देवदह । देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले दीर्घकालीन रुपमै उपभोक्तालाई शुद्ध र सहज ढंगले खानेपानी उपलब्ध गराउने लक्ष्यसहित नगर अघि बढिरहेको बताएका छन् ।
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ९औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा बोल्दै नगर प्रमुख खरेलले देवदह नगरपालिकालाइै ‘एक घर-एक धारा’ युक्त नगर बनाउने लक्ष्य रहेको बताए । त्यसको लागि पाल्पा जिल्लाको माथागढीबाट खानेपानी ल्याउने योजना रहेको उनले जानकारी दिए ।
नगर प्रमुख खरेलले देवदहमा रहेका खानेपानी संस्थाहरुले खानेपानी सुरक्षा योजनामा विशेष जोड दिँदै मुहानदेखि उपभोक्ताको घरसम्म गुणस्तरीय खानेपानी पुर्याउनुपर्ने आवश्यकता औंल्याए । उनले खानेपानी संस्थालाई आवश्यक सहयोग गर्न नगर सधै प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका रुपन्देही जिल्ला अध्यक्ष ध्रुब कुमार धितालले ‘सबैको लागी सधैको लागी खानेपानी’ भन्ने नारा सहित उपभोक्तालाई स्वच्छ ढंगले पिउने पानीको प्रबन्ध मिलाउने योजना सहित महासंघ लागिरहेको धारणा राखे ।
सभामा संस्थाका अध्यक्ष गुमान सिंह कुँवर क्षेत्रीले प्रतिवेदन प्रस्तुत गर्दै बढ्दो शहरीकरण सङ्गै घरहरु थपिने क्रम निरन्तर रहेको र खानेपानीको माग समेत तीब्र भएको जानकारी दिए । अध्यक्ष कुँवर क्षेत्रीले देवदह नगरपालिकाको सहयोगमा नगर स्तरीय ल्याव स्थापना गरि सञ्चालन भैरहेको र खानेपानीलाई थप परिस्कृत गर्दै लैजाने योजना बनाएको उल्लेख गरे ।
साधारणसभामा सचिव हरी पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्तालाई सफा र सुरक्षित खानेपानीको प्रबन्ध मिलाउन प्रतिबद्ध रहेको बताए । सचिव पाण्डेले देवदह -८ टटेराबाट देवदह -७ शितलनगरमा पानी संकलन गर्न रिजर्भवायर टंकी निर्माण र सरनबारीमा पानी वितरण गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने योजना अगाडी बढाएको बताए ।
कोषाध्यक्ष कृष्ण ज्ञवालीले संस्थाको दुई करोड १२ लाख ७७०।६४ रुपैयाँ बराबरको आय-व्यय विवरणसहित आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मितव्ययी खर्च नीति अवलम्बन गरिएको बताए ।
उपाध्यक्ष अनिशा लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।
२०६२ सालमा स्थापना भएको संस्थामा हालसम्म ५ हजार ९३६ उपभोक्ता रहेका छन् । करिब ६ हजार घरधुरीमा धारा जडान गरिसकेको संस्थाले ८ वटा डिप बोरिङमार्फत उपभोक्तालाई २४ सै घण्टा पानी वितरण गर्दै आएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology