गण्डकी प्रदेशको स्याङ्जा जिल्ला प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिक महत्त्वले भरिपूर्ण नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये एक हो । ग्रामीण सडक पूर्वाधार अझै पूर्णरूपमा विकसित हुन नसकेको भए पनि स्वरेक मैदान आज आन्तरिक पर्यटकहरूको पहिलो रोजाइ बन्दै गएको छ ।
वालिङ बजारबाट करिब ११ किलोमिटर तथा बहेरघारीबाट करिब ९ किलोमिटर सडक यात्रा गरेपछि स्वरेक मैदान पुगिन्छ । दुवै तर्फको करिब आधा सडक कालोपत्रे भइसकेको छ, जसले यात्रा अझ सहज बनाएको छ ।
मैदानभन्दा केही तल अवस्थित स्वरेककोट स्थानीय धार्मिक आस्थाको केन्द्र हो । यहाँ स्थानीयवासीहरूले परम्परादेखि कोट पूजा गर्दै आएका छन् । यही ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका कारण यस क्षेत्रको नाम स्वरेक रहन गएको मानिन्छ, र यही मैदान आज स्वरेक मैदान का रूपमा प्रसिद्ध छ ।
प्रकृतिको अनुपम सौन्दर्य:
स्वरेक मैदान शीतल हावा, स्वच्छ वातावरण र मनोरम दृश्यले भरिपूर्ण स्थान हो । यहाँबाट वालिङ, बहेरघारी हुँदै बग्ने आँधीखोलाको सुन्दर दृश्य, आधुनिक वालिङ बजार, बाहुनथान तथा उत्तरतर्फ धौलागिरि, नीलगिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको अनुपम दृश्य अवलोकन गर्न सकिन्छ ।
मैदानको सबैभन्दा अग्लो भागबाट दक्षिणतर्फ पाल्पाका पहाडहरू, पश्चिमतर्फ पर्वत जिल्लाका रमणीय डाँडाहरू तथा पूर्वतर्फ स्याङ्जा, कास्की र तनहुँका हरियाली पहाडहरू देख्न सकिन्छ । चारैतिर फैलिएको यो प्राकृतिक दृश्यले जो–कोहीलाई स्वर्गीय आनन्दको अनुभूति गराउँछ ।
अर्गानिक स्वाद र आत्मीय आतिथ्य
यस क्षेत्रमा सुविधासम्पन्न आवासीय होटलको व्यवस्था छ । प्रयाप्त मात्रामा सुन्तला उत्पादन हुने क्षेत्रमध्ये एक भएकाले यहाँका रसिला सुन्तलाको स्वाद अविस्मरणीय हुन्छ। साथै कोदो, मकै, फापर, काक्रा, नास्पाती, स्क्वास लगायतका स्थानीय अर्गानिक उत्पादनले पाहुनाको मन जित्छन् ।
शहरको कृत्रिम र विषादीयुक्त खानाबाट टाढा, यहाँको शुद्ध स्थानीय परिकारले शरीर र मन दुवैलाई सन्तुष्टि दिन्छ ।
योग, ध्यान र मानसिक शान्तिको अनुपम स्थल
बिहानको शीतल हावा, सेता बादल, चरा–चुरुङ्गीको मधुर आवाज र आकाशमा उडिरहेका प्याराग्लाइडिङसँगै स्वरेक मैदानमा योग, ध्यान र साधना गर्नु आफैंमा अनुपम अनुभव हो ।
मानसिक तनाव, चिन्ता वा थकानबाट गुज्रिरहेका व्यक्तिलाई केही दिन यहाँ बस्न पाए मनमा नयाँ ऊर्जा सञ्चार हुन्छ। प्रकृतिको काखमा ध्यान गर्दा रिस, राग, अहंकार र आवेग विस्तारै हराउँदै मन शान्त, प्रेम, दया र करुणाले भरिन्छ ।
प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य
सदाबहार हरियालीले ढाकिएको स्वरेक मैदान प्याराग्लाइडिङका लागि पनि अत्यन्त उपयुक्त स्थान हो । यहाँबाट उडान भरेपछि डुम्रेभञ्ज्याङ, भुर्तेलथोक, बायखोला, सिर्कोटफाँट, थाना, साउन्दी, काभ्रे, चराङ, पाखुरे, ठूलीभञ्ज्याङ, ओकादी, गडहरे, आङमाङ, ज्यामिरे लगायतका रमणीय गाउँहरू अवलोकन गर्दै आँधीखोलाको किनारमा रहेको वालिङ बजारमा अवतरण गर्न सकिन्छ ।
रहस्यमय गडहरे गुफा
स्वरेक मैदानबाट करिब १५ मिनेट गाडी यात्रा वा ३० मिनेट पैदलपछि पुगिने गडहरे गुफा यस क्षेत्रको अर्को अद्भुत आकर्षण हो ।
हालसम्म स्थानीय जनप्रतिनिधि र भूगर्भविद्हरूले करिब ६७८ मिटरसम्म यसको मापन गरेका छन्, तर सम्पूर्ण गुफाको अध्ययन अझै पूरा भएको छैन ।
गुफाभित्र प्रवेश गरेलगत्तै प्राकृतिक रूपमा बनेका आकर्षक आकृतिहरू देख्न सकिन्छ । कतै शिवलिङसँग मिल्दोजुल्दो संरचना, कतै विभिन्न कलात्मक शिलारूप, कतै जनावरका आकृति, कतै महल वा धरहरासँग मिल्ने प्राकृतिक बनोटले आगन्तुकलाई आश्चर्यचकित बनाउँछ ।
भित्र सानो जलाशय, लाखौँ चमेरा, साँघुरा मार्ग, चम्किला चट्टान र अनगिन्ती प्राकृतिक आकृतिहरूले यस गुफालाई साहसिक पर्यटनका लागि अत्यन्त आकर्षक बनाएका छन् ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार भूगर्भविद्हरूले अध्ययन गर्दा विश्वका धेरै प्रकारका गुफामा पाइने विशेषताहरू यस गुफामा रहेको र पर्याप्त अक्सिजनका कारण लामो दूरीसम्म अध्ययन गर्न सकिने सम्भावना रहेको बताएका छन् ।
पर्यटन विकासको अथाह सम्भावना
यदि स्वरेक मैदानसम्म पुग्ने सडक पूर्ण रूपमा कालोपत्रे गर्न सकियो भने हजारौँ आन्तरिक तथा बाह्य पर्यटक, प्याराग्लाइडिङका प्रशिक्षार्थी तथा साहसिक पर्यटनका पारखीहरू यहाँ आकर्षित हुने निश्चित छ ।
हाल गर्मीयाममा हजारौँ पर्यटक पोखरा र मुक्तिनाथसम्म पुग्ने गरेका छन् । पोखरा र बुटवलको बीचमा रहेको यो अनुपम पर्यटकीय क्षेत्रलाई संघीय, प्रदेश तथा स्थानीय सरकारले आवश्यक पूर्वाधारसहित प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सके यस क्षेत्रका हजारौँ नागरिकले रोजगारी पाउने, होमस्टे, रिसोर्ट र स्थानीय उत्पादनले राम्रो बजार पाउने तथा समग्र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्नेछ ।
प्राकृतिक सौन्दर्य, आध्यात्मिक शान्ति, साहसिक पर्यटन, अर्गानिक स्वाद र रहस्यमय गुफाको अनुपम संगम हो- स्वरेक मैदान । एकपटक अवश्य पुगौँ, प्रकृतिको काखमा स्वर्गीय आनन्दको अनुभूति गरौँ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology