देवदह । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत देवदह नगरमा नगरस्तरीय १००१ सदस्यीय मूल समिति गठन गरेको छ । शनिबार पार्टी नगर समितिको विस्तारित भेलामा पार्टीका प्रदेश कमिटी सदस्य मोतिलाल ढकालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
फाल्गुन २१ को निर्वाचनलाई लक्षित गर्दै समिति गठन तथा क्षेत्रीय कार्यालय समेत स्थापना गरि संगठन विस्तार र जनसम्पर्कलाई तीव्र बनाएको पार्टीले जनाएको छ ।
सो अवसरमा नेकपाको तर्फबाट रुपन्देही-१ का प्रतिनिधिसभा उम्मेदवार घनश्याम यादवले आगामी निर्वाचन आफूले जित्ने दाबी गरे । नेकपा जनताको पार्टी भएको बताउँदै उनले नयाँ पार्टीप्रतिको लहड क्षणिक मात्रै हुने उल्लेख गरे । जनताले निर्वाचनको पूर्वसन्ध्यामा वैकल्पिक शक्तिको रूपमा नेकपालाई रोज्ने यादवको विश्वास छ ।
यसअघि क्षेत्रीय इन्चार्ज लेखनाथ न्यौपानेको संयोजकत्वमा रुपन्देही-१ मा १ हजार ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन भइसकेको छ । परिचालन समितिका संयोजक न्यौपानेका अनुसार ३३ वटै वडामा निर्वाचन विशेष कार्यालय स्थापना गरिने छ भने क्षेत्र नम्बर-१ अन्तर्गत पर्ने तिलोत्तमा, देवदह, रोहिणी र ओमसतियामा क्षेत्रीय कार्यालय स्थापना गरी प्रचारप्रसारलाई थप तीव्र बनाइने जानकारी दिए ।
देवदह-७, मिलनचोकस्थित क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयमा भएको कार्यक्रम पार्टीका नगर कमिटी संयोजक दीपक न्यौपानेको अध्यक्षता, सदस्य कला ढकालले स्वागत र सदस्य सुशिला भट्टराईको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology