काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चैत २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । जनसरोकारका सवालमा चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल गर्ने र ७–१५ गतेसम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गरि ज्ञापन पत्र बुझाउने पार्टीले जनाएको छ ।
पार्टीका महासचिव घनश्याम भुसालले राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न अभियान थालिएको बताए ।
"चैत्र ७–१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गरिनेछ । चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम तय गरेका छौं ।" उनले भने ।
वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा पार्टीले जनाएको छ । अभियान बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान समेत रहेको महासचिव भुसालको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ । सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सुचित गर्न जरुरी भइसकेको ठहर गरेको छ । रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology