काठमाडौं । क्रिकेटप्रेमीहरूको प्रतीक्षाको घडी सकिएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि भारतमा धमाकेदार रूपमा सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुनेछ। खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे कोलकातास्थित इडेन गार्डेन्स मैदानमा आयोजना हुनेछ।
प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउन चर्चित कलाकारहरूले प्रस्तुति दिने तय भएको छ। अभिनेत्री दिशा पटनी, प्रख्यात गायिका श्रेया घोसालसहित अन्य कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्, जसले उद्घाटन समारोहलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।
गत सिजन सनराइजर्स हैदराबादलाई पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको कोलकाताले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाएको छ।
त्यस्तै, अहिलेसम्म एकपटक पनि आईपीएलको उपाधि हात पार्न नसकेको रोयल च्यालेन्जर्स बेंगलुरु यस संस्करणमा नयाँ कप्तानको नेतृत्वमा ऐतिहासिक जित दर्ता गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
सन् २००८ मा स्थापना भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान पाँच-पाँच पटक उपाधि जितेर सर्वाधिक सफल टोलीको स्थान बनाएका छन्।
कोलकाताले तीन पटक आईपीएल उपाधि जितिसकेको छ भने डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले एक-एक पटक उपाधि उचालेका छन्।
आईपीएलको यो संस्करणमा कुन टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ र उपाधि कसको पोल्टामा पर्नेछ भन्ने कौतुहलता अझै कायमै छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology