देवदह । रोटरी क्लब अफ देवदहको वर्ष २०२६/२७ का लागि निर्वाचित अध्यक्ष नारायण भण्डारीले अध्यक्षको पदभार ग्रहण गरेका छन् । शनिवार आयोजित १०औँ पदस्थापना समारोहमा नयाँ नेतृत्वको पदस्थापनासँगै आगामी कार्ययोजना सार्वजनिक गरिएको क्लबले जनाएको छ ।
क्लबका डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरीले नयाँ नेतृत्वलाई पद तथा गोपनीयताको शपथ गराउँदै औपचारिक रूपमा पदस्थापना गराए । गिरीले रोटरीले समाजमा सेवा, नेतृत्व विकास र सकारात्मक परिवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै रोटरी क्लब अफ देवदहको नयाँ नेतृत्वले समुदायमा थप प्रभावकारी र उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्पोन्सर क्लबका अध्यक्ष धर्मदत्त ज्ञवाली, जिल्ला पदाधिकारी राजेन्द्र ढकाल, असिस्टेन्ट गभर्नर शिव ज्ञवाली, पूर्वअध्यक्ष तथा रोटरीका विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारीले नवनिर्वाचित अध्यक्ष भण्डारीको परिचय गराएका थिए । त्यसपछि अध्यक्षलाई रोटरी कलर, गेभललगायतका जिम्मेवारीका प्रतीक सामग्री हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष भण्डारीले रोटरी वर्ष २०२६/२७ का लागि आफ्नो कार्ययोजना प्रस्तुत गर्दै 'दिगो प्रभाव सिर्जना गरौँ' भन्ने मूल नारासहित रोटरीका सातवटा फोकस क्षेत्रलाई आधार बनाएर समुदायमा दीर्घकालीन प्रभाव पार्ने परियोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नारामा मात्र सीमित नभइ व्यवहारमै शिक्षा, स्वास्थ्य, वातावरण, युवा नेतृत्व विकास तथा सामुदायिक सेवामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने बताए ।
समारोहमा क्लबको महत्वाकांक्षी सामाजिक परियोजना ‘स्वर्ग यात्रा’ को औपचारिक उद्घाटन पनि गरिएको छ । पूर्वअध्यक्ष डा. सुन्दर पाण्डेले उद्घाटन गरेको उक्त परियोजनाअन्तर्गत दिवंगत व्यक्तिको शव तथा परिवारका सदस्यलाई सम्मानजनक र सहज रूपमा गन्तव्यसम्म पुर्याउन विशेष सवारी साधनको व्यवस्था गरिने क्लबले जनाएको छ ।
कार्यक्रममा सात जना नयाँ सदस्यलाई औपचारिक रूपमा क्लबमा आबद्ध गराउँदै इन्डक्सन गरिएको छ । उनीहरूले रोटरीको सेवा भावना, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समुदायको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समारोहमा रोटरी वर्ष २०२५/२६ का अध्यक्ष डोलराज न्यौपानेको नेतृत्वमा सम्पन्न भएका गतिविधिको समीक्षा गर्दै उनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव रामचन्द्र उपाध्यायले गरेका थिए भने धन्यवाद ज्ञापन दम्मरबहादुर गुरुङले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology