देवदह । रुपन्देहीको देवदहमा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले १३ जना विपन्न उपभोक्ताको स्वास्थ्य विमा गरिदिने भएको छ । आइतबार सम्पन्न वनको १५ औँ वार्षिक साधारण सभामा उक्त कुराको जानकारी दिइएको हो ।
वनले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने कार्यक्रमहरुको सूचिमा विपद व्यवस्थापन, खेलकुदका लागि सहयोग, घाटगद्धि, डढेलो नियन्त्रण लगायतका नियमित कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि १,५२, ०७, ६९२ (एक करोड बाउन्न लाख सात हजार छ सय बयानब्बे) रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । संस्थाले सालको गोलिया बिक्री, दाउरा बिक्री र सदस्यता शुल्कबाट आम्दानी गर्ने र वन विकास, महिला सशक्तिकरण तथा गरिबी निवारण, सामाजिक विकासको क्षेत्रमा खर्च गर्ने योजना अघि सारेको छ ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण बिडारीले बुद्ध सामुदायिक वन सधैँ उच्च स्थानमा रहेको बताए ।
उनले सामुदायिक वनले वन पैदावार र नदीजन्य पदार्थको संरक्षणको काम गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा सामुदायिक वन महासंघका अध्यक्ष श्यामकला आचार्य, गाउँ वन समन्वय सञ्जाल रूपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता र लेखा संयोजक सन्तोष भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा ४३ जना जेष्ठ नागरिक, ३३ जना फरक क्षमता भएका व्यक्तिलाई सम्मान गरिनुका साथै युग ज्योति माविलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
साधारण सभाको अवसरमा निशुल्क स्वास्थ्य शिविर पनि गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology