बुटवल । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको १०औँ जिल्ला अधिवेशन यही चैत ९ र १० गते हुने भएको छ। पार्टी जिल्ला कमिटीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
२०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति, कार्यक्रम र विधानअनुसार जिल्ला अधिवेशनको तयारी गरेको हो।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रूपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानअनुसार अधिवेशनमा जुटिएको बताए। उनले जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधान लागू गरिएको जानकारी दिए। रूपन्देहीका पाँच निर्वाचन क्षेत्रबाट अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम पूरा भइसकेको उनले बताए। साथै, आफूहरू एमाले विद्रोहको निरन्तरतामा रहेकोले जिल्ला अधिवेशनलाई १०औँ भनिएको स्पष्ट पारे।
अधिवेशन प्रतिनिधि छनोट गर्दा दलित तर्फ १० जनामा १ जना, खुला तर्फ २० जनामा १ जना, सबै क्लस्टरमा एक तिहाइ महिला तथा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य रूपमा समावेश गर्ने सिद्धान्त अपनाइएको कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए। उनले विधानको पूर्ण रूपमा पालना गर्दै अधिवेशनलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे।
विधानअनुसार संघीय निर्वाचन क्षेत्र १ बाट ४६ जना, २ बाट ४३ जना, ३ बाट २१ जना, ४ बाट ११ जना, ५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधि रहने प्रेस विज्ञप्तिमा उल्लेख छ। साथै, विधानअनुसार कुल प्रतिनिधिको १० प्रतिशत १३ जना जिल्ला कमिटीबाट मनोनयन गरिँदा अधिवेशनमा सहभागी प्रतिनिधिको संख्या १४१ पुग्ने बताइएको छ।
चैत ९ गते उद्घाटन सत्र र १० गते बन्दसत्र हुने अधिवेशन बुटवल–१३ स्थित साइनो पार्टी प्यालेसमा हुनेछ। उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको उपसचिव टंक पोखरेलले जानकारी दिए। अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको टुंगो छलफलपछि लाग्ने उनले बताए।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्यहरू हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतको उपस्थिति थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology