देवदह । प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट विजयी सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारमा उनी मन्त्री पक्का भएको हो ।
पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्साल क्षेत्र नं १ बाट ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
लम्सालले संसदको यात्रा तय गर्दैगर्दा यस क्षेत्रका अघिल्ला सबै रेकर्ड तोडेका थिए । वि सं २०७४ को निर्वाचनमा एमाले नेता छविलाल विश्वकर्माले प्राप्त गरेको मतलाई उनले तोडे । तत्कालीन अवस्थामा विश्वकर्माले ३४ हजार ७५२ मत प्राप्त गरेका थिए, जुन लम्सालले सहजै पार गरेका थिए ।
त्यसैगरी मतान्तरमा पनि उनले रेकर्ड राखेका छन् । यसअघिको ७ हजार ८६७ को मतान्तरमामा ब्रेक लगाउँदै लम्सालले ४२ हजार ८६३ को फराकिलो मतान्तर बनाउन सफल भएका छन् । उनी सुनिल अब शक्तिशाली सरकारको मन्त्री बन्ने टुंगो लागेको हो ।
यसअघि गृह मन्त्री बन्ने चर्चा चलेपनि अन्तत: उनलाई पार्टी भौतिक पूर्वाधार मन्त्री बनाउने निर्णय गरेको हो ।
को हुन् सुनिल लम्साल ?
इन्जिनियरिङ पृष्ठभूमिका लम्साल निर्वाचन अघिसम्म काठमाडौं महानगरपालिकाका तत्कालीन नगरप्रमुख बालेन्द्र शाह (बालेन) का पूर्वाधार सल्लाहकारका रूपमा कार्यरत थिए ।
संरचनात्मक इन्जिनियरका रूपमा उनले विभिन्न पूर्वाधार परियोजनामा काम गरेका छन् । उनको शैक्षिक योग्यता सिभिल इन्जिनियरिङ (स्नातक) र स्ट्रक्चरल इन्जिनियरिङ (स्नातकोत्तर) रहेको छ ।
काठमाडौँ महानगरपालिकामा रहँदा उनी पूर्वाधारसँग सम्बन्धित नीति निर्माण र कार्यान्वयनका विषयमा संलग्न थिए । फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनसँग सम्बन्धित काममा पनि आफ्नो संलग्नता रहेको उनी बताउँछन् ।
काठमाडौं विश्वविद्यालयमा फोहोर व्यवस्थापन विषयमा पिएचडी अध्ययनरत उनी वातावरणीय तथा व्यवस्थापन पक्षसँग सम्बन्धित विषयमा अनुसन्धानमा संलग्न रहेको बताइन्छ ।
विद्यार्थी जीवनमा पनि उनी राजनीतिमा संलग्न थिए । तत्कालीन अवस्थामा लम्साल लुम्बिनी इन्जिनियरिङ कलेज, भलवाडीको स्ववियु सभापति निर्वाचित भएका थिए ।
इन्जिनियरिङ पेशासँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार परियोजनामा काम गरेको अनुभव रहेको उनी बताउँछन् ।
राजनीतिक रूपमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रभित्र सुधारको आवश्यकता रहेको धारणा राख्ने बताइन्छ । स्थानीय ज्ञान, नागरिक सहभागिता र क्षेत्रगत विज्ञतालाई नीतिगत प्रक्रियामा समेट्नुपर्ने उनको भनाइ छ ।
रुपन्देही–१ बाट निर्वाचित भएपछि उनले क्षेत्रीय विकास, पूर्वाधार र सुशासनका विषयलाई संसद्मा उठाउने बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology