देवदह । देवदह नगरपालिकाले फोहोर संकलन कार्य सुरु गरेको छ । विगत केही महिना स्थगन भएको फोहोर संकलन र व्यवस्थापनको काम डम्पिङ्ग साइटको सुदृढीकरणसंगै सुरु भएको नगर प्रमुख ध्रुवप्रसाद खरेलले जानकारी दिए ।
सेतोमसीसंग कुरा गर्दै नगर प्रमुख खरेलले पुरानो डम्पिङ्गलाई व्यवस्थित गरि फोहोर व्यवस्थापनमा देखिएको समस्या हल गरिएको बताए । 'अहिले डम्पिङ्ग साइटलाई स्तरीकरण गरिएको छ ।' उनले भने, 'अब फोहोर व्यवस्थापनको समस्या दिर्घकालिन रूपमै समाधान हुनेछ ।'
देवदह नगरपालिकाले नगरको वडा नं ५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वनमा फोहोर व्यवस्थापन गर्दै आएको छ । केही समय अघि फोहोर व्यवस्थापन बैज्ञानिक नभएको र फोहरका कारण स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर गरेको भन्दै वनले डम्पिङ्ग साइटमा फोहर फाल्न रोकेको थियो ।
यस विचमा नगरपालिकाले विभिन्न वडामा फोहोर वार्गीकरण अभियान समेत संचालन गरेको छ । कुहिने वस्तुलाई मल बनाउने, पुन: प्रयोग गर्न मिल्ने वस्तु प्रयोग गर्ने र विक्री हुने वस्तु विक्री गरेर शेष फोहोर नगरपालिकाको फोहोर उठाउने गाडीमा पठाउन नगरपालिकाले आग्रह गरेको छ ।
डम्पिङ्ग साइटमा तार लगाउने र भवन बनाउने कामको लागि ८ लाख रुपैयाँ खर्चिएर स्थानीयको माग बमोजिम निर्माण कार्य गरिरहेको नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology