कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राखेको जनाएको छ । एकिकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नेगरी कार्यक्रम तर्जुमा गरिने भएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदाय स्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउनेसम्मका योजना अघि सारिने बताए । बाणगंगा नगरपालिका–८ मधवुन कपिलवस्तु स्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दिर्घकालिन समस्या समाधान गर्नेगरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताए ।‘उत्पादन दिन छाडेपछी पशुचौपायालाई छाडा छोड्ने समस्या बढ्दो छ । यसरी छाडिएका पशुचौपायाका कारण समुदायमा किसान र स्थानीयलाई हैरानी हुने, लगाएका खाद्यन्न, तरकारीबालीमा हानी नोक्सानी गर्ने, सडक दुर्घटना भएको अवस्था पनि छ’ उनले भने, ‘समुदायको परिचालन र सक्रियाताबाट छाडापशु चौपायाको नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण यो गौशालाले दिएको छ ।’ गौशालामा पालिएका पशुचौपायाबाट दुध उत्पादन बढाउन सकिने, गाईको गोवर, पिसाव संकलन गरेर प्राकृतिक मल बनाउन सकिने भएकाले यसखाले परियोजना सञ्चालन गर्न जरुरी रहेको बताए ।‘यहाँहरुले थाल्ने नविनतम काममा प्रदेश सरकारले साथ दिन्छ । अहिले यहाँहरुले उठाएको सिंचाई र खानेपानीको समस्या समाधान गर्न आगामी बर्षको बजेट निर्माण गर्दा ध्यान दिन्छौं’ उनले भने,‘समुदायको सक्रियताबाटनै रचनात्मक कामहरु गर्न सकिन्छ । प्रदेश सरकारले समुदाय परिचालनमा समेत जोड दिएको छ ।’
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा छाडा पशुचौपायाको समस्या बढ्दो छ । हरेक जिल्लामा गौशाला समेत निर्माण गरिएका छन् । ति गौशालाको संरक्षण र विकास गर्दै छाडा पशु चौपायालाई पनि उत्पादन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाउने तयारी गरेको हो । गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिंचाई गर्न असुविधा भएको भन्दै बजेट विनियोजन गर्न भागीरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले अनुरोध गरेका थिए ।
हाल गौशालामा करिब एक सय ५० गाई, गोरु, बाच्छाबाच्छि पालिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology