देवदह । देवदह नगरपालिका वडा नम्बर १ मा कार्यालय रहेको केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पाचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। शनिवार संस्थाको आफ्नै कार्यालय प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाको बार्षिक साधारण सभा सम्पन्न गरिएको हो।
सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा शुभकामना व्यक्त गर्दै रुपन्देही क्षेत्र नम्बर १ (१) बाट नवनिर्वाचित प्रदेश सभा सदस्य आशिष कुमार चौधरीले भोलि बिरामी भएर अस्पताल जानुभन्दा आजै स्वच्छ खानेपानीको व्यवस्थापनमा खर्च गर्नु बुद्धिमानी हुने बताउंदै आफ्नो कार्यकालमा खानेपानी तथा सरसफाईको क्षेत्रलाई विशेष महत्व दिने प्रतिवद्धता व्यक्त गरे । देवदह १ र २ का वडाबासी संगै देवदह ११ र १२ का समेत केहि स्थानमा खानेपानी सप्लाई गरिरहेको केरवानी खानेपानीको कामको प्रशंसा गर्दै चौधरीले संस्थालाई आवश्यक पर्ने सहयोगका लागि आफु सधै तयार रहने बताए।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेलले भौतिक विकासले मात्र विकास पूर्ण नहुने बताउँदै मानवीय विकास महत्वपूर्ण रहेको बताए । मानवीय विकासका लागि मानव स्वास्थ्य र स्वास्थ्यका लागि स्वच्छ खानेपानी अपरिहार्य रहेकाले धारणा व्यक्त गर्दै प्रमुख खरेलले देवदहको समग्र विकासमा खानेपानी तथा सरसफाईलाई आफुले महत्वपूर्ण रुपमा लिएको बताए ।
कार्यक्रममा बोल्दै डिभिजन खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका प्रमुख गुणानिधी पोख्रेलले सुधार बिस्तार आयोजनाको रुपमा केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रातो किताबमा समावेश भएको जानकारी दिए । कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिपक प्रसाद नेपालले संस्थाको विकासका लागि आफुले हरेक तवरले सहयोग गर्ने बताउँदै टुक्रे योजनाहरुले विकास हुन नसक्ने धारणा राखे । एक दुई लाखका टुक्रे योजनाहरुले उपभोक्तालाई सास्ती मात्र दिने तर वास्तविक रुपमा काम नहुने भन्दै नेपालले आफुले ५ लाखभन्दा कम रकमका योजना अगडी नबढाउने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष दलबहादुर राकसकोटीले खानेपानी संस्थको विकासका लागि आफ्नो क्षमताले भ्याएसम्म हरेक तहका सरकारसँग सहकार्य गर्न तयार रहने बताए ।
संस्थाका संस्थापक अध्यक्ष प्रजापति सापकोटाले जटिल अवस्थाबाट संस्थाको स्थापना र सञ्चालन गर्न सफल भएको स्मरण गर्दै मुहानबाट मुखसम्म पुग्ने हरेक क्रममा खानेपानी स्वस्छ हुनुपर्ने भएकाले खानेपानी क्षेत्रमा काम गर्ने सम्पूर्णले ध्यान दिन आवस्यक रहने बताए । सो क्रममा सापकोटाले उपभोक्तालाई स्वस्छ खानेपानी बितरण गर्दै संस्थागत विकासमा लाग्ने समग्र कालखण्डका पदाधिकारी तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाई महाशाखा प्रमुख ध्रुव कुमार धिताल, नेपाली कांग्रेसका जिल्ला सह-सचिव बासुदेव रिमाल, नेकपा एमालेका जिल्ला सदस्य लक्ष्मी पङ्गेनी, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य गोविन्द पङ्गेनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवदह अध्यक्ष माधव प्रसाद रिमाल, मायादेवी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाक अध्यक्ष चक्रपाणी तिवारि लगायतले बोल्दै खानेपानी तथा सरसफाईजस्तो मानव जीवनको लागि महत्वपूर्ण क्षेत्रमा काम गर्नु आफैमा ठूलो पूण्यकर्म भएको औँल्याउँदै खानेपानी संस्थाको समग्र विकासका लागि सबै क्षेत्रबाट धारणा व्यक्त गरे ।
सभाको उद्घाटन सत्र संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता, उपाध्यक्ष गिता भण्डारीको स्वागत र सचीव दिपक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थापक तथा पुर्व पदाधिकारी, सल्लाहकार एवं कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५० प्वाइन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology