नेतृत्व रातारात जन्मिदैन । पढेर वा डिग्रीमात्रै हासिल गरेरमात्रै पनि कोही लिडर बन्न सक्दैन । आम नागरिकले भोगेका पिडा जसले भोगेको छ, जसले नजिकबाट दु:ख, अभाव, अन्याय र अत्याचारलाई महसुस गरेको छ, जसले संघर्षको भट्टीमा आफुलाई कैयौंपटक खारेको छ र स्पात बनेको छ; त्यही मान्छेले गर्न सक्छ नेतृत्व । त्यसैले डोर्याउन सक्छ समाजलाई सत्मार्गमा र सजाउन सक्छ सुन्दर सपनाको संसार । यस्तै सपनालाई पछ्याउंदै सामाजिक संघसंस्थाको नेतृत्व गरिरहेकी एक पात्र हुन् - देवदहकी टीका न्यौपाने ।
२०३८ साल जेठ १ गते हालको तिलोत्तमा नगरपालिकामा आमा जमुना कुमारी र बुवा ज्ञानेश्वर न्यौपानेको कोखबाट पहिलो सन्तानको रुपमा टिका न्यौपानेको जन्म भयो । घरको जेठो सन्तान भएकाले छोरी भएर जन्मिएपनि उनलाई बुवा र आमाले सधै छोराको रुपमा हेर्ने गर्थे । सानै उमेरबाट निडर र हक्की स्वभाव भएकाले पनि टिकालाई बुवा आमाले छोरा भनेर नै बोलाउथे ।
टिकाले विद्यालय तहको शिक्षा कक्षा ८ सम्म जनजागृति स्कूलमा पढिन् । १० कक्षा जनज्योति स्कूलबाट पास गरेपनि उनी एसएलसी उत्तिर्ण हुन सकिनन् । मध्यम परिवारकी टिकाले २०५३ सालमा एसएलसी दिएपनि उनलाई २ वटा विषय लाग्यो । जसका कारण उनको अगाडिको विद्यालय यात्रा त्यहिँ रोकियो । सो समयमा दुईवटा विषय लागेपछि उनले पुरक परिक्षा समेत दिन पाईनन्, अर्को परिक्षाको लागि एक बर्षसम्म कुर्नु पर्दथ्यो ।
बुवाले सरकारी विद्यालयमा कार्यालय सहायकको रुपमा काम गर्ने भएकाले पनि टिका सधै बुवासंगै विद्यालय जाने आउने गर्थिन् । एसएलसी दिने समयमा हजुर आमाको निधन भएको र घरको आर्थिक अभावका कारण पढ्ने मन हुँदाहुदै पनि टिकाले अध्ययनलाई विट मार्नुप¥यो । हजुरआमाको निधनपछि टिकाको पढाईमा ध्यान नै गएन । उनको मस्तिष्कमा मात्र अब आर्थिक पाटोतर्फ जोडिनुपर्छ भन्ने सोंच आयो र उनी डि.एम.सि मसला उद्योग नयाँमिलमा लेखापालको रुपमा काम गर्थ थालिन् । दिउसोमा मसला उद्योगमा काम गर्ने र विहान साँझको समयमा घर वरपरका बालबालिकालाई जम्मा गरेर ट्यूसन पढाएर उनले घरमा आमा बुवालाई आर्थिक रुपमा सघाउन थालिन् ।
टिका २०५६ साल वैशाख १४ गते देवदह शित्तलनगर निवासी लक्ष्मण गौतमसंग विवाह बन्धनमा बाधिईन् । १७ बर्षको कलिलो उमेरमा विवाह गरि उनी माईती छाडेर कर्मघरमा आइन् । विवाह अघि नै सासु र ससुराको मृत्यू भईसकेको र दुई जना नन्दहरुको विवाह भईसकेकाले श्रीमान र २ जना नन्दहरुसंगै रहेकी टिकाको जिम्मेवारी थप बढ्यो । विवाह भएर घरमा आउँदा उनको परिवार कृषिमा निर्भर थियो । टिकाका श्रीमानले ड्राईभिङ् काम गर्नुबाहेक खेतबाट उब्जिएको अन्नपात नै टिकाको परिवारको आय श्रोत थियो ।
टिका आफैमा कलिलो उमेरकी थिइन् । उनले सानै उमेरमा भाउजुको मात्र नभएर आमाकै जिम्मेवारी पुरा गरिन् । उनले २ जना नन्दको पालनपोषण, शिक्षादिक्षा, विवाह सबै गरिदिइन् । जब उनी त्यति सानो उमेरमा अभिभावकविहिन घरमा विवाह गरेर भित्रिएकी थिइन्, त्यतिबेला समाजका केही व्यक्तिले कस्तोसंग विहे गरेको होला, सायद यसको आचरण ठीक नभएर नै माईतीले विहे गरिदिए होलान् भनेर व्याख्या समेत गरेका थिए । तर सफा मनकी टिकालाई उनीहरुको कुराले केही असर गरेन ।
टिकाको विवाह हुँदा उनको घर खरको छानो र ईटा र माटोले टालेकोे थियो । विस्तारै खेतीपाती र पशुपालनमा जोडिदै जाँदा नुनदेखि सुनसम्म जोड्न श्रीमान श्रीमति सफल भए र पछि पक्कि घर निर्माण गरे । भात खान पनि अड्कल्नु पर्ने समयमा उनले कुनै दिन पनि हात कमाईनन् । उनले कमाउनुका साथै श्रीमानलाई थाहा नै नदिईकन सहकारीहरुमा केही रकम बचत गरेकी थिइन्, त्यो रकमले अहिले उनलाई निक्कै साथ दिएको छ ।
विवाह पश्चात उनी सहकारी र समाजसेवासंगै राजनितिमा समेत उत्तिकै सक्रिय भइन् । गाउँका अभिभावक शालिग्राम तिवारी र चोणाप्रसाद चापागाईको साथ र सहयोगले आफु कम्युनिष्ट राजनितिमा लागेको उनी बताउछिन् ।
पढनलाई उमेर र विवाह बन्धनले कहाँ छेक्छ र भने झैँ टिकाले दुई जना नन्दको विवाह पश्चात र छोराहरु विद्यालयमा जान थालेपछि आफ्नो रोकिएको पढाई सुरु गरिन् । उनको श्रीमानले उनलाई कक्षा १० मा कान्ति माध्यमिक विद्यालयमा भर्ना गरिदिए । टिकाको विद्यालयतर्फको यात्रा अगाडि बढदैगर्दा उनको मुहारमा रहेको खुसी त्यति लामो समय टिक्न सकेन । २०६९ साल साउन १४ गते श्रीमानको बुटवलको तामनगरमा बस दुर्घटनामा परि निधन भयो ।
पढनलाई उमेर र विवाह बन्धनले कहाँ छेक्छ र भने झैँ टिकाले दुई जना नन्दको विवाह पश्चात र छोराहरु विद्यालयमा जान थालेपछि आफ्नो रोकिएको पढाई सुरु गरिन् । श्रीमानले उनलाई कक्षा १० मा कान्ति माध्यमिक विद्यालयमा भर्ना गरिदिए । टिकाको विद्यालयतर्फको यात्रा अगाडि बढदैगर्दा उनको मुहारमा रहेको खुसी त्यति लामो समय टिक्न सकेन । २०६९ साल साउन १४ गते श्रीमानको बुटवलको तामनगरमा बस दुर्घटनामा परि निधन भयो । श्रीमानको साथले राजनिति र शैक्षिक क्षेत्रमा लागेकी टिकालाई पतिवियोगले अत्यन्तै पिडा दियो । श्रीमानले बीचमै छोडेर जाँदा उनले केही सोच्नै सकिनन् । छेदविछेद भएको मनलाई समालेर उनले श्रीमानलाई चितामा लगेपछि तेल लगाईदिने लगायतका अन्तिम संस्कारका लागि गरिने हरेक कर्म आफै गरिन् ।
टिकाले युवाहरुको मृत्यु भएको सुनेपनि पहिलो पटक एउटा युवाको मृत्यु भएको देखेकि थिइन्, जो आफ्नै श्रीमान थिए । श्रीमानको ३५ बर्षको युवा अवस्थामा नै मृत्यु भएको देख्दा उनले जीवनमा यस्तो होला भन्ने कल्पना समेत गरेकी थिइनन् । त्यो समयमा टिकाले आफुलाई एकदमै अभागी महसुस गरेकी थिइन् ।
अबको जीवन भनेको संघर्ष र समाज हो भन्ने बुझेकी टिका आफ्ना नन्द र छोराहरु प्रतिको जिम्मेवारीबाट पछाडि नफ़र्किएर उनीहरुलाई पनि सम्हाल्दै अगाडि बढिन् । टिकाले श्रीमानको मृत्यु भएको समयमा कुनै दिन पनि छोराका आखाँबाट आशु झर्न दिईन्न । आमा र बुबा बनेर अभिभावकत्व प्रदान गरिरहेकी टिका भन्छिन, "म मेरा आवश्यकता बरु पुरा गर्दिन तर छोराहरुलाई कुनै चिजमा कमि हुन दिन्न भनेर दुःख गरिरहें ।"

श्रीमानको निधन भएपछि टिका अत्यन्तै कठोर बनिन् । उनी भन्छिन्, "उहाँको निधनमा यति छेदविछेद भएँ, यति रोएँ, यति ठूलो पिडाबाट गुज्रिएँ । त्यो बज्रपातपछि म रुन छोडें । आखिर रोएर केहि हुन्न, आशुँले समस्याको हल दिन्न भने रुने किन ? म रुन छोडें ।"
उनलाई पढाउने श्रीमानको सपना भएको उनी बताउछिन् । उनले जसरी पनि आफुलाई पढाउने श्रीमानको सपना पुरा गर्नुपर्छ भन्ने अठोट गरिन् । उनी भन्छिन्, "उहाँको निधन भएपनि मैले पढाईलाई विट मारिन, मेरो मनमा लाग्यो कि, मेरो श्रीमानको अन्तिम ईच्छा भनेकै मलाई पढाउनु थियो । त्यही सोचर मैले आफनो पढाईलाई निरन्तरता दिएँ ।" उनले २०६९ सालमा बुटवलको कान्ति माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् ।
त्यसैगरि उनले १२ कक्षा घर नजिकैको देवदह माध्यमिक विद्यालयमा गरिन् । टीका कक्षा कोठामा जादा विद्यार्थीहरुले सुरुमा त शिक्षक भनेर बोलाए भने कति विद्यार्थीले त जिस्काएको अनुभव छ । अनुभव सम्झदै उनी भन्छिन्, "जो जस्ले मलाई जिस्काएका थिए, तिनीहरु अहिलेसम्म उत्र्तीण हुन सकेका छैनन ।" त्यस लगत्तै उनले देवदह आर्दश बहुमुखी क्याम्पसमा वि.एडको लागि भर्ना भईन् । सबै कक्षाहरु उनले घरमा बसेर पढेर नै पास गरिन् । उनले विहानको समय घरलाई दिन्थिन दिउँसोमा साना किसान कृषि सहकारी संस्था र अन्य सामाजिक कामलाई निरन्तरता दिदै रातको समयमा उनी पढ्थिन् । उनलाई न त रातको ११ बजेको थाहा लाग्थ्यो, न त १ बजेको नै । उनी रातभरि पढ्थिन् । अहिले उनलाई जेठो छोराले काठमाण्डौ काष्ठमण्डप कलेजमामा मास्टर पढ्नका लागि भर्ना गरिदिएका छन् । जनप्रशासन विषयमा मास्टर गर्न कस्सिएकी टिका घरमा नै अध्ययन गरिरहेकी छन् ।
उनले जसरी पनि आफुलाई पढाउने श्रीमानको सपना पुरा गर्नुपर्छ भन्ने अठोट गरिन् । उनी भन्छिन्, "उहाँको निधन भएपनि मैले पढाईलाई विट मारिन, मेरो मनमा लाग्यो कि, मेरो श्रीमानको अन्तिम ईच्छा भनेकै मलाई पढाउनु थियो । त्यही सोचर मैले आफनो पढाईलाई निरन्तरता दिएँ ।" उनले २०६९ सालमा बुटवलको कान्ति माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् । हाल जनप्रशासन विषयमा मास्टर गर्न कस्सिएकी टिका घरमा नै अध्ययन गरिरहेकी छन् ।
भनिन्छ, दुनियाँ आफु जस्तो हुन्छ, त्यस्तै भइदिन्छ । छोरा र नन्दलाई राम्रो अभिभावकत्व दिएकी उनले माइतीमा आमा, भाई र बुहारीको राम्रो सहयोग पाइन् । टिकाको संगत प्रायजसो अभिभावकहरुकै थियो, जसले गर्दा उनलाई सदैव सकरात्मक बाटोमा मात्र हिड्न प्रेरित गर्यो । समाजमा सबै मान्छे सकारात्मक भावना भएका हुँदैनन् । श्रीमानको मृत्यु भएपछि समाजमा केही व्यक्तिले नराम्रो दृष्टिकोणले उनलाई हेर्ने गरेपनि उनी त्यस्ता व्यक्तिबाट आफु सधै टाढा रहेको र सधै आफ्नो बाटो हिडेको बताउछिन । उनी भन्छिन, "आफु राम्रो भयो भने कसैले केही गर्न सक्दैन ।"
राजनितिमा होमिएकी टिकालाई नगर सरकारमा रहेर समाजसेवा गर्ने रहर भयो । तत्कालिन अवस्थामा उनी संलग्न राजतीतिक दल नेकपा माओवादी केन्द्रले उनलाई २०७४ सालमा देवदह नगरको उपप्रमुख पदमा उम्मेदवारीको टिकट पनि दियो । तर उनी निर्वाचनमा उपविजेता भइन् । अझैपनि उनको राज्यसत्ताको नेतृत्व गर्ने हुटहुटि मरेको छैन ।
अहिलेको टिकाको पहिचान बनेको छ सहकारी । सहकारी अभियान्ताका रुपमा चिनिने टिका न्यौपाने २०६४,२०६५ सालमा नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष बनेर ३ बर्ष, २०६८,२०६९ सालमा पल्लवी साकोसको संस्थापक सचिव भएर ३ बर्ष, २०७१ देखि २०७३ सालसम्म नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर काम गरिन् भने २०७३ साल जेठ ८ गते सम्पन्न साना किसान कृषि तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा निर्वाचित भएर काम गर्न थालिन् । अहिले टिकाले सोहि सहकारीको दोश्रो कार्यकाल पनि सम्हालि रहेकीछन् ।
त्यस्तै २०७४ साल देखि २०७९ सम्म जिल्ला सहकारी संघ रुपन्देहीको सचिव, २०७३ देखि २०७६ सम्म कृषि सहकारी संघको उपाध्यक्ष, २०७९ सालदेखि हालसम्म जिल्ला सहकारी संस्थाको उपाध्यक्ष भएर काम गरेकी छन् । २०७९ देखि हालसम्म कृषि सहकारी संघको अध्यक्ष, २०७७ देखि हालसम्म लुम्बिनी प्रदेश सहकारी बोर्डको संचालक, २०७८ सालमा कृषि सहकारी संघको केन्द्रिय सल्लाहकार र २०८० पुष २७ गतेसम्म राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिमा निर्वाचित भएकी छन् ।
सामाजिक, राजनैतिक क्षेत्रमा अगाडि बढेकी टिकाले २०५९ सालको साउनबाट सृजना सामुदायिक वनको सह–सचिव बनेर सामुदायिक वनको क्षेत्रमा समेत काम गरिरहेकी छन् ।
आफुले खेतीपाती र पशुपालन गरेर भएपनि टिकाले छोराहरुको शिक्षादिक्षामा कुनै कमि गराईन्न । अहिले उनको ठूलो छोरा सिभिल ईञ्जिनियर सकाएर बसेका छन् भने कान्छो छोरा प्लस टु पास गरेर अस्ट्रेलिया गएका छन् । छोराहरुको फि तिर्न पैसा नहुँदा घाटीको सिक्री बेचेर फि तिरेको तितो अनुभव उनीसंग छ । घरको सटरबाट आउने आम्दानी, बहिनी र माईतिकै सहयोगमा अहिले उनको कान्छो छोरा अस्ट्रेलियामा पढ्दैछन् । आफ्ना छोराहरुका लागि पढाईमा र विदेश पठाउदा लागेको ऋण अझै बाँकी नै छ । टिका भन्छिन्, "अब विस्तारै छोराहरुले आफ्नो खुट्टामा उभिएर तिर्नेछन् । ऋण नभएको मानिस को नै हुन्छ र ?" उनी भन्छिन्, "विस्तारै अब हाम्रो दिन पनि फर्कनेछ ।"
अथाह अभाव र संघर्षले आज टिकाको जीवन फेरिएको छ । 'मानिसले धेरै महत्वकांक्षा राख्नु हुदैन, आफ्ना सपनालाई छोड्नु हुँदैन, अठोटसहित सपनालाई पछ्याउंदै जाने हो भने सहि गन्तव्यमा पुगिन्छ' भन्ने सोंच राख्ने टीकाका सबै सपनाहरू पुरा होउन् । शुभकामना ।
नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology