Logo

२०८३, श्रावण २७गते


images
images

विचार

मेरो ज्योतिष अध्ययन र ढकालथोक

मेरो ज्योतिष अध्ययन र ढकालथोक

images
  • मेरो ज्योतिष अध्ययन र ढकालथोक
    images
    images

    वि. सं. २०१४ साल माघ ५ गते, मेरो पिताजी हरिलाल उपाध्यायले मलाई ज्योतिष विद्यामा शिक्षित बनाउने उद्देश्यले सबै तयारी मिलाएर पंचमुल गाउँ पंचायतको ढकालथोकस्थित पं. दण्डपानी गुरुको घरमा लग्नुभयो । दण्डपानी गुरु प्रख्यात ज्योतिषविद् तथा विद्वान् भवानीशंकर ढकालका सुपुत्र हुनुहुन्थ्यो । उहाँ ज्योतिष शास्त्रका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । ज्योतिष शास्त्रमा उहाँको राम्रो दखल थियो ।  उहाँले पनि आफ्ना पिताजस्तै ज्योतिष र संस्कृतको ज्ञान आफ्नै एकल प्रयासबाट दिनुहुन्थ्यो । म पनि सोही अवसर प्राप्त गर्ने उद्देश्यले त्यही स्थानमा पुगेँ ।

    images
    images
    images

    गुरुले आफ्नै हातले बनाएको सानो टहरोमा हामी बसेर संस्कृत र ज्योतिष पढ्न सुरु ग‍र्यौँ । पिताजीले मेरो बसोबासको व्यवस्था गुरुकै घरमा मिलाइदिनुभयो र त्यसपछि घर फर्किनुभयो । त्यस समयमा विभिन्न स्थानका १५-२० जना विद्यार्थीहरू त्यहीँ बसेर पढ्थे । गाउँगाउँमा विद्यालय नभएकाले टाढा–टाढाबाट विद्यार्थीहरू दण्डपानी गुरुकहाँ आउँदथे । पढाइका लागि कापी–किताब केही हुँदैनथ्यो । हामीले धुलौटे पाटीमा निगालो र बाँसबाट बनाइएका कलमले लेख्ने गथ्र्यौ । यसरी मेरो अध्ययनको यात्रा सुरु भयो । 

    images
    images
    images

    सुरुमा घरबाट चामल लिएर आफैँ पकाएर खान्थेँ । तर पछि गुरुसँगै पूजा–पाठमा संलग्न भएपछि खानपिनको समस्या खासै भएन । मैले प्रायः गुरुकै घरमा खाने गर्थेँ । कहिलेकाहीँ बाहिर पूजा–पाठमा पनि खान पाइन्थ्यो । टहरोमा बस्ने विद्यार्थीहरूमध्ये धेरैले आफैँ पकाएर खान्थे । त्यहाँ भाडा वा कुनै रकम तिर्नु पर्दैनथ्यो । मलाई सम्झना भएका साथीहरूमध्ये किचानासका वाग्ले र पाल्पाका मित्रलाल न्यौपानेसँग म धेरै मिल्ने गर्थेँ ।

    images
    images
    images

    हाम्रो ज्योतिष अध्ययन विस्तारै अघि बढ्दै जाँदा हामी पूजा–पाठमा पनि संलग्न हुन थाल्यौँ । यस कारण हामीलाई खाना–खर्चको चिन्ता गर्नु परेन । गुरुको जेठो छोरा नेत्रप्रसादसँग पनि मेरो सम्बन्ध निकै निकट बनेको थियो । हामी पढ्दा पनि सँगै पढ्थ्यौँ, बाहिर कतै जनापरे पनि सँगै जान्थ्यौँ र खेल्थ्यौँ ।
    करिब दुई वर्षपछि गुरुजीको सल्लाह अनुसार नेत्रप्रसाद र म थप अध्ययनका लागि पर्वत जिल्लाको पाँगा नामक स्थानमा पुग्यौँ । त्यहाँ रमाकान्त गुरुले संस्कृत र ज्योतिष पढाउनुहुन्थ्यो । हामीलाई बस्ने–खाने व्यवस्था गुरुकै घरमै थियो । विभिन्न ठाउँबाट विद्यार्थीहरू आएर डेरा गरेर पढ्थे । करिब छ महिनाको अध्ययनपछि हामी फेरि पञ्चमुल फर्क्यौं ।

    फर्केपछि म ढकालथोकस्थित नन्दलाल ढकाल (खोरको बुढा) को घरमा बस्न थालेँ । त्यहाँबाट कर्मकाण्ड र ज्योतिष अध्ययनलाई मैले थप निरन्तरता दिएँ । यसरी त्यहाँ मेरो तीन वर्ष बित्यो ।

    वि.सं. २०१७ असोज ११ गते औँसीको राति ढकालथोकमा एउटा भयावह विपत्ति आयो । सिद्दे ढुङ्गाबाट आएको ठूलो पहिरोले गाउँलाई शोकमा डुबायो । संयोगवश म भने त्यो रात घरमा आएको रहेछु । पहिरोले दण्डपानी गुरुका छोरा नेत्रलालको परिवार, श्रीमती, छोरा–छोरीसहित धेरै सदस्यलाई पुर्यो । गोकर्ण घर्तीका जेठा छोराका धेरै सदस्यहरू पनि पहिरोमा परे । गाउँभरि रुवाबासी चल्यो । धान तथा अन्य अन्नबाली, पशु चौपाया सबैतिर ठूलो क्षति भयो । 

    डाँडाघरे कान्छाको पनि सबै परिवार पहिरोमै पुरिए । तर चमत्कारिक रूपमा उनकी एक छोरी तीन दिनपछि हिलो पन्छाएर जीवितै निस्कन सफल हुनुभयो । उहाँलाई बुढिऔलामा मात्र चोट लागेको थियो । उहाँका अरु परिवार नबाँचेकाले जेठाबाको छोराले उहाँको पालन–पोषण गर्नुभयो । पछि उहाँको विवाह त्यही गाउँका दुर्गाप्रसाद ढकालसँग भयो । यसबारे केहीले प्रश्न गरे पनि वास्तविकता फरक थियो । अहिले उहाँ जीवित हुनुहुन्छ र उहाँको जीवन ढकालथोकको इतिहाससँग गाँसिएको छ ।

    पंचमुल नाम कसरी रह्यो ?

    हाल सञ्चालित त्रि–शहीद माध्यमिक विद्यालयको दक्षिणपट्टि पाँचवटा मूलबाट पानी आउने भएकाले त्यहाँ पाँच ढुङ्गाका धाराहरू निर्माण गरिएको थियो । गाउँका मानिसहरू त्यहाँ नुहाउन र खानेपानी लिन जान्थे । म पनि प्रायः त्यहीँ नुहाउन जाने गर्दथेँ । धाराको पश्चिमपट्टि एउटा सानो पाठशाला थियो, जहाँ संस्कृत र ज्योतिष पढाई हुन्थ्यो । त्यहाँका प्रमुख शिक्षक चिरञ्जीवी गुरु हुनुहुन्थ्यो र अन्य सहायक शिक्षक पनि थिए । गुरुङहरूको बाक्लो बस्ती भएकाले सिरुबारीका धेरै गुरुङ विद्यार्थीहरूले पनि संस्कृत पढ्थे । संस्कृत वा ज्योतिष पढ्नु बाहेक स्थानीयसँग अरु विकल्प पनि थिएन ।

    पाठशालाको नजिकै सुबेदार गम्भीरसिंह गुरुङ र रामबहादुर गुरुङको सक्रियतामा शिवजीको मन्दिर निर्माण गरिएको थियो । उहाँहरूले आफ्नै खर्चमा पुजारी राखेर दैनिक पूजा सञ्चालन गर्ने गर्नुहुन्थ्यो । हालसम्म पनि उक्त मन्दिरमा नियमित पूजा चलिरहेको छ । विद्यार्थीहरूको चाप बढ्दै गएपछि थप ठाउँ र खेलमैदानको आवश्यकता त्यहाँ महसुस भयो । नयाँ स्थान खोज्ने क्रममा मतभेद बढ्यो । मुखिया कर्णबहादुर गुरुङले  पाठशाला सिरुबारी सार्ने प्रस्ताव गर्नुभयो भने अरुले राजस्वरा सार्ने कुरा गरे । सहमतिको प्रयास धेरै पटक भएपनि सफल हुन सकेन । अन्ततः बहुमतको आधारमा काशीराम ढकालको घरदेखि दक्षिणपट्टिको चौरमा पाठशाला सार्ने निर्णयमा सहमति भयो । सोही निर्णयअनुसार पाठशाला त्यहाँ सारियो ।

    यससँगै विद्यालय विस्तार हुँदै व्यवस्थित बन्दै गयो । जहाँ संस्कृत र ज्योतिषसँगै अंग्रेजी पढाइ पनि सुरु भयो । विद्यार्थी संख्या दिन–प्रतिदिन बढ्दै गयो । संस्कृत चिरञ्जीवी गुरु र मैले पढाउँथ्यौ, आवश्यकता अनुसार अन्य विषयका शिक्षक पनि थपिँदै गए । त्यसबेलासम्म पनि पाठशालाको मुख्य शिक्षकको रूपमा चिरञ्जीवी गुरु नै हुनुहुन्थ्यो ।

    गाउँमा पूजा–पाठ, सप्ताहजस्ता कार्यक्रममा चिरञ्जीवी गुरु र म प्रायः सँगै जान्थ्यौँ । गुरु मूलवाचक हुनुहुन्थ्यो र म सहायक वाचक । पछि गुरुले मलाई मूलवाचकको जिम्मेवारी दिनुभयो । उहाँले “विद्यार्थी तयार भए नभएको” परिक्षण गर्न सप्ताह भन्न लगाएर आफैँ पनि सुन्नुहुन्थ्यो । त्यस परीक्षामा पास भएपछि प्रमाणपत्र सरह मानिन्थ्यो । यसरी मेरो सप्ताह वाचनको यात्रा सुरु भएको थियो । त्यसपछि मैले धेरै ठाउँमा पूजा–पाठ र सप्ताह गर्न थालेँ । यसबीच थप अध्ययनका लागि म काशी पनि गएँ । त्यहाँ प्रमाणपत्र मात्र नभई आचार्य स्तरसम्मको अध्ययन गरेको कुरा चिरञ्जीवी गुरु लगायत सबैले स्वीकार गर्नुभयो ।

    अन्त्यमा, आज म ज्योतिष र प्रख्यात पण्डितको रूपमा चिनिएको छु । यसको सम्पूर्ण श्रेय मेरो मुख्य शिक्षा–थलो ढकालथोक र मेरा गुरुहरू दण्डपानी गुरु र चिरञ्जीवी गुरुलाई नै जान्छ । ढकालथोकप्रति मेरो माया र सम्बन्ध जीवनभरको महत्त्वपूर्ण धरोहर बनेर रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विचार
  • # ढकालथोक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।