Logo

२०८३, श्रावण २७गते


images
images

नारी नेतृत्व

अग्रज नेतृ भगवती

अग्रज नेतृ भगवती

images
  • अग्रज नेतृ भगवती
    images
    images

    उनको लोकतन्त्रप्रति अटुट लगाव छ । हरेक परिवर्तनका आन्दोलनमा प्रतिवद्धतासहित संघर्षमा होमिएकी छन् उनी । चार दशकको राजनैतिक इतिहास छ उनको । उनले आन्दोलनको इतिहासलाई  देखाएर कुनैपनि लाभको पद धारण गरेकी छैनन् । उनी हुन् - देवदहकी भगवती गैरे । 

    images
    images
    images

    वि. सं २०१९ साल चैत ७ गते आमा ईश्वरी र बुवा राधाकृष्ण पंगेनीको कोखबाट भगवतीको जन्म भयो । सामान्य कृषि पेशा गर्ने परिवारमा उनी  स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं ३ मा कान्छी छोरीको रुपमा जन्मिएकी हुन् । उनीभन्दा माथि ३ जना दाई दिदी भएपनि परिवारसंग खेल्ने रमाउने बेला ३ बर्षकै उमेरमा उनले आफ्नो बुवालाई गुमाउन पुगिन् । छोरीलाई पढाउनुभन्दा घरको कामकाजमा लगाउनु पर्छ भन्ने समाजमा जन्मिएकी भगवतीलाई क्षयरोगका कारण बुवाको निधन भएपछि पढ्न निकै गाह्रो भयो । जसका कारण उनको पढाई आधारभुत तह भन्दा माथि जान सकेन । कक्षा ६ सम्म स्थानीय सारेक टापु प्राथमिक विद्यालयमा पढेकी उनी बुवाको निधन भएपछि घरमा काम गर्न आमा एक्लै भएकाले विहान, साझँ आमासंगै घास दाउरा गर्न जान्थिन् । 

    images
    images
    images

    खेतबारी धेरै भएकाले अधिकांश समय उनले परिवारसंगै कृषिको काममा बिताउनु पर्थ्यो । कृषि नै उनिहरुको घरपरिवारको खर्च धान्ने माध्यम थियो । भगवतीका दिदीहरुको विवाह भैसकेको र दाईले घरमा आमालाई नसघाउने समस्याका कारण परिवारको जिम्मेवारीले उनलाई सानै उमेरबाट थिचिरह्यो । साथी भाईसंग खेल्न जाने र मन परेका खानेकुरा खान उनलाई जिम्मेवारीले छेक्यो, जसले गर्दा सानै देखि उनका सबै रहरहरु मनमा नै सिमित रहे । आमाले दिएको कामलाई जसरी पनि पूरा गर्नुपर्छ भन्ने सोँच राख्ने भगवतीले सधै जिम्मेवारीलाई ईमान्दारिता पूर्वक पालना गरिन् । 

    images
    images
    images

    दयालु स्वभावकी भगवती सानै उमेरबाट दुःखी गरिवलाई सहयोग गर्न मन पराउँथिन् । आफुभन्दा कमजोर आर्थिक हैसियतका कोही देखेमा उनलाई सहयोगको भावना जागृत हुन्थ्यो । त्यसैले पनि उनले बाल्यकालमा पनि घरभित्र भएको अन्न समेत आफुले नखाएर अरुलाई दिने गर्थिन् । अरुले सम्झाई बुझाई गर्ने उमेरमा नै समाज र छरछिमेक प्रति चासो राख्ने भगवतीले गल्ती र बदमासी गर्ने मानिसलाई समेत सम्झाई बुझाई गर्ने गर्थिन् । कलिलो उमेरबाटै नेतृत्व लिन पाए हुन्थ्यो भन्ने भावना बोकेकी भगवतीलाई आफ्नो घरपरिवार आउजाउ गर्ने मानिसले जय नेपाल भन्ने शब्द प्रयोग गर्दा खुसी लाग्थ्यो । पढ्ने बेला प्रधानाध्यापकले विद्यालय प्रवेश गर्ना साथ विद्यार्थीलाई जय नेपाल भन्ने गरेकाले पनि आफुलाई त्यो शब्द प्रिय लागेको भगवती बताउँछिन् ।

    भगवतीको परिवार र छरमिमेकमा नेपाली कांग्रेसमा आस्था राख्नेहरु धेरै भएकाले उनी ११÷१२ बर्षको उमेरमा नै पार्टीका चिठी र पर्चा पम्प्लेट गाउँ गाउँमा लैजाने र ल्याउने काम गर्ने गर्थिन्  । प्रहरीले छोप्छ कि भन्ने डर एकातिर हुन्थ्यो भने आँफुभन्दा अग्रजले दिएको जिम्मेवारी पुरा गर्नुलाई उनले कर्तब्य ठान्थिन् । जामा र सुरवाल लगाएर हिड्ने भगवती त्यो बेला गोजी भरि पर्चा राखेर कसैले नदेखोस भनेर गोजीलाई खिपले छोपेर हिँडने गर्थिन् । यसरी हिँड्दा प्रहरी वा अन्य कसैले देखे बाटोमा भेटाएका कागज बोकेर हिँडेकी हुँ भनुला भनेर उनले आफ्नो जिम्मेवारीलाई रचनात्मक ढङ्गले अगाडि बढाएको उनक भनाइ छ ।

    जीवनमा आफुले नै केहि गर्नुपर्छ र आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने सोँच र मान्यता राख्ने भगवतीलाई १५ बर्षको कलिलो उमेरमै विवाहको लागि प्रस्ताव गरियो । विवाहको उमेर नभएपनि आमा र दाईको दवावमा २०३४ सालमा उनको स्याङजाको तत्कालिन सेखुघखोर गाविस–२ निवासी प्रभाकर गैरेसंग विवाह भयो । तर विवाह पछि पनि उनको दुःख ज्यूको त्यू रह्यो ।  उनी विवाह गरेर भित्रिदा सासु र ससुरा दुवैको निधन भैसकेको थियो । घरमा जेठाजु र जेठानी मात्र हुने र श्रीमान् भारतको जागिरमा रहेकाले आफुले घरमा पनि निकै दुःख झेल्नुपरेको भगवती बताउँछिन् । दिनभरि मेलापात गर्न आफु जाने तर काम गरेको ज्याला लिन उनकी जेठानी जाने गरेको उनी बताउँछिन् । ज्याला आँफुले बुझ्न नपाएपनि मेलापात गर्न खेतालाको रुपमा जाँदा पेटभरी खाना खान पाईन्छ भनेर उनी घरमा भन्दा मेलापातमै जान रुचाउँथिन् । अफुले लगाउने लुगाफाटा दिदीले पठाईदिएर लगाउने गरेको उनलाई अहिले पनि सम्झना छ । दिदीले दिएको पैसाले छिमेकीको घरमा कोदो किनेर राख्न दिने र काममा जाँदा सोहि घरमा पसेर रोटी पकाएर उनले खाने गर्थिन् । 

    समयक्रम संगै दुःख र कष्टठप्रद जीवन विताइरहेकी भगवतीले आफुजस्तै महिलालाई जागरुक गराउनु पर्छ भनेर २०३६ सालमा प्राकृतिक महिला समूह स्थापना गरिन् । महिलालाई संगठित गरि हक अधिकारका बारेमा जानकारी गराउने उद्धेश्यले स्थापना गरिएको उक्त समूहको उनले नेतृत्व गरेर अगाडि बढिन् । महिलालाई घरको काम र पारिवारीक दवाव मात्र होइन, उनीहरुलाई समाज र बाहिरी वातावरणको बारेमा पनि जानकारी होस भनेर आफुले सो समूहको नेतृत्व सम्हालेको भगवती बताउँछिन् ।   

    २०३९ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी भगतवीले प्रजातन्त्र प्राप्तिका लागि सुरु भएको  आन्दोलनमा २०४२ सालमा ३ बर्षकि छोरी बोकेर सडकमा उत्रिएको बताउँछिन् । यतिकै बसेर केहि हुँदैन, केहि न केहि गर्नुपर्छ, आम्दानीको श्रोतमा जोडिनु पर्छ भनेर वि.सं २०४४ सालमा उनको परिवार देवदह–३, सूर्यपुरामा बसाईस¥यो । देवदह आएपछि भगवतीले २ छोरालाई जन्म दिईन् । पहाडबाट भर्खर तराई झरेकी भगवतीलाई नयाँ बस्तिमा घुलमेल हुन त्यति सहज थिएन । केही आफन्तहरुको सहयोग र सामाजिक कार्यहरुमा संलग्न हुन थालेपछि विस्तारै उनलाई सहयोग पुग्दै गयो ।

    देवदह आएपछि भगवतीले व्यवसाय संगसँगै राजनीतिलाई पनि निरन्तरता दिन थालिन् । भगवतीका श्रीमान् भारतमा जागिर गर्ने भएपनि तराई मधेसको ठाउँमा खर्च धान्न कठिन हुनेभएपछि उनले ब्यवसाय तर्फ अग्रसर हुने सोँच बनाइन् । व्यवसायको लागि घरेलु उद्योगमा दर्ता गरेर उनले मैनवत्ति बनाउन सुरु गरिन् । कहिल्यै हिम्मत नहार्ने भगवतीले विहानमा घरधन्दा सकाएर दिउँसोको समयमा १ जना कर्मचारी राखेर व्यवसायमा जोडिइन् । ५० हजार रुपैया ऋण खोजेर सुरु गरेको उत्पादनलाई बजार खोज्न उनी भैरहवादेखि विरगञ्जसम्म पुग्ने गरेको बताउँछिन् । केहि समयपछि छोराछोरीले समेत ब्यवसायमा सघाउने भएपछि उनले सामाजिक र राजनीतिक क्षेत्रमा समेत समय दिन थालिन् । भगवती भन्छिन्, ‘त्यो बेला एउटा जोँस अनि जाँगर थियो, मैले मैनबत्ति बोरामा बोकेर खैरेनी बजारसम्म पु¥याउने गर्थे ।’ त्यहाँबाट आफुले उत्पादन गरेको मैनवत्ति स्याङजा, पाल्पा, भगवानपुर, बुटवलसम्म आफै लिएर पसल पसलमा लगेर छोड्ने गरेको उनी बताउँछिन् ।

    समय ढल्कदै जाँदा उनको शारीरिक अवस्थामा समेत परिवर्तन हुँदै गयो । व्यवसायको सुरुवाती चरणमा छोराछोरीले सघाउने भएपनि पछि छोराछोरी पढाईमा ब्यस्त हुन लागेपछि भगवतीले १४ बर्ष गरेको आफ्नो ब्यवसायलाई बन्द गर्ने निधो गरिन् ।     

    देशमा भएका महत्वपूर्ण आन्दोलनहरुलाई राम्ररी नियालेकी भगवती २०३६, २०४६ र २०६२/०६३ को आन्दोलनमा प्रत्यक्ष सहभागी भईन् । २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाएकी भगवतीको घर तत्कालिन अवस्थामा पार्टीको झण्डा राख्ने थलो थियो । भगवती विश्वासिलो र ईमान्दार कार्यकर्ता भएका कारण नेपाली कांग्रेसले उनलाई कामको महत्वपूर्ण जिम्मेवारी समेत दिने गथ्र्यो । पार्टीप्रतिको लगाव र इमान्दारीतालाई हेरेर उनलाई महिला संघमा पहिलो पटक तदर्थ समिति हुँदै जिल्ला कार्यसमिति सदस्यको समेत जिम्मेवारी दिइयो । भगवतीले रुपन्देही क्षेत्र नं १ को महिला संघको संयोजक भएर पनि केहि समय काम गरिन् । पार्टी र संगठनको काममा सँधै अगाडि बढ्ने भगवती काम पर्दा देवदहबाट हिडेरै भैरहवासम्म पुग्ने गर्थिन् । उनी भन्छिन् ‘गाडी भाडा कहिले हुन्थ्यो, कहिले हुँदैन्थ्यो, आखिर कति पटक को सँग मागिरहनु ?’ पार्टीका काममा अहोरात्र खट्ने भगवती लाभको पदमा भने कहिल्यै पुग्न सकिनन् । न त उनले आफ्ना आफन्त नातागोतालाई त्यस्तो अवसरका लागि सिफारीस नै गरिन् । उमेरले ६० वर्ष कटेकी उनलाई अहिले पनि पार्टी प्रति उत्तिकै माया छ । तत्कालिन अवस्थामा १ सय जनालाई पार्टीको सदस्यता दिए वापत क्रियाशिल सदस्यता पाउने चलनलाई समेत पार गरेकी भगवतीले २०४८ सालमा मात्रै नेपाली कांग्रेसको क्रियाशिल सदस्यता पाएकी थिइन् ।

    २०६२÷०६३ को आन्दोलनमा पनि उनी देवदहसंगै काठमाडांैको आन्दोलनमा पनि पार्टीबाट सरिक भईन् । आन्दोलनको क्रममा काठमाण्डौ गएर ४८ दिनसम्म पार्टीको तर्फबाट सहभागिता जनाएको उनले सुनाइन् । उनी भन्छिन् ‘देश, देश जस्तो बन्ला र भोलिका सन्ततिले सुख पाउलान् कि भनेर आन्दोलनमा हिँडीयो तर गलत गरिएछ ।’ बुढेसकालमा पुराना दिनहरु सम्झिदा आजभोली केहि स्वार्थी नेता मोटाउनका लागि आन्दोलन गरिएको रहेछ जस्तो लाग्ने गरेको उनी बताउँछिन् । आफ्नो उमेरका हजारौं लाखौंले विभिन्न पार्टी मार्फत देशमा प्रजातन्त्र, गणतन्त्र ल्याउनका लागि गरेको आन्दोलनको विपरित अहिलेको राज्यसत्ता चलेको र पार्टीहरु पनि देशको भन्दा पार्टीगत र ब्यक्तिगत स्वार्थमा लिप्त भएको उनको धारणा छ ।  

    आफुुले राजनीतिमा लागेकै बेलादेखि पार्टीले उठाएका उमेदवारलाई जिताउन सधै अग्रभागमा उभिएर हिँडेको भएता पनि भगवतीको पालो कहिल्यै आएन । 'भगवान युधिष्ठिर जस्तो राजनीति गरेर अहिलेको समयमा काम छैन' भन्दै उनी भन्छिन्, "अहिलेका नेता कार्यकर्ता सबै स्वार्थी मात्र भए । संघीय चुनावमा ४ पटक र स्थानीय चुनावमा ३ पटकसम्म पार्टीले खटाएका प्रतिनीधिलाई जिताउन उनी लागि परिन् । पार्टीको ९ औ महाधिवेशनमा उनी बुथ सदस्य, १० औ महाधिवेशनमा क्षेत्रीय सदस्य, ११ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२ औ महाधिवेशनमा पार्टीको महासमिति सदस्य र १३ औ मा महाधिवेशन प्रतिनिधि भइन् ।

    सधै पार्टीको काममा मात्र खटाउने र पार्टीको पदमात्र दिने तर जनताको सेवा गर्नका लागि भने पार्टीले कुनै दिन पनि आफुलाई सिफारिस नगरेको प्रति उनको दुखेसो छ । उनी भन्छिन, ‘हामी जस्तो ईमान्दार कार्यकर्ताको भावनामा खेलवाड गर्नेलाई पाप लाग्दछ ।’ अहिलेको अवस्थामा दलका नेताहरुले जनताको खुसी माथि कुठाराघात गरिरहेको बताउने उनले पहिला निम्न वर्गका मानिसले भोगेको दुःख अहिले सबै जनताले भोग्दा आफुलाई दुःख लाग्ने गेरेको बताउँछिन् ।

    जीवनको उत्तरार्धमा परिवारसँग रमाईरहेकी भगवतीकी एक छोरी सरकारी विद्यालयमा शिक्षक छन् । उनका जेठा छोरा वैदेशिक रोजगारीमा र अन्य २ जना छोरा डाक्टर छन् । उनका दुवै जना छोरा मिलेर देवदहको खैरेनीमा श्रीकृष्ण पोलिक्लिनिक नामक स्वास्थ्य संस्था चलाईरहेका छन् । हिजो घरपरिवारका सामान्य आवश्यकता समेत कसरी पुरा गरौंला, भनेर छट्पटाउने भगवतीका छोराछोरीको प्रगति देख्दा अहिले उनलाई निकै आनन्द लाग्छ ।

    उनी भन्छिन्, "आज सम्म जसोतसो आफ्ना सन्ततिलाई नेपालमा राख्न सफल भएपनि अब भने अवस्था जटिल छ ।" देशमा सुकिला मुकिलाहरुको हालिमुहाली भएकाले देश कसरी अगाडि बढ्ला भन्ने उनलाई चिन्ता छ । आर्थिक रुपमा टाट पल्टिएको राष्ट्रलाई अव कसैले पनि कमाई खाने भाँडो बनाउन नहुने भन्दै जनताको सेवा गर्न गएका जनप्रतिनीधिले जनताको आवश्यकतालाई प्रार्थमिकतामा राख्नुपर्ने उनी बताउँछिन् । आफुले जीवनमा अग्रजहरुबाट देशप्रेम र सत्मार्ग सिकेकाले अरुले पनि त्यसलाई पच्छाउनुपर्ने उनको सुझाब छ । राजनीति र सामाजिक क्षेत्रमा इमान्दारीतालाई प्रार्थमिकतामा राख्ने भगवतीलाई स्वस्थ र सुखी जीवनको कामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।