देवदह । सानो गाउँ, हरिया खेतबारी, उकाली र ओरालीहरू । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१४, टेकु देउरालीमा, वि.सं. २०४३ साल भदौ २४ गते, एक शिशुको जन्म भयो । बुवा हर्कबहादुर श्रेष्ठ र आमा टिका कुमारीको कोखबाट घरको पहिलो सन्तानको रुपमा उज्यालो बनेर आएकी थिइन् लक्ष्मी ।
लक्ष्मी, नामजस्तै उनको जीवन पनि धन, ऐश्वर्य र सफलताको प्रतीक बन्न जन्मेको थियो । आठ भाइ बहिनीहरूको बिचमा जेठो सन्तानको रुपमा जन्मिएकी उनी बाल्यकालदेखि नै भिन्न थिइन् । बाल्यअवस्थामा चञ्चलताभन्दा बढी जिज्ञासु स्वभावकी उनी हरेक कामलाई जिम्मेवारीबोधका साथ गर्ने प्रयास गर्थिन ।
कक्षा १ देखि १० सम्मको शिक्षा उपल्लोपेखु माध्यमिक विद्यालयबाट लिएकी उनी किताबी ज्ञानभन्दा बढी जीवन सिकाइमा रुचि राख्ने र गाउँका उकाली–ओराली जस्तै जीवनका उतारचढावहरूलाई पनि खेल्दै पार गर्न सिकिरहेकी थिइन् । साथीहरू जब खेलकुदमा रमाइरहेका हुन्थे, लक्ष्मी आमा–बुवाको काममा सघाइरहेकी हुन्थिन् ।
छोटो समयमा बढी कुरा सिक्ने उनको स्वभावले गाउँका पाका पुरानाहरूलाई पनि छक्क पार्थ्यो । यो छोरी त साँच्चिकै भाग्यमानी हुन्छे भन्थे गाउँलेहरू । तर लक्ष्मीलाई थाहा थियो, भाग्य आफैं निर्माण गर्नुपर्छ, भाग्य पर्खेर कहिल्यै प्राप्त हुँदैन, न त यो भावीले हातमा लेखिदिएर नै हुने हो ।
समयले धेरै कुराहरूलाई अचानक परिवर्तन गरिदिन्छ । १६ वर्षको कलिलो उमेरमै २०५९ साल मंसिर १० गते, स्याङ्जाकै राजु श्रेष्ठसँग उनको विवाह भयो । विवाह एउटा नयाँ जीवनको सुरुवात थियो, जसले बाल्यकालका चन्द्रमा जस्तै उनका सपनाहरूलाई अलिकति ओझेलमा पारिदियो ।
बिहेपछि लक्ष्मी धेरै आशाहरू, अपेक्षाहरू र जिम्मेवारीहरूको भारी बोकेर बुहारीको भूमिकामा गृह प्रवेश गरिन् । घर व्यवस्थापन, खेतीपाती, र नातेदारहरूको सम्बन्ध निभाउने सबै पक्षहरूमा उनी खट्नुपर्ने भयो । उनी भन्छिन्, ‘जीवन कहिले कमल जस्तै फुल्ने र फक्रने गर्छ त कहिले जीवनले काँडैकाँडामा हिँडाउँछ ।’
२०६१ साल वैशाख ३१ गते, पहिलो सन्तान स्वरुप छोरीको जन्मले लक्ष्मीलाई आमा बन्ने सौभाग्य दियो । मातृत्वले उनलाई थम जिम्मेवार बनायो । त्यसपछि उनी आफूसँगै एउटा सानो जीवनलाई पनि अगाडि बढाउनुपर्ने उत्तरदायित्व बहन गर्दै अघि बढिन् ।
लक्ष्मीको मन कुनै साँघुरो सीमामा बाँधिन चाहँदैनथ्यो । गाउँघरको परिधिबाट बाहिर निस्किएर केही गर्ने चाहना उनीमा चुलिँदै गइरहेको थियो । २०७० साल तिर, जब घरका दैनिकीहरू केही सामान्य बन्दै गए, उनले आफ्नो सपनालाई आकार दिन प्रयास गरिन् । उनले नेपालगञ्ज पुगेर ६ महिना लामो ब्युटी पार्लर तालिम लिइन् । गर्मीको चर्को घाम, अपरिचित शहर, परिवारबाट टाढा सबै चुपचाप सहेर, उनले आफ्नो भविष्यको लागि ज्ञान संचित गरिरहिन् ।
तालिमपछि व्यावसायिक यात्रा सुरु गर्ने सोँचसहित गाउँ फर्किएकि उनले ब्युटी पार्लर खोल्ने प्रयास गरिन् तर त्यसको वातारण मिलेन । उनको सपना एउटा बन्द दराजभित्र थन्कियो । मनमा अनेक आशाहरू घुमे पनि, परिस्थिति सहज बनेन ।
सन्तानको उज्ज्वल भविष्य सोंच्दै, २०७६ साल मंसिरमा उनी परिवारसहित रुपन्देहीको देवदह–२ ढेकावर सरिन् । देवदह उनको लागि नयाँ थलो थियो, नयाँ सपनाहरू थिए, अनि नयाँ चुनौतीहरू पनि सँगसँगै थिए । यसपटक उनले हार मानिनन् । ससुराले बनाइदिएको सानो घरमा बस्दै, १० हजार रुपैयाँ पूँजीबाट उनले ब्युटी पार्लर सुरु गरिन् ।
आफ्नै पसिनाबाट सुरु भएको त्यो यात्रा केवल व्यापार थिएन, जीवनप्रतिको एउटा शपथ थियो । जसले आफ्नो पहिचान आँफै बनाउन खोजिरहेको थियो । सुरुवात सजिलो थिएन । उनलाई नयाँ ठाउँमा गाहकहरूको विश्वास जित्नुपर्ने थियो । उनले पसलमा कस्मेटिक सामान र फेन्सीका केहि सामग्रि थपेर, सेवा विस्तार गरिन् ।
घर र व्यापारको दोहोरो जिम्मेवारी वहन गर्दा, कतिपटक थकाइले शरीर नै भत्भती पोल्थ्यो। बिहान चार बजे उठेर घरधन्दा सम्हाल्ने, बच्चाहरूको स्याहार गर्ने, अनि पसल सञ्चालन गर्ने यसरी उनको दैनिकि बनिरहेको थियो । अनि कहिलेकाहीँ, पसिनाले भिजेको टाउको बोकेर, ग्राहकहरूको मुस्कानमा आफूलाई हराउने गर्थिन । ‘कहिले काहीँ त लाग्थ्यो, कति धेरै संघर्ष गरेछु ।’ उनी भन्छिन्, ‘तरपनि बिहान उठेर बच्चाहरूको अनुहार हेर्दा, ती सबै पीडाहरू बिर्सिएर आउँथ्यो ।’
पसल विस्तारसँगै, श्रीमान् राजु श्रेष्ठले पनि विदेशबाट फर्केर लक्ष्मीलाई साथ दिन थाले । श्रीमान् श्रीमतीको संयुक्त मेहनतले ब्यापार फस्टाउन थाल्यो । उनले भनिन्, ‘व्यापार मात्र होइन, हाम्रो सम्बन्धमा पनि नयाँ ऊर्जा थपियो ।’
जीवनको यात्रा सधैं सरल कहाँ हुन्छ र ? उतार चढाव त भइनै रहन्छ । कोरोना महामारीले सबै थुनिए । ब्युटी पार्लरको सेवा बन्द भयो । पसल सुनसान भयो । तर लक्ष्मीले परिस्थितिसँग हार खाइनन् । बरु त्यो परिस्थितिसँग संघर्ष गरिरहिन् । कोरोना अवधिमा उनले आफ्नो व्यापारको शैली परिवर्तन गरिन् । उनले फेन्सी र कस्मेटिक सामानहरू अनलाइनमार्फत अर्डर लिएर बिक्री गर्न थालिन् । उनी भन्छिन्, ‘कठिन समयले नै मलाई नयाँ बाटो देखायो ।’
अहिले लक्ष्मीको पसलमा करिब ४०–५० लाख रुपैयाँ बराबरका सामान छन् । पसलबाट मासिक रुपमा १८/१९ लाख रुपैयाँको कारोबार हुन थालेको छ । उनले भनिन्, ‘व्यापार ठूलो भयो, चुनौती पनि साथमा आयो ।’
विगतको ३–४ हजार रुपैयाँको मासिक कारोबारदेखि आजसम्मको यात्रा, उनको आफ्नै आँखा अगाडि छर्लङ्ग छ । उनी भन्छिन्, ‘पहिला थोरै कारोबार हुँदा पनि नाफा बढी हुन्थ्यो, अहिले ठूलो कारोबार छ, तर प्रतिस्पर्धा र लागतल गर्दा नाफा घटाएको छ ।’ प्रतिष्पर्धाको हिसावले पनि अहिले देवदह–२ स्थित लक्ष्मीको पसल ‘ममता लक्ष्मी फेन्सी स्टोर’ को नामले परिचित छ ।
लक्ष्मीको कथा केवल व्यापारको सफलता मात्र होइन, नारी उद्यमशीलताको गौरव गाथा पनि हो । । दुई छोरी र एक छोराकि आमा लक्ष्मी अहिले पारिवारिक र व्यवसायिक जीवनको विचमा कुदिरहेकि छन् । उनकी कि जेठी छोरी अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छिन् । कान्छी छोरी कक्षा ८ मा पढ्छिन भने छोरा कक्षा ५ मा अध्ययनरत छन् ।
श्रीमती र आमाको दुई भूमिका निर्वाह गर्दै, लक्ष्मी अझै हरेक बिहान नयाँ सपना बोकेर उठ्ने गर्छिन । उनी भन्छिन्, ‘मेरो लागि व्यापार केवल पैसा कमाउने साधन मात्र होइन । यो मेरो आत्मसम्मानको आधार हो ।’
बाह्य तडकभडक भन्दा बढी, उनले आफुमा आत्मसन्तुष्टि खोज्ने गर्छिन् । जीवनका हरेक उतारचढावलाई उनले सिकाइका ढोकाका रूपमा लिएकी छिन् । जुन उनले कहिल्यै बन्द गर्न चाहन्नन् । स्याङ्जाको एउटा गाउँमा सिमित लक्ष्मी आज एउटा देवदहको व्यापार क्षेत्रमा उदाहरण बनेकी छिन् । जहाँ उनका संघर्ष र साहसले सपनाहरूलाई रंग भरिरहेका छन् ।
आकाश छुने सपना बोकेकी एउटी गाउँकी चेली, आफ्नो मेहनत र आत्मविश्वासको भरमा सफलताको आकाशमा उड्न सफल भएकी छिन् । उनको जीवन हामी सबैका लागि समेत प्रेरणाको झिल्को बन्न सक्छ ।
नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology