देवदह । रोटरी क्लब अफ देवदहको आयोजनामा शनिबार पोलियो सचेतना र्याली सम्पन्न भएको छ । विश्वलाई पोलियोमुक्त बनाउने अभियानप्रति ऐक्यबद्धता जनाउँदै क्लबले र्याली आयोजना गरेको क्लबका कार्यक्रम संयोजक अर्जुन न्यौपानेले बताए ।
'पोलियो अन्त्य गरौँ' भन्ने नारासहित आयोजित र्याली देवदह–५ स्थित खैरेनी चोकबाट सुरु भई खैरेनी, भलुही, रामनगर चोक, भवानीपुर, ६ नम्बर चोक र ज्यामिरे हुँदै पुनः खैरेनी चोकमा पुगेर समापन भएको हो ।
र्यालीमा करिब १०० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष नारायण भण्डारीले बताए । अध्यक्ष भण्डारीले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने र यस अभियानमा समुदायको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले पोलियो उन्मूलन अभियानमा रोटरी इन्टरनेसनलले निर्वाह गरेको भूमिकाको चर्चा गरे । उनले पोलियोविरुद्धको विश्वव्यापी अभियानमा रोटरीले विभिन्न संस्था तथा समुदायसँग सहकार्य गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
र्यालीमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, रोटरी डिस्ट्रिक्ट एडभाइजर एजाज आलम, नगर प्रवक्ता गणेश डुम्रे, क्लबका चार्टर प्रेसिडेन्ट जयकिसन अधिकारी, देवदह प्रेस क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेल, देवदह साइकल राइडर्स संघका अध्यक्ष ऋषि सापकोटा र देवदह जिम हाउसका सञ्चालक मनोज ज्ञवालीलगायत सहभागी थिए । क्लबका पास्ट प्रेसिडेन्टसंगै नगर र विद्यालयस्तरिय इन्टर्याक्ट क्लबहरू पनि कार्यक्रममा सहभागी थिए ।
रोटरी क्लब अफ देवदहको आयोजना गरेको कार्यक्रममा देवदह साइकल राइडर्स क्लब, देवदह प्रेस क्लब र देवदह जिम एन्ड फिटनेस सेन्टरको सहकार्य रहेको थियो ।
रोटरी इन्टरनेसनलले सन् १९८५ मा ‘पोलियो प्लस’ अभियान सुरु गरेको थियो । सन् १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफलगायतका साझेदार संस्थासँग मिलेर विश्वव्यापी पोलियो उन्मूलन अभियान अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
नेपालमा सन् २०१० अगस्ट ३० मा अन्तिम पोलियो सङ्क्रमणको घटना देखिएको थियो । सन् २०१४ मार्च २७ मा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रलाई पोलियोमुक्त प्रमाणित गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology