पहाडबाट पछारिदैं, अनेकन हण्डर-ठक्कर खादै, जसरी एउटा ढुंगा सालिग्राम बन्छ । ठिक त्यसैगरी, अभाव, अभिभावकसंगको विछोड र अनगिन्ती व्यवधानसंग जुध्दै एउटी नारीले भन्छिन्, "म यो देशमै बस्छु । म मेरो मातृभूमीको माटोमा नंग्रा खियाउँछु । म अत्तरको सुगन्धसंग होइन, पसिनाको थोपासंग प्रेम गर्छु ।" कलिलो किशोरावस्थादेखि नै कृषि कर्ममा जोडिएर देवदहमा आफ्नै पहिचान स्थापित गरेकी उनी हुन् - दीपा भट्टराई ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका रिडीमा आमा चन्द्रदेवी र बुबा पुर्णबहादुर भट्टराईको कोखबाट बि. सं. २०५१ सालमा कान्छी सन्तानको रुपमा जन्मिएकी दीपा भट्टराई देवदहको कृषि कर्ममा परिचित नाम हो । देवदह–४ भवानीपुरमा एक दशक यता उनी मेहनत र परिश्रमबाटै आफ्नो परिचय स्थापित गर्ने अभियानमा छन् । श्रमजिवी दीपाले उत्पादन गरेका तरकारीका बिरुवा देवदहका धेरैजसो करेसाबारीमा पाईन्छ भने अधिकांश भान्सामा दीपाले फलाएको च्याउ पुग्ने गर्छ । औपचारीक रुपमा कक्षा १२ सम्म अध्ययन गरेकी दीपाको कृषि कर्मको अनुभव कुनै डिग्रीभन्दा कम छैन ।
आफ्नो बुवाले गरेको कृषिबाट देखासिकी गरेर सुरु भएको दीपाको ब्यवसायिक कृषि यात्रा भने आर्थिक समस्याका कारण पढाईलाई निरन्तरता दिन नसकेपछि सुरु हुन्छ । हुन त उनीसंग ९-१० बर्षकै उमेरमा बुटवलको हाटबजारमा तरकारी बेचेको अनुभव पनि छ । आमासंगै पछि लागेर हाटबजार जाने दीपाले आमाले लगेको तरकारी बेचेर सकेपछि अरु ब्यापारीलाई समेत सघाउन भ्याउँथिन्, जसबाट उनलाई ब्यापारीहरुले पैसा समेत दिने गर्थे । एक बोरा आलु बेचिदिए बापत ब्यापारीले १५ रुपैंया आफुलाई दिएको सम्झना उनलाई आज पनि ताजै छ ।
काम गर्ने क्रममा कहिलेकाँहि सामान्य असफलता हात लाग्नु ठुलो कुरा नभएको ठान्ने दीपाले त्यसलाई भाग्यले लिएको परिक्षा ठान्छिन् । उनी भन्छिन्, "आज भएन भनेर मन दुखाउने होइन, एकदिन समय आउँछ । निरन्तरताले पक्कै पनि सफलता दिलाएर छाड्छ, म त्यसमा आशावादी छु ।"
जीविकोपार्जनका लागि रिडीबाट बुटवल झरेकी दीपा रोजगारीको सिलसिलामा आमा भारततर्फ लागेपछि देवदह आइन् । आफ्नो बुवाको दुईवटा परिवार रहेको र बुवा कान्छी आमासंग देवदहमा बसेकाले उनी पनि २०६० यता देवदहको भवानीपुरमा बस्दै आएकी छन् । २०६६ सालमा स्थानिय महामाया भवानी माविबाट एसएलसी परिक्षा उत्तीर्ण गरेकी दीपाले बिजुली वायरिङ्गको तालिम समेत लिएकी छन् । दीपा भन्छिन "म १४ बर्षकी हुँदा बुवाको निधन भयो, आमा भारतबाट फर्किएपछि परिवारको खर्च धान्न समस्या प¥यो, स्वरोजगार बन्नको लागि वायरिङ्ग तालिम लिएँ । तालिम सकेपछि केहि समय सो काम गरेपनि निरन्तरता दिन सकिएन ।" कृषि पेशाबाटै आत्मनिर्भर हुन सकिन्छ भन्ने अठोटका साथ अगाडी बढेकी दीपा अन्तिम सास रहुन्जेलसम्म कृषि पेशामा रहने प्रण गरेकी छन् ।
बुवाको निधनपछि सुरुमा काम गर्दा आफुसंग पैसा नभएकाले छिमेकि बैंकबाट २०७० सालमा १५ हजार रुपैंया आमाको नाममा ऋण निकालेर कृषि पेशा सुरु गरेकी दीपाले च्याउ खेती तथा बेमौसमि तरकारी खेती गर्ने गर्छिन् । भवानीपुरमा आमासंगै बस्ने दीपा मेहेनत गरेर कहिल्यै नथाक्ने नारी हुन् । उनी घाम, पानी र चिसो नभनी माटोसंग लडिरहन्छिन् । बिहान उठेदेखि साझ ननिदाउने बेलासम्म दिपा कृषि कर्ममा नै रमाउँछिन् ।
औपचारिक रुपमा त्यति ठुलो तालिम नलिएकी दीपाले अरुले गरेको काम हेरेर आफुले सिक्ने गरेको र धेरै कुरा सानोमा बुवाले गरेको काम हेरेर जानेको बताउँछिन् । सामाजिक सञ्जाल र युट्यूबबाट हेरेर च्याउ खेती सिकेकी उनले कृषिलाई प्रविधिसंग जोड्नुपर्ने सुझाब दिन्छिन् । निरन्तर रुपमा कृषि गरिरहेकी दीपा पछिल्लो समयको आर्थिक मन्दि र बजारको अस्वस्थ प्रतिष्पर्धाका कारण चिन्तीत छन् । उनी भन्छिन्, पहिले त च्याउबाट राम्रै आम्दानी हुन्थ्यो तर केहि समययता विचौलियाले गर्दा सोचे जति प्रतिफल पाउन सकिएको छैन ।"
२०७१ सालमा नयाँ काम गर्ने सोँच सहित दीपा कुखुरा पालन ब्यवसायमा समेत लागिन् तर त्यहाँबाट पनि सोचेजस्तो प्रतिफल पाउन नसकेपछि उनलाई ७ लाख रुपैंया घाटा भयो । बिभिन्न सहकारी संस्थाबाट ऋण लिएर सो घाटा पुर्ति गरिरहेकी दीपाले उक्त ऋण अहिलेसम्म तिरेर सकेकि छैनन् । कतिपय सहकारीलाई बिरुवा बेचेर ऋण घटाएपनि २०७८ सालमा सहकारीका लागि उत्पादन गरेका २० हजार बिरुवा सहकारीले नलगेर त्यतिकै खेर गएपछि आफु थप मारमा परेको दीपाले गुनासो गरिन् । सहकारीहरुले बिरुवा उत्पादनको लागि सूचना जारी गरेको र सोही सूचना बमोजिम आफुले उत्पादन गरेपनि उक्त बिरुवा सहकारीहरुले खरिद नगरेपछि आफुलाई थप घाटा भएको दीपा बताउँछिन् ।
कुखुरा, च्याउ तथा बिरुवा उत्पादनबाट लागेको ऋणले आफुलाई मानसिक रुपमा समेत समस्या पारेको दीपा बताउँछिन् । "कहिलेकाँहि त नेपालमा बसेर केहि हुन्न कि जस्तो लाग्छ, बिदेश जान भनेर पासपोर्ट पनि बनाएकि छु, बैदेशिक रोजगारीमा जानको लागि घर बन्धकी राखेर ऋण समेत खोजें तर खोई अन्तिममा मनले मान्दै मानेन, यो मनले विदेश न'जा भन्छ । आफुले च्याउ खेतीका लागि बनाएका टनेल देखाउँदै दीपाले उनी भन्छिन्, "बि.सं २०७२ सालमा १० वटा बलबाट च्याउ खेती सुरु गरेकि हुँ, २ बर्ष अघि ३६ सय बल बनाएर च्याउ खेती गरेँ तर कामदारको लापरवाहीका कारण घाटा लाग्यो ।" यो बर्षपनि दिपाले छिमेकीसंग १२ हजार रुपैंया सापटी लिएर १ हजार बलमा च्याउ राखिन् र त्यसबाट केहि आम्दानी भयो ।" दीपा कृषि कर्मकै कारण आज ऋणले घेरिएकि छन् । तर एकदिन सबै ऋण तिरेर सफल कृषि उद्यमी बन्ने उनको अठोटमा परिवर्तन आएको छैन । उनी भन्छिन "पटक पटक कृषिमा घाटा लागेको भएपनि काम गर्दाको ऋण हो, एकदिन त कसो नतिरिएला र ?"
पछिल्लो समय साहु र सहकारीहरूले ऋण तिर्नका लागि ताकेता गर्दा आफु बिच्छिप्त बनेको उनले गुनासो गरिन् । आफुले कुनै नराम्रै काम गरेर लगाएको ऋण नभएको र मेहनतबाटै उक्त ऋण चुक्ता गर्ने अठोटका साथ फेरीपनि तरकारी खेतीमा होमिएकी दीपाले मानसिक दवावका कारण ८ महिना जति घरबाट बाहिर ननिस्किएको र फोन तथा सामाजिक सञ्जालबाट समेट टाढा रहेको सुनाईन् । "मसंग पैसा थिएन, म बिरामी परेर घरमै बसेकि थिए, पूर्व नगरप्रमुख हिराबहादुर खत्रीले थाहा पाउनुभएछ । उहाँलेनै अस्पताल लगेर उपचार गराईदिनुभयो । उहाँकै हौसलामा फेरी एकपटक तरकारी खेती गर्ने जमर्को गरेको छु" दीपाले आफ्नो दु:ख पोखिन् ।
नेपालमै केही गरेर देखाउने अठोटका साथ अघि बढिरहेकी दिपाले अहिले १० बर्षे ब्यावसायिक योजना बनाएर काम सुरु गरेको बताउँछिन् । काम गर्ने क्रममा कहिलेकाँहि सामान्य असफलता हात लाग्नु ठुलो कुरा नभएको ठान्ने दीपाले त्यसलाई भाग्यले लिएको परिक्षा ठान्छिन् । उनी भन्छिन्, "आज भएन भनेर मन दुखाउने होइन, एकदिन समय आउँछ । निरन्तरताले पक्कै पनि सफलता दिलाएर छाड्छ, म त्यसमा आशावादी छु ।"
कृषकले उत्पादन गरेका सामग्रीले बजार नपाउने पछिल्लो अवस्थालाई दिपाले समस्याको रुपमा औंल्याएकि छन् । उनी भन्छिन् "स्थानिय सरकारले कृषकका समस्या समाधान गर्ने हो भने अनुदानमा नभई कृषकका उत्पादनलाई बजारीकरण गर्ने निति ल्याउनुपर्छ ।" देवदहको हकमा करोडौ खर्चिएर निर्माण सम्पन्न भएको कोशेलि भवन अहिलेसम्म संचालन हुन नसक्नु देवदहका किसानको चिन्ताको बिषय बनेको उनको गुनासो छ । देवदह ७ मा रहेको कोसेली भवनको भाडा अत्याधिक महङ्गो भएको गुनासो गर्दै उनी भाडाको मूल्य घटाउन नगरपालिकासंग उनको आग्रह गरिन् ।
घरमा दुई जना दाजुभाई भए पनि उनीहरु घरदेखि बाहिर रहेको र ४ दिदीहरु विवाह गरेर गइसकेकाले अहिले आमाको काखमा दिपा मात्रै छन् । दिपाको काममा आमाले पनि सहयोग पु¥याउँछिन् । दिपाले उत्पादन गरेका च्याउ र तरकारी बजारमा लगेर विक्री गर्ने काम आमाले गर्छिन । पहिला दिपाको बसाई कच्चि घरमा थियो आज भोलि दीपा र उनकी आमा जस्ताले छाएको पक्कि घरमा बस्छन् । छोरा मान्छेले जस्तो कपाल काट्ने र मोटरसाईकल चलाएर हिँड्ने दिपाले बिवाहको बारेमा भने हालसम्म सोचेकि छैनन् । उनि भन्छिन् "बिवाह गर्ने, नगर्ने हरेकको ब्यक्तिगत कुरा हो । जीवन काट्नलाई विवाह नै गर्नुपर्छ भन्ने छैन ।" केही अविवाहित महिला नेतृको उदाहरण दिंदै उनी भन्छिन् "जीवन एक्लै जीउने हो र मस्त रहने हो ।"
कृषिमा अझ धेरै कुरा सिक्न बाँकी रहेको बताउने दीपाले आफुलाई नयाँ नयाँ कुरा सिक्न नेपालका विभिन्न भुभाग र विदेशमा जाने रहर भएको बताउँछिन् । कृषकलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याएसम्म समाज परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उनी भन्छिन, "कुकुर पाल्नेलाई बरु मानिसले सम्मान गर्छ तर कृषकको मेहनत देखेर हाँस्छ ।" नेपालमा हरेक बर्ष करोडौ रुपैंयाको सयपत्री फूल आयात हुने बताउँदै पछिल्लो समय दीपा सयपत्री फूल पनि उत्पादन गर्ने योजनामा छिन् । आफुलाई कृषि उद्यमी भन्न रुचाउने दीपा आगामी तिहारमा सयपत्री फूल र मालामय देवदह बनाउने सोचमा रहेकि छन् । सयपत्री फूलको ब्यवसायिक उत्पादनको तयारी गरिरहेकि दिपालाई सफलताको शुभकामना ।
नोट : नारी नेतृत्व स्तम्भ देवदह नगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम र सेतोमसीको सहकार्यमा संचालित लेखन कार्यक्रम हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology