देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह–१ को प्रशासनिक भवनको शिलायन्स गरिएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷०८१ को १५ लाखको लागतमा निर्माण हुने भवनको रुपन्देही खानेपानी डिभिजन कार्यालय बुटवलका प्रमुख राजकुमार चौधरीले सोमबार एक कार्यक्रमबीच शिलान्यास गरे ।
भवन शिलान्यास गर्दै प्रमुख चौधरीले स्वच्छ खानेपानी खान पाउनु आमनागरिकको मौलिक अधिकार भएकोले खानेपानी संस्थाहरुले नागरिकलाई सहज रुपमा खानेपानीको व्यवस्था गर्न आवश्यक रहेको बताए । रुपन्देही जिल्लामा यस बर्ष १ सय ५० भन्दा बढि खानेपानीको आयोजना संचालन भईरहेको बताउदै उनले राज्यले खानेपानीलाई महत्व दिनु पर्नेमा जोड दिए । खानेपानी स्वास्थ्यसंग जोडिएको विषयवस्तु भएकोले स्वच्छ खानेपानीको लागि तिनै तहका सरकार मिलेर योजना बनाउनुपर्ने उनको भनाइ छ ।
यसैगरी देवदह नगरपालिका–१ का वडाअध्यक्ष दिपकप्रसाद नेपालले देवदह नगरपालिकाले खानेपानी ल्याव संचालन गर्न बजेटको व्यवस्था गरेको बताए । उनले नागरिकलाई सहज र स्वच्छ खानेपानी वितरण गर्नको लागि नगरपालिकाले खानेपानी परिक्षण ल्याव संचालन गर्न यस बर्ष १० लाख बजेट विनियोजन गरेर अगाडि बढिरहेको बताए ।
केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–२, का वडाअध्यक्ष दलबहादुर राकास्कोटी लगायतले बोल्दै भवन निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरेका थिए ।
केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष गीता भण्डारीको स्वागत र सचिव दिपक पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology