देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह-५, रुपन्देहीले आगमी पुस ६ गते शनिवारका दिन गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सव तथा स्मारिका विमोचन कार्यक्रम गर्ने भएको छ ।
शनिवार सामुदायिक वनको प्रङगणमा पत्रकार सम्मेलन गर्दै आयोजकले ६ गते हुने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम हुने र सो कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेत नारायण आचार्यले समुद्घाटन गर्ने बताइएको छ ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउने उद्देश्यले चर्चित लोक तथा दोहोरी गायक श्याम राना, सालैजो किङ राजु गुरुङ, लोक दोहोरी गायिका भूमिका गिरी र चर्चित जादुगर शेर बहादुर गुरुङको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सो क्रममा वनका अध्यक्ष टेक बहादुर रानाले उक्त कार्यक्रम गर्दा करिब ५ लाख रुपैयाँ खर्च हुने र करिब ५ देखि ७ हजार दर्शकको आगमन हुने आकलन गरेको बताए । कार्यक्रममा बोल्दै उनले वातावरणीय क्षेत्रमा योगदान पुऱ्याए बापत गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गरेको बताउँदै यस कार्यक्रमले देवदहको पर्यटनमा धेरै सुधार हुने बताए ।
उनले पार्कमा बर्सेनि १ लाख पर्यटकको आगमन हुँदै आएको र महोत्सवलाई भव्य बनाउन कार्यक्रममा आउने पर्यटकलाई निःशुल्क प्रवेश हुने जानकारी गराए । अध्यक्ष रानाले महोत्सवमा विभिन्न प्रकारका सामूहिक खाना नास्ताको व्यवस्था रहेको समेत बताए ।
वनका उपाध्यक्ष थमन सिंह गुरुङको स्वागत र लेखा समिति संयोजक सन्तोष भट्टराइको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology