देवदह । रुपन्देहीको देवदहमा मुख्य कार्यालय रहेको पल्लवी बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा १११ युनिट रगत संकलन भएको छ ।
सहकारीको १३औं स्थापना दिवसको अवसरमा बिहिबार आयोजित रक्तदान कार्यक्रममा २३ जना नयाँसहित १११ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पवन पौडेलले जानकारी दिए ।
दुई ठूला पर्वको विदाईसंगै छठ पर्वको समेत अवसर पारेर आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक उपस्थिति रहेको सहकारीका अध्यक्ष प्रमोद खनालले बताए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले देवदहमा क्रियाशील सहकारी र सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमहरू उत्कृष्ट भएको बताए । मानवीय सेवाभन्दा माथि अरु केही नभएकोले रक्तदानजस्ता पवित्र कार्यले मानव समाजप्रतिको हाम्रो दायित्व समेत पुरा हुँदै आएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका रुपन्देही अध्यक्ष कृष्ण चौहानले रक्त संकलनमा देवदहका संघसंस्थाको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद गैरे, व्यवस्थापक केशव आचार्य लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले बिहिबार नै ‘वर्तमान अवस्थामा सहकारीका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम समेत संचालन गरेको जनाएको छ । स्थापना दिवसको अवसरमा बुधबार पल्लवीले विद्यालय स्तरिय वक्तृत्वकला कार्यक्रम समेत आयोजना गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology