त महिला शिक्षालाई महत्व दिइन्थ्यो, न त छोरीको सपना बुझ्ने कोही हुन्थ्यो । 

    सावित्रा परिवारमा सन्तानको हिसाबले पाँचौ थिइन् तर जिम्मेवारीको हिसाबले उनको स्थान माथि आउँथ्यो । पाँच वर्षको उमेरदेखि भाइको स्याहार सुसार गर्न तम्सिने उनी सात वर्षकी हुँदा जंगलमा घाँसदाउरा काट्नेसम्म गर्थिन् । जंगलका काँडाले बिझाउँदा पनि नरोइ हिँड्ने उनी त्यो उमेरमा अरू बालबालिकाहरू रमाएर खेलिरहेका बेला खेत र बारीका गरा अनि कान्लाहरुमा काम गरिरहेकी हुन्थिन् । 

    बाल्यकालमा जुत्ता, चप्पल के हो भन्ने पत्तो नपाएकी सावित्राले पढ्ने लेख्ने उमेरमा त्यो कार्यबाट बञ्चित भईन् । उनका दाई र भाई झोला बोकेर विद्यालय जान्थे । त्यतिनै बेला उनको टाउकोमा नाम्लोको बरियो हुन्थ्यो । सावित्रा भन्छिन्, ‘पढ्ने इच्छा कसलाई हुँदैनथ्यो र ? मलाई पनि थियो, तर समाज मेरो त्यो इच्छाको तँगारो बनेको थियो । समाजमा छोरीले पढ्नु हुँदैन, उनीहरुले चुलोचौको र घरधन्दा सम्हाल्नुपर्छ भन्ने मान्यता त्यो बेला निकै झाँगिएको थियो ।’  उनी सम्झिन्छिन्, 'दाजुभाइ स्कुल जान्थे, म मेलापात र पानी भर्नका लागि पानी पँधेरो ।'

    उनी पढ्न चाहन्थिन्, उनको चाहनामा घर परिवारले पनि साथ दिन सकेन । जेनतेन ३ कक्षासम्म पढेकी उनले भनिन्, ‘मेरो पढाई ठिकठाक चलिरहेको थियो कुन्नी कसले घरमा ‘छोरी मान्छेले पढ्न पर्दैन’ भनिदियो, त्यसपछि स्कूल जान बन्द भयो ।’ उनी भन्छिन्, ‘विद्यालय जान बन्द भएपछि खेतवारी र पाखाहरुमा रमाउन थालेँ ।’ 

    लाउँला खाउँला भन्ने उमेरमा मिठो चोखो खान समेत त्यस्तै हुन्थ्यो, बुवा गाउँका मुखिया भएका कारणले पेट भर्नलाई त समस्या हुँदैनथ्यो । तर मिठो मसिनो खानको लागि चाडपर्व नै कुर्नुपथ्र्यो, उनले भनिन्, ‘आमाका पुराना कपडा सिलाएर लगाएको सम्झना मलाई अहिले पनि ताजै छ ।’ 

    देवदह-७ मा बसोबास गर्ने सावित्राको उमेर अहिले ३ बिस कट्यो । तर पनि उनको जोँस र जाँगर कुनै युवाको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेल उनी सामाजिक काममै व्यस्त रहन्छिन् । महिला सशक्तिकरण र नेतृत्व विकासका लागि देवदहमा हुने प्राय कार्यक्रममा पुगेकी हुन्छिन् - सावित्रा । 

    पढ्ने ठुलो रहर हुँदाहुँदै पनि बाध्यतावस १७ बर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी उनलाई आफुले पढ्न नपाएपनि समाजमा कोहि पनि शिक्षाको पहुँचबाट टाढा हुन नरपोस भन्ने लाग्छ । वि.सं २०३२ सालमा पर्वतका रेशमलाल बस्यालसँग विवाह बन्धनमा बाँधिएकी सावित्राले सानै उमेरमा आफ्नो मन  नहुँदा नहुँदै पनि विवाह बन्धनमा बाँधिनुपरेको बताईन् । उनले भनिन्, ‘घरमा विवाहको कुरा चलाईएको रहेछ । काम छ भनेर म मेलामा गएको मान्छेलाई बोलाए । घर आउँदा बिहेको कुरा टुङ्गाइसकेका रहेछन् ।’ सावित्राले खाली खुट्दा, चप्पल समेत नलगाई विहे गरेर कर्मघर गएको बताइन् ।

    २ छोरी र २ छोराकी आमा सावित्रा पुराना वितेका कुरालाई खासै मनमा राख्दिनन् । आफुले पढ्न नपाएकाले छोराछोरीले राम्ररी पढुन भन्ने उनको चाह थियो । कान्छो छोराले स्नातक गर्नुबाहेक अरु छोराछोरीले खासै पढाईमा रुची नदिएको उनले सुनाईन् । छोराछोरीलाई राम्ररी पढाउने उद्धेश्य सहित आफु वैदेशिक रोजगारीका लागि दुवई पुगेको उनले बताइन् । उनले भने जस्तो गरेर नपढेपनि सावित्राका छोराछोरी स्वरोजगार र व्यवसायमा जुटिरहेका छन् । उनकी जेठी छोरी र दुई छोराले सीता टुर्स एण्ड ट्राभल्स चलाईरहेका छन् । जसले नेपालदेखि भारतको दिल्लीसम्म यात्रुहरुलाई आउजाउ गर्न सहज बनाएको छ । उनकी एक छोरी कावासोतीमा किराना व्यवसाय गरिरहेको सावित्राले बताईन् ।  

    अहिले नेपालमै पनि केहि काम गर्छु भन्दा धेरथोर अवसर भएको बताउने उनले ३५/४० बर्ष अघि देशमा काम गर्छु भन्दा पनि नपाईने भन्दै बिहे गरेको केहि समयपछि श्रीमान्सँग आफु इण्डिया गएको बताईन् । उनले भनिन्, ‘घरमा माईत जस्तो नहुने । घरका कोसँग बोल्नु ? बाहिरका कसैसँग बोल्न पनि अनुमति थिएन ।’ श्रीमान्को साथमा इण्डिया पुगेकी सावित्राले सुरुमा महिनाको १५ रुपैंया तलव पाउने गरि घरखातामा (साहुकोमा बच्चा हेर्ने) काम गरेकी थिईन् । 
    सुरुको तलव बुझेर आँफुलाई साडी किनेको बताउने उनलाई त्यतिबेला त्यो साडीको मुल्य कति परेको थियो भन्ने कुरा याद छैन । धेरै महिना पछि मासिक एक सय ५० रुपैंया तलब पुग्दा एक केजी आटाको मुल्य ५ रुपैंया तिरेको भने उनलाई सम्झना छ । 

    इण्डिया बसाईको क्रममा नै सावित्राले जीवनको भोगाईबारे राम्ररी महशुस गरेकी हुन् । उनी भन्छिन्, 'मैले त्यहाँ जीवनको अर्को रूप देखें । अपमान सहदै मनमा हिनता बोध साँधेर बस्नुपथ्र्यो । के गर्नु बाध्यता त्यस्तै थियो ।' कतिपय दिनमा खाना नखाई बस्नुपर्ने स्थिति थियो भने कैंयौ रात भोको पेटका कारण ननिदाएका क्षणहरु उनको मनष्पटलमा अहिले पनि घुमिरहनेगर्छन् । तरपनि त्यो दुःखको क्षणले आफुँलई थप आँटिलो र आत्मनिर्भर बनाएको उनको तर्क छ । 
    इण्डिया बसाईको क्रममा उनले पैसा जोड्न सकिनन् । तर त्यहाँबाट उनलाई राम्रै आत्मविश्वास पलाएको थिए । संघर्ष जीवनको एक हिस्सा हो भन्ने बुझेकी उनले आफुँमा भएको आत्मविश्वासलाई साथमा लिएर होटल व्यवसाय सञ्चालन गरिन् । परिवारबाट अंशमा पाएको खेतवारी बेचेर २०४१ सालमा गाउँदेखि तल मर्दिखोला भन्ने ठाउँमा झरेकी उनले १४ बर्षसम्म त्यो व्यवसाय मार्फत संघर्ष गरिन् । 

    सामाजिक परिवेशमा काम गर्दा निकै आनन्दित हुने सावित्राले राजनीतिमा समेत चासो राख्थिन् । उनका श्रीमान् २०४९ सालमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष निर्वाचित भएपछि उनलाई सामाजिक काममा थप जोडिने अवसर मिल्यो । गाउँमा रहँदा आँफुले पार्टीका काममा सघाउनेदेखि नेताहरु भेट्नासाथ गाउँका योजना विकासका विषयमा कुरा गर्ने गर्थिन । 

    गाउँमा पानीको अभाव रहेका बेला केन्द्रबाट आएका नेतालाई आग्रह गरेर आफ्नो पहलमा गाउँमा पानीको धारा जोड्न सफल भएको उनले बताइन् । उनी भन्छिन्, 'खानेपानीको धारा नभएको गाउँमा चर्पिको त कुरै नगरौं ।' स्वस्थ रहनका लागि चर्पि बनाउन पर्छ भनी गाउँलेलाई सचेत बनाई स्थानिय तथा सरकारको सहयोगमा चर्पि समेत बनाएको उनी सुनाउँछिन् । सक्रियताका साथ सामाजिक कार्यमा खटिरहने सावित्रा २०५४ सालको स्थानीय चुनावमा हुवास गाविसमा वडा सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । बसाईसराईका कारण जनप्रतिनिधिको रुपमा लामो समय कामगर्न नपाएकी उनी देवदह झरेपछि पनि १० बर्षको बैदेशिक रोजगारीको रहँदाको समय बाहेक अन्य समयमा सामाजिक कार्यहरुमा आँफुलाई समर्पित गरिरहेकी छन् ।

    उनी भन्छिन्, 'विदेशमा हुँदा त्यहाँको विकास, शिक्षा र त्यहाँको चेतना स्तर सबै देखेपछि आँफु बसेको ठाउँपनि विकसित हुनुपर्छ भन्ने लाग्यो ।' देवदह ६ खैरेनीमा आफु बसेको वरपर खानेपानी र चर्पीको अभाव देखेपछि आफु फेरी सामाजिक काममा जोडिएको उनी बताउँछिन् । उनलाई त्यतिबेला घरबाहिर निस्किएर बोल्न नसक्ने दिदीबहिनीलाई सशक्त र आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्न लाग्थ्यो । 

    २०६६ सालमा चसक नामक संस्थासंग जोडिएर सरसफाइ अभियान थालेकी उनले देवदहको मिलनचोक क्षेत्रबाट प्रतिघर १० रुपैयाँ संकलन गर्नेगरेको बताईन् । ‘अहिले नगरपालिकाको २/३ वटा ट्याक्टर हरेक जसो घरमा पुगेर फोहोर उठाउने काम गरिरहेका छन् । खानेपानी पनि सबैको दैलोमै पुगेको छ । अहिले यो देख्दा खुसी लाग्छ ।’ उनी भन्छिन्, ‘त्यो बेला सडकमा झाडु बोकेर हिँडेदा खिसिट्युरी गर्नेहरुपनि थिए । विद्यालयमा शौचालय निर्माण गर्नुपर्छभन्दा सावित्रा बहुलाई भन्थे, काम नपाएर कुचो बोकेर बाटोमा हिडेकी छ भन्ने कुरापनि मैरै कानले कतिपटक सुने । तर आज सरसफाई भन्ने कुरा अनिवार्य बनिसक्यो ।'

    सामाजिक काम गर्दौ आफुलाई जसले जे भनेपनि वास्ता नहुने बताउने उनले कतिपटक त आफुलाई पागल भन्ने गरेको सुनाईन् । मलाई अहिले लाग्छ सायद त्यो बेला म पागल नै थिएँ । तर समाज सफा बनाउने पागल । उनी मुस्कुराउँदै भन्छिन्, 'देवदहको सन्दिप प्राविमा मैले नै पहल गरेर पहिलो पटक व्यवस्थित शौचालय बनेको थियो ।' त्यसपछि पनि विभिन्न ठाउँमा १० वटा सार्वजनिक शौचालय निर्माण गरेको उनले बताईन् । 

    राजनीतिक रुपमा पार्टीका विभिन्न कमिटिका जिम्मेवारीमा रहेकी सावित्रा स्थानीय रुपमा विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् । महिलाको सवालमा अलि बढि चासो र चिन्ता व्यक्त गर्ने उनले केहि बर्ष अघि कृषिमा महिलाको सहभागिता बढाउने उद्धेश्य सहित चेली नामक कृषि सहकारी संस्था गठन गरेको बताइन् ।  

    हाल सहकारी अभियानमा खटिरहेकी सावित्रा देवदहमा पहिलोपटक महिलाहरुलाई पञ्चेबाजा बजाउने तालिमदेखि, सिलाईकटाई, ब्युटिसियन, बुटिक, अचार बनाउने, दालमोट बनाउने लगायत थुप्रै तालिमहरु मार्फत महिला सशक्तिकरणका लागि काम गरिरहेकी छन् । 

    महिलाहरुको आवाज बुलन्द गर्दै सफा अनि सुन्दर समाजको परिकल्पना गर्ने सावित्राको सक्रियता समाजलाई आजपनि उत्ति नै आवश्यक छ ।

    नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारी नेतृत्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।