देवदह । देशका अन्य क्षेत्रमा जस्तै रुपन्देही क्षेत्र नं १ मा पनि निर्वाचन सरगर्मी बढ्दो छ । उम्मेदवार र दलका कार्यकर्तालाई प्रचार प्रसार गर्न भ्याइनभ्याई छ । आफ्ना एजेन्डा जनतासम्म राख्न मात्र नभई आफु इतरका दल र उम्मेदवारको आलोचना गर्न समेत नेता–कार्यकर्ता जोडतोडले लागिरहेका छन् ।
यसै सन्दर्भमा वाम शक्तिहरुको एकता पश्चात तत्कालिन नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका माधव कुमार नेपालको नेतृत्वमा बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) २०७० सालपछि पहिलो पटक आफ्नै पार्टीको उम्मेदवारसहित रुपन्देही-१ को चुनावी मैदानमा छ । २०६४ सालमा निर्वाचन जितेको माओवादीले २०७० सालको संविधान सभा निर्वाचनमा उम्मेदवार उठाएपनि २०७४ र २०७९ मा आफुलाई सहयोगी भूमिकामा उभ्यायो । २०७४ मा एमाले र माओवादीको देशव्यापी भागवण्डामा यो क्षेत्र एमालेको भागमा पर्यो र सो पार्टीका नेता छविलाल विश्वकर्मा उम्मेदवार भइ निर्वाचन जिते ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा तत्कालिन माओवादीले मात्र होइन, देशकै सबैभन्दा ठुलो र पुरानो पार्टी नेपाली कांग्रेस र पहिलो पटक निर्वाचन लडेको एकीकृत समाजवादी समेत उम्मेदवारबिहिन भए । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको देशव्यापी गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेको भएपनि स्वतन्त्र उम्मेदवारी दिएका तत्कालिन अवस्थामा एमालेका विद्रोही नेता घनश्याम भुसाललाई माओवादीले समर्थन गर्दै उम्मेदवारी दिएन ।
क्षेत्र नं १ को भुगोल र नेकपाको वर्तमान अवस्था
क्षेत्र नं १ मा देवदह, तिलोत्तमा, रोहिणी र ओमसतियाका ३३ वटा वडा समावेश छन् । जसमा देवदहका सबै १२ वटा वडा, तिलोत्तमाका वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतियाका १, ३, ४, ५, ६ तथा रोहिणी गाउँपालिकाका सबै ७ वटा वडा यस क्षेत्रमा पर्दछन् ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार रुपन्देही क्षेत्र नं १ मा फाल्गुन २१ को निर्वाचनमका लागि राजनीतिक दलबाट २० जना र स्वतन्त्रबाट ११ जना गरि कुल ३१ जनाको उम्मेदवारी परेको छ ।
रुपन्देही-१ मा नेपाली कम्यूनिष्ट पार्टीका सदस्य ४०४७ सदस्य रहेका छन् । नेकपा देवदह संयोजक दिपक न्यौपानेका अनुसार देवदहका १२ वटा वडामा १८२७, क्षेत्र नं १ अन्तर्गत पर्ने तिलोत्तमाका ९ वटा वडामा ४११, रोहिणीका ७ वटा वडामा ८०० जना र ओमसतियाको क्षेत्र नं १ अन्तर्गत पर्ने ५ वटा वडाहरुमा १००९ जना संगठित पार्टी सदस्य नेकपामा रहेका छन् ।
२०७९ को समानुपातिक मत
२०७९ सालको समानुपातिक मत हेर्दा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले क्षेत्र नं १ मा जम्मा २६०० मत प्राप्त गरेको छ । एकिकरण पछिको अवस्थालाई हेर्ने हो भने हालको नेकपामा नागरिक उन्मुक्ति पार्टी (पूर्ण रुपमा नेकपामा समायोजित), जनता समाजवादी पार्टी (अध्यक्ष राजेन्द्र श्रेष्ठसहितको एउटा खेमा नेकपामा समाहित) र नेकपा समाजवादी (पूर्ण रुपमा नेकपामा समायोजित) भएका छन् । सोही निर्वाचनमा नाउपाले ६०००, जसपाले ५२९१ र नेकपा एसले ७८१ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस २०२७८ मतसहित सबैभन्दा ठुलो पार्टी बनेको थियो भने दोस्रोमा नेकपा (एमाले) ले १६९८६ मत प्राप्त गरेको थियो । पहिलोपटक निर्वाचनमा सहभागिता जनाउँदै समानुपातिक तर्फ तेस्रो स्थान बनाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत १४१५४ थियो भने चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मत ९१८३ रहेको थियो ।
२०७९ को समानुपातिक मत हेर्दा नागरिक उन्मुक्ति पार्टीको समानुपातिक मत ६००० रहेको देखिन्छ । यसैगरी जनता समाजवादी पार्टीको समानुपातिक मत ५२९१ रहेको छ । यसैगरी नेकपा (एस) को २०७९ को समानुपातिक मत ७८१ रहेको छ । एकिकरणपछिको मतलाई आधार मान्ने हो भने हालको नेकपासँग यस क्षेत्रमा करिव १० हजारभन्दा बढी समानुपातिक मत रहेको देखिन्छ ।
घनश्याम यावदको १२ बर्षपछि रि-इन्ट्री
वि.सं. २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा घनश्याम तत्कालिन नेकपा माओवादीबाट विजयी भए । चुनाव जितेर उनी राज्यमन्त्रीसमेत बने । त्यसपछिका निर्वाचनमा यस क्षेत्रमा नदेखिएका उनी २०७० पछि अर्थात् १२ बर्षपछि फेरी यसै क्षेत्रका मतदातासँग मत माग्न टुप्लुक्क आइपुगेका छन् ।
उनी वि. सं २०५६ मा नेकपा एमालेबाट क्षेत्र नं १ मा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा यादव नेपाली कांग्रेसका दुर्योधनसिंह चौधरीसँग पराजित भएका थिए । ०५६ मा पराजितपछि विस्तारै माओवादी राजनीतिमा प्रवेश गरेका उनी माओवादीको दवदवा रहेको अवस्थामा २०६४ को निर्वाचनमा विजयी भएका हुन् ।
१२ बर्षसम्म कहाँ थिए यादव ?
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यादवलाई पार्टीले इन्चार्जको रुपमा नवलपरासी जिल्लामा खटायो । यादव भन्छन्, 'म पार्टीको इमान्दार सिपाई हुँ । त्यसैले दोस्रो संविधान सभाको निर्वाचनमा मलाई नवलपरासी इन्चार्जको रुपमा त्यहाँ खटाएपछि जानैपर्यो ।' पार्टीको पोलिटव्युरो सदस्यसमेत रहेका उनले त्यहाँ पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भुमिका निर्वाह गरे । २०७० मा उनी निर्वाचनमा उम्मेदवार बनेनन् । तर उनले नेतृत्व गरेको जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा माओवादी पराजित भयो ।
नवलपरासीमै रहेर राजनीति गरेका यादव २०७४ मा नेकपा एमालेसँग चुनावी गठबन्धन भएपछि नवलपरासी-२ मा उम्मेदवार बने । राज्य पुर्नसंरचना भई नवलपरासी जिल्ला टुक्रिएर २ वटा जिल्ला बनेपछि पश्चिम नवलपरासीको क्षेत्र नं २ मा यादव गठबन्धनका साझा उम्मेदवारको रुपमा उभिएपनि नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलसँग पराजित भए । उनी २०७९ मा उम्मेदवारको रुपमा निर्वाचनमा उठेनन् । नवलपरासी जिल्लामै रहेर पार्टीको काम गरे ।
परिवर्तित राजनीति र क्षेत्र नं १ मा कमजोर बन्दै गएको माओवादी
अहिले माओवादीको अवस्था २०६४ मा जस्तो छैन । २०६४ मा १२० सिट जितेको पार्टी २०७९ को निर्वाचनसम्म आइपुग्दा ३२ सिटमा सिमित हुनुपर्यो । ०६४ पछि लगातार ओरालो लागेको माओवादी, गठबन्धनको नाममा कहिले कांग्रेस त कहिले एमालेको मिल्दा पार्टीको जनाधार खस्किएको जानकारहरु बताउँछन् । राजनीतिक विश्लेषकहरु माओवादी क्रमश: कमजोर हुँदै जानुको पछाडि निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न कार्यकर्तालाई बाध्य पारिनु भएको बताउँछन् ।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा माओवादी रुपन्देही क्षेत्र नं १ मा तेस्रो बन्न पुग्यो । कांग्रेसका अब्दुल रज्जाकले यस क्षेत्रबाट निर्वाचन जिते । रज्जाकले १४,४०० मत प्राप्त गर्दा एमालेका छविलाल विश्वकर्मालाई १४,१९६ मत प्राप्त भयो । २०६४ मा निर्वाचन जितेको माओवादी तेस्रो स्थानमा खुम्चियो । माओवादीका देवेन्द्रनाथ पाण्डेले मात्र ७,४४४ मत प्राप्त गरे ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको देशव्यापी गठबन्धन बन्यो । यसरी गठबन्धन बन्दा यो क्षेत्र एमालेको कोटामा पर्यो । एमालेको कोटाबाट छविलाल विश्वकर्मा उम्मेदवारको रुपमा आए र माओवादी कार्यकताले उनलाई उत्साहका साथ मतदान गरे र करिव ८ हजार मतान्तरले विश्वकर्मा विजयी बने । उक्त निर्वाचनमा विश्वकर्माले ३४,७५२ मत प्राप्त गर्दा कांग्रेसका अब्दुल रज्जाकले २६,८८५ मत प्राप्त गरे । १२,७६४ मत प्राप्त गर्दै तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालका उम्मेदवार विद्याप्रसाद यादव तेस्रो हुन पुगे । यो निर्वाचनमा फोरम अस्तित्वमा छैन ।
यस क्षेत्रमा चार हजार पार्टी सदस्य रहेको र १० हजारको हाराहारीमा समानुपातिक मत भएको नेकपा एउटा बलियो शक्ति हो । एकपटक निर्वाचन जितिसकेको अनुभव र जातीय समुदायमा प्रभाव पार्न सक्ने यादवले कस्तो योजना बनाउँछन् ? कस्तो निर्वाचन रणनीति तय गर्छन् र कसरी मतदाताको घरदैलोमा पुग्छन् भन्ने आधारमा उनको सांसद यात्रा तय हुनेछ ।
त्यसो त २०७४ मा एमाले माओवादी गठबन्धनबाट क्षेत्र १ 'ख' मा माओवादीका दधिराम न्यौपाने विजयी बनेका थिए । उनी अहिले घनश्यामसँगै एमालेको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन् ।
२०७९ सम्म आइपुग्दा माओवादीलाई राजनीतिक टेकोको लत बसिसकेको देखिन्छ । ०७४ को निर्वाचनपछि नेकपा एमालेसँग पार्टी एकिकरण गरेपनि लामो समय त्यसले सार्थकता पाउन सकेन । सत्ता र सरकार सञ्चालनको गठजोडमा विवाद भएपछि सर्बोच्च अदालतको आडमा एमाले र माओवादी अलग हुन पुगे । पार्टी फुटको क्रममा २ वटा पार्टी ३ बन्न पुग्यो । माधव नेपालले एमालेमा विद्रोह गर्दै समाजवादी पार्टी घोषणा गरेकाले यस क्षेत्रमा तत्कालिन एमालेका विद्रोही उम्मेदवारको रुपमा घनश्याम भुसाल स्वतन्त्र उम्मेदवार बने । देशव्यापी रुपमा गठबन्धन गरेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले यस क्षेत्रमा घनश्यामलाई सघाउने निधो गरे ।
एमाले पार्टी अध्यक्ष केपी ओलीलाई झापा ५ मा सहयोग गरेको राप्रपाले रुपन्देही-१ मा घनश्यामलाई हराउन छविलाललाई सघाउने निर्णय गर्यो । फलस्वरुप रुपन्देही क्षेत्र नं १ बाट छविलाल दोस्रोपटक झिनो मतान्तरले विजयी हुँदै संसदको यात्रा तय गरे । विश्वकर्माले २४,८८२ मत प्राप्त गर्दा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी समर्थित स्वतन्त्र उम्मेदवार भुषालले २१,३१८ मत प्राप्त गरे ।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा १४,१४५ मत प्राप्त गरेको रास्वपा अहिले देशव्यापी रुपमा आक्रामक रणनीतिका साथ चुनावी मैदानमा होमिएको छ । भदौ २३ र ३४ को जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमले देशव्यापी रुपमा पुराना पार्टीहरु रक्षात्मक बन्न पुगेको देखिन्छ । सहकारी ठगि प्रकरणमा विवादीत बनेका रवि लामिछाने लामो समय हिरासतमा रहेपनि अहिले चुनावी दौरानमा छन् । रविले जेनजी आन्दोलनका अभिभावकका रुपमा चित्रित गरिएका बालेन्द्र शाह (बालेन)समूहसँग पार्टी एकता गरेर फाल्गुन २१ को निर्वाचनमा रास्वपा होमिएको छ ।
पछिल्लो स्थानीय निर्वाचनमा नेकपाको उपस्थिति
त्यस्तै स्थानीय तहको निर्वाचनको अवस्था हेर्ने हो भने रुपन्देही १ का ४ वटा पालिका मध्ये नेकपाका उम्मेदवारले कुनैपनि पालिकामा जीत हात पारेको देखिदैन । वडागत रुपमा हेर्दा ओमसतियाको वडा नं ७ नेकपाका उम्मेवारले अध्यक्षसहित सबै जितेका छन् । त्यो बाहेक देवदहको वडा नं ९ मा १ र वडा नं १० मा रुख चुनाव चिन्ह लिएर उठेका २ जना सदस्यले निर्वाचन जितेका थिए । तर हाल वडा नं ९ का सदस्य रास्वपा प्रवेश गरेका छन् ।
यसका बाबजुत पनि यस क्षेत्रमा चार हजार पार्टी सदस्य रहेको र १० हजारको हाराहारीमा समानुपातिक मत भएको नेकपा एउटा बलियो शक्ति हो । एकपटक निर्वाचन जितिसकेको अनुभव र जातीय समुदायमा प्रभाव पार्न सक्ने यादवले कस्तो योजना बनाउँछन् ? कस्तो निर्वाचन रणनीति तय गर्छन् र कसरी मतदाताको घरदैलोमा पुग्छन् भन्ने आधारमा उनको सांसद यात्रा तय हुनेछ ।
यसपटक पनि रुपन्देही १ को चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ । नेकपाका यादवसहित रास्वपाले युवा नेता तथा पार्टी महामन्त्री सुनिल लम्साललाई मैदानमा उतारेको छ भने नेकपा एमालेको तर्फबाट केन्द्रिय सदस्य दधिराम न्यौपाने, नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति हिराबहादुर खत्री र राप्रपाबाट दिपक बोहराका छोरा प्रज्वल बोहरा (प्रशान्त) विच प्रतिष्पर्धा हुने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology