धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यस पटक रुपन्देही-१ को निर्वाचन परिणाम आफ्नो पक्षमा आउने आंकलन गरेको छ । पार्टीबाट युवा उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)को आगमनले राजनीतिमा नयाँ मोड आएको र यस पटकको निर्बाचन परिणाम आफ्नो पक्षमा आउने आंकलन गरेको राप्रपाले जनाएको छ ।
राप्रपाले यसपटक युवा र शिक्षित पुस्तालाई आकर्षित गर्न उम्मेदवार बोहरालाई चुनावी प्रतिस्पर्धामा उतारेको हो । ‘यसपाली हामीले क्षेत्र नं १ बाट बिजयी हासिल गर्ने बलियो सम्भावना छ ।’ राप्रपा रुपन्देहीका अध्यक्ष सागरप्रताप राणाले भने, ‘त्यो क्षेत्र राप्रपाको पकडको क्षेत्र हो, सांगठनिक रुपमा पनि हामी त्यहाँ बलियो छौं ।’
राप्रपाले रुपन्देही–१ मा बिजय हासिल गर्ने आंकलन गर्नु पछाडिको अर्को कारण पनि हो, नयाँ अनुहार र पुरानो विरासतको बल हो । प्रज्जवल बोहरा राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा हुन् । गत २०७९ को निर्वाचनमा रुपन्देही ३ बाट विजयी भएका दीपकको प्रभाव रुपन्देहीभर रहेको र सोही विरासतका साथै आफ्नो प्राविधिक पृष्ठभूमिलाई प्रज्जवलले मुख्य एजेण्डा बनाएका छन् ।
दीपक बोहरा पंचायतकालको राजनीतिदेखि नै एक नं क्षेत्रमा भिजेका लोकप्रिय नेता हुन् । हरेक बस्ती बस्ती र टोल टोलमा बोहरा परिचित थिए । अहिले उनकै सुपुत्र बोहरालाई राजनीतिमा पनि दीपक बोहराकै उत्तराधिकारीको रुपमा लिएको बुझाइ राप्रपाको छ ।
‘हरेक टोलटोल र बस्तीमा पुग्दा यसअघि यस क्षेत्रबाट भएका राजनीतिक नेतृत्वहरुप्रति आम जनताको बितृष्णा छ । आशैआशको सपना देखाउने, प्रतिबद्धता जनाउने तर काम केही नगर्ने भन्ने आरोप छ ।’ राप्रपा रुपन्देही(१ का उम्मेदवार बोहराले भने, ‘त्यसैले नयाँ अनुहारको खोजीमा रहेका मतदाताहरू यसपटक हलो चिन्हमा आकर्षित भएका छन् ।’
राप्रपाको आत्मविश्वासको अर्को बलियो आधार गत निर्वाचनको तथ्यांक हो । २०७९ को समानुपातिक मत र स्थानीय चुनावमा वडाध्यक्षहरूले प्राप्त गरेको मत निकै राम्रो थियो । ‘हामीले त्यस क्षेत्रका धेरै स्थानीय तहका वडा अध्यक्ष र रोहिणीको उपाध्यक्षमा बिजय हासिल गरेका थियौं ।’ राप्रपा अध्यक्ष राणा भन्छन् ।
राप्रपाले पहिला प्राप्त गरेको आफ्नो मतलाई सुरक्षित राख्दै ठूला दल र बिगतमा निर्वाचित जनप्रतिनिधिप्रति बितृष्णा जागेका मतदाता, युवा र स्वतन्त्र मतदाताको मत यसपालि आफ्नो पार्टीप्रति ल्याउने रणनीति बनाएको छ ।
‘यसपटकको चुनावमा ‘पार्टी भन्दा पनि पात्र’ र ‘विचार भन्दा पनि विकास’ को एजेण्डा हाबी भएको छ’, राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापा भन्छिन्, ‘उम्मेदवार बोहराले आफ्नो चुनावी अभियानमा उठाएका सुशासन, प्राविधिक विकास, भ्रष्टाचार नियन्त्रण, स्थानीय रोजगारी, सामाजिक सशक्तिकरण, शिक्षा, स्वास्थ्य जस्ता चुनावी बिषयले युवापुस्ता सहितको मतदातालाई बढि आकर्षित गरेको छ ।’ अर्कोतर्फ रुपन्देहीमा थारु समुदायमा राम्रो पकड भएका नेता धनिराम चौधरीको प्रवेशले राप्रपा अझ बलियो देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology