११ जेठ काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हवाइ उडान सहज बनाउन आग्रह गरेको छ । एनआरएनएले प्रेस विज्ञप्ती जारी गर्दै
पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेकोछ ।
नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । जसका कारण विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका छन् ।
यसका साथै विदेशबाट नेपाल फर्कदा नेपाली दुताबासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजिकरण गरिदिन समेत यो संघ सरकारसँग अनुरोध गर्दछ विज्ञप्तीमा भनिएको छ ।
एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तीमा वैश्विक रुपमा फैलिएको कोरोना महामारीको चपेटामा नेपाल गाँजिदै गएको अवस्थामा विदेशस्थित गैरआवासीय नेपालीहरु अत्यन्त चिन्तित रहेको जनाएइको छ ।
यही गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघले आफ्नो विश्वव्यापी सञ्जाल मार्फत नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियान सञ्चालन गरी आर्थिक तथा स्वास्थ्य सामग्री नेपाल पठाउने क्रम जारी छ । यही अभियानमार्फत ओमानबाट ५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकिएको छ । यस्तै चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्याउने पहल भइरहेको छ । साथमा विभिन्न राष्ट्रिय समन्वय परिषदमार्फत पनि स्वास्थ्य सामाग्री खरीदका लागि प्रतिबद्धता आएको जानकारी गराउँदछौं विज्ञप्तीमा भनिएको छ ।
यो संगै यस अभियानको निरन्तरता र यसलाई थप परिष्कृत बनाउने उद्देश्यका साथ गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार ९२३ मे २०२१० बसेको संघका राष्टिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै तीव्र रुपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको बताइएको छ ।
यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology