देवदह । देवदह खानेपानी तथा सरसफाई संस्थाले दोस्रो सहलगानी कार्यक्रम अन्तर्गत निर्माण गरेको विस्तृत परियोजना विवरण (डिपिआर) बारे सरोकारवाला निकायहरुसंग छलफल गरेको छ ।
३८ करोड लागतमा तयार गरिने सो आयोजनाले देवदह नगरपालिका अन्तर्गतका वडा नं ५, ६ र ७ का चार हजार बढि घरधुरीलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने लक्ष्य लिएको छ । २० बर्षे रणनीतिसहित तयार भएको आयोजनाबाट बि.सं २०४७ सालसम्म ९ हजार बढि घरधुरीका करिव ४३ हजार नागरीक लाभान्वित हुने देवदह खानेपानीले जनाएको छ ।
'उपल्लो खैरेनी सहलगानी तथा सरसफाई खानेपानी आयोजना' नाम दिईएको उक्त परियोजना अन्तर्गत देवदह–८, टटेरामा ३ वटा ओभरहेड टंकी निर्माण गरिनेछ । 
त्यसैगरी देवदह सीतलनगरमा रिजर्भेसन टंकी स्थापना गरी उक्त पानी दाउन्नेमा रहेको पुरानो टंकी मार्फत उपभोक्तालई वितरण गरिने संस्थाका अध्यक्ष गुमानसिंह कुँवरले बताए ।
परियोजनाबारे जानकारी गराउँदै इन्टीग्रेटेड डेभलपमेन्ट एण्ड रिसर्स सर्भिसेस प्रालि काठमाडौंका प्रमुख ईन्जिनियर निर्जल ढकालले प्रतिसेकेन्ड ६० लिटर पानी संकलन गर्नेगरी डिप बोरीङ्गको काम गरिने बताए । उनले परियोजना क्षेत्रमा ११२ किलोमिटर पाइपलाईन विस्तार गरिने जानकारी गराए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले देवदहका हरेक नागरिकलाई खानेपानीको पहुँचमा पु¥ईने बताए । त्यसको लागि आफुले समय समयमा विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको बताउँदै उनले पछिल्लो समय माथागढी गाउँपालिकाका जनप्रतिनिधिहरुसंग झुम्साको पानी ल्याउने विषयमा छलफल गरेको जानकारी गराए ।
उनले भने ‘झुम्साको पानी देवदहमा ल्याउने र यहाँका सबै खानेपानी संस्थालाई एकत्रित गराएर समान रुपले खानेपानी वितरण गर्न सकिन्छ । नगरले त्यसको लागि के गर्नुपर्छ खानेपानी संस्थाहरुले सुझाब दिनुहोला ।’
देवदह खानेपानीले नगरका वडा नं ५, ६, ७, ८ र ९ को घोडाहा क्षेत्रका पाँच हजार ३३८ घरधुरीमा खानेपानी उपलब्ध गराउँदै आएको छ । जहाँ दैनिक २२ लाख लिटर भन्दा बढी खानेपानी खपत हुनेगर्छ ।
यसअघि पहिलो सहलगानी अन्तरगत देवदहको वडा नं ५, ७, ८ र ९ को राजमार्गको दक्षिण क्षेत्रमा खानेपानी वितरण गर्नेगरि ६ वटा बोरिङ्ग निर्माण गरिसकिएको छ । सोही अन्तरगत टटेरा र शितलनगरमा ४ लाख लिटर र खैरेनीमा २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड टंकी निर्माण गरेको छ भने टटेरामा २ लाख लिटरको ग्राउण्डेड टंकी समेत निर्माण गरिएको छ ।
१३५.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको देवदह नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ७२ हजार ४५७ जनसंख्या रहेको छ । यहाँ १७ हजार ३०० घर धुरी रहेका छन् । जसमा ९ हजार ३५० घरमा खानेपानीको धारा जडान भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology