देवदह । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताएका छन् ।
क्षेत्रका विभिन्न पालिकामा मतदाता तथा कृषकसँग छलफल, संवाद र घरदैलो अभियानका क्रममा उनले कृषिको प्रचुर सम्भावना भएकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । परम्परागत पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्न अनुदानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
दुग्ध उत्पादन किसानलाई टिकाइराख्न नश्ल सुधार, बजारीकरण र घाँसमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राख्ने उनले उल्लेख गरे । कृषिका समग्र विषयसँगै दुग्ध उत्पादक किसानका मुद्दालाई सँगसँगै अघि बढाउने उनको धारणा छ ।
उत्पादन भएका डेरीजन्य पदार्थ छिमेकी मुलुकमा निर्यात गर्न प्रतिस्पर्धी वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने उनले बताए । उन्नत नश्लका पशु र घाँसमा आधारित पशुपालनमार्फत दूधको लागत घटाएर किसानलाई घाटा नहुने अवस्था सिर्जना गर्न सकिने उनको भनाइ छ ।
किसानलाई आत्मनिर्भर बनाउने र उत्पादनको बजारीकरण सुनिश्चित गर्ने योजनासहित आफू अघि बढेको उनले बताए । भारतबाट आउने दूध र दुग्धजन्य पदार्थमा नियन्त्रण हुँदा स्वदेशी किसानलाई फाइदा पुगेको उल्लेख गर्दै किसानमैत्री नीति निर्माणका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
किसानले पाउने अनुदान सहज रूपमा उपलब्ध हुने व्यवस्था गर्न केन्द्रित रहने र भाषणमा नभई व्यवहारमै किसानका मुद्दा उठाउने उनले बताए ।
घरदैलो अभियानअन्तर्गत उनले देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका–१५ र १६, रोहिणी गाउँपालिका–१, ३ र ५ तथा ओमसतिया गाउँपालिका–७ र १२ का मतदाता तथा किसानसँग भेटघाट गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology