देवदह । देवदह नगरपालिकाले सुरु गरेको घुम्ती सेवा प्रभावकारी देखिएको छ । घुम्ती सेवामार्फत वडा कार्यालयमै योजना सम्झौताको अभ्यास गरिएपछि स्थानीयले नगरपालिकाको यस कार्यलाई असल अभ्यासको रूपमा चर्चा गरेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को सुरूवातमै देवदह नगरपालिकाले वार्षिक कार्यतालिका सार्वजनिक गर्यो । जसमा असोज मसान्तसम्म उपभोक्ता समिति गठन, कार्तिक मसान्तसम्म उपभोक्ता समितिलाई तालिम, मङ्सिर मसान्तसम्म योजना सम्झौता र २०८२ बैशाख मसान्तसम्म कार्य सम्पन्न गरि जेष्ठ मसान्तसम्म भुक्तानी फरफारक गरिने उल्लेख छ ।
चैत्र मसान्तसम्म ७० प्रतिशत पूँजीगत खर्च गर्नेगरि अघि बढेको नगरपालिकाले साउन २७ गते एक कार्यक्रमबीच पालिकाको वडा नं ५ बाट घुम्ती सेवा सुरू गर्यो । हालसम्म दुई वटा वडामा घुम्ती सेवा दिएको नगरपालिकाले आवश्यकता अनुसार सबै वडामा पुगेर योजना सम्झौता गर्ने तयारी गरेको छ ।
सेतोमसीसंग कुरा गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले समय रहुन्जेल काम नगर्ने र अन्तिममा हतार गर्ने प्रबृत्तिको अन्त्य गर्न कार्यतालिका नै बनाएर कार्यसम्पादन गरिरहेको बताए । “हामी असारे विकासलाई निरुत्साहित गरि समयमै व्यवस्थित र गुणस्तरीय तवरले कार्यसम्पन्न गर्न चाहान्छौं ।” उनले भने, “अहिले जसरी घुम्ती सेवामार्फत उपभोक्ता समितिबाट काम हुने पुर्वाधारका योजना वडामै सम्झौता भएको खण्डमा ६० प्रतिशतभन्दा बढी योजना एक महिनाभित्रै सम्झौता गर्न सकिन्छ । यसो हुन सक्यो भने कार्यसम्पादन गुणस्तरीय हुनुको साथै सेवाग्राहीलाई फाइल बोकेर नगरपालिका धाउनुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ ।”
एक दिनमै पूर्वाधार सम्बन्धि ६० प्रतिशत योजना सम्झौता
देवदहमा अधिकांश नयाँ कार्यक्रमको सुरुवाती केन्द्र बनेको वडा नं ५ बाट साउन २७ गते घुम्ती सेवाको पहिलो कार्यक्रम भयो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाको नेतृत्वमा पूर्वाधार र योजना शाखा प्रमुखसहित कर्मचारी र वडाका जनप्रतिनिधिको उपस्थितिमा वडा कार्यालयबाट १६ वटा योजना सम्झौता भए । नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेका अनुसार वडाभित्र उपभोक्ता मार्फत कार्यसम्पादन हुने २२ वटा योजनामध्ये एकैदिनमा १६ वटा सम्झौता भए । जुन कुल योजनाको ७२ प्रतिशत भन्दा बढि हो ।
त्यसैगरी साउन ३१ गते वडा नं ७ मा घुम्ती सेवा संचालन गरिएकोमा एकैदिन २१ वटा योजना सम्झौता भएको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । “घुम्ती सेवा प्रभावकारी भयो ।“ वडा अध्यक्ष अधिकारीले भने, “८४ लाख रुपैंया बराबरका पुर्वाधार सम्बन्धि २१ वटा योजना एकैदिनमा सम्झौता हुनु ठूलो उपलब्धि हो ।“ वडा नं ७ मा पूर्वाधार सम्बन्धि जम्मा ३६ वटा योजनामध्ये झन्डै ६० प्रतिशत अर्थात् २१ वटा योजनाको सम्झौता भएपछि पुष मसान्तसम्म कार्यसम्पन्न गर्ने वडा कार्यालयको तयारी छ ।
यसरी हालसम्म दुई वटा वडामा अभ्यास गरिएको घुम्ती शिविरलाई हेर्दा एकैदिनमा ६० प्रतिशतभन्दा बढी योजना सम्झौता भएको तथ्यांकले देखाएको छ।
कम झन्झट, पैसा र समय बचत
वडामा योजना सम्झौता गरेका उपभोक्ता समितिका पदाधिकारीले नगरपालिकामा भन्दा निकै सहज तरिकाले काम भएको बताएका छन् । “नगरपालिकामा यो कोठा र त्यो कोठा चहार्नुपथ्र्यो, त्यसमाथि कर्मचारी नभेटिने समस्या पनि उत्तिकै थियो । “एक सेवाग्राहीले भने, वडामा सबै काम एउटै टेवलबाट तुरुन्त भयो । नपुगेको कागजात लिन जानुपरे पनि घर नजिकै हुने, प्राविधिकले योजना हुने स्थानको अवलोकन गर्नुपरे पनि सहजै पुगेर हेर्ने र काम गरिदिने । वडामै सम्झौता हुँदा साह्रै सजिलो हुने रै’छ ।”
त्यसो त वडामै योजना सम्झौता हुँदा सहज मात्र होइन, पैसा र समयको पनि बचत हुन्छ । कुनै-कुनै वडाका बासिन्दा नगरपालिका पुग्नको लागि मात्र २-३ वटा गाडी चढनुपर्ने वा अटो लिनुपर्ने अवस्था छ । निजी सवारीसाधन नहुने वडावासीलाई नगरपालिका पुग्न र फर्किनमात्र एकदिन पुरै खर्चिनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा वडा कार्यालयमै सेवाग्राहीले सेवा पाउने गरि कार्यक्रम संचालन गरेर राम्रो कामको थालनी भएको देवदह-५, स्थीतसुन्दर टोल विकास संस्थाका अध्यक्ष श्यामभक्त कँडेलले बताए ।
वडामै योजना सम्झौता गर्दा सेवाग्राहीको पैसा र समय बचतसंगै नगरवासीले नगर सरकारले आवश्यकता पर्दा घर आगनमै आएर सेवा दिन्छ र मेरो सरकारले मेरो लागि काम गर्छ भन्ने अनुभूतिसमेत हुने नगर प्रमुख ध्रुवप्रसाद खरेल बताउँछन् । उनी भन्छन्, “दुई जना कर्मचारी वडामा गयो भने योजना सम्झौता हुने देखियो तर एउटा वडामा कम्तिमा २०-२२ वटा उपभोक्ता समिति छन्, ती सबै जना नगरपालिका धाउँदा उहाँहरूको समय र पैसा दुवै खर्च हुने समस्या अन्त्य गर्न घुम्ती सेवा संचालन गरेका हौँ ।”
नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने नगर सरकारको दायित्व पुरा गर्ने प्रयत्न गरिएको बताइन् । उनले भनिन्, “हामी नागरिकका प्रतिनिधि हौँ, हामीले सदैव नगरवासीको सहजता र सुविधाको लागि काम गर्नुपर्छ । घुम्ती सेवामार्फत काम गर्दा सहज रूपमा समयमै काम हुने भएकोले १२ वटै वडामा घुम्ती सेवा पुर्याउने हाम्रो लक्ष्य छ ।”
सबै वडासंग प्रभावकारी समन्वय हुन नसकेको गुनासो
देवदहका केही वडा अध्यक्षहरूले घुम्ती सेवाको सम्बन्धमा नगरपालिकाले वडा कार्यालयसंग प्रभावकारी समन्वय गर्न नसकेको बताएका छन् । वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनारले नगरपालिकाको वार्षिक कार्ययोजना र घुम्ती सेवाको टाइमिङ्ग नमिलेको बताए । उनले भने, “कार्यक्रम राम्रो छ, हामी पनि तयारी गरिरहेका छौं । तर नगर प्रशासनले राम्रो समन्वय गर्यो भने काम गर्न अझै सहज हुनेछ ।
वडा नं २ का वडा अध्यक्ष दलबहादुर राकस्कोटीले उपभोक्ता समिति गठनको कार्य चलिरहेको बताए । “हामी पनि सबै सम्झौता समयमै गर्ने र सहज रूपमा गर्ने योजनामा छौं ।“ उनले भने, “अरू वडाका अध्यक्ष ज्यूहरूसंगै हामी पनि काम सक्छौं, त्यही अनुसार कार्यसम्पादन भैरहेको छ ।“ नगरपालिककाको नेतृत्वले उत्तरी क्षेत्रमा जति दक्षिणी क्षेत्रमा ध्यान नदिएको अनुभूति आफुले गरेको उनको भनाइ छ ।
वडा नं ११ का वडा अध्यक्ष दुधनाथ कुंवरले उपभोक्ता समिति गठनपश्चात सम्झौताको काम अघि बढ्ने बताए । “उपभोक्ता समिति बनाइरहेका छौं, समितिका पदाधिकारीहरूले वडामै सजिलो हुन्छ भन्नुभयो भने वडामै घुम्ती सेवा कार्यक्रम आब्हान गर्छौं ।” उनले भने ।
कुनैपनि कार्यक्रम गर्दा नगरपालिकाले सबैको समन्वयमा आवश्यक छलफल गर्न जरूरी छ । समन्वयको अभावमा कहिलेकाँही राम्रो कार्यक्रमले पनि अपेक्षित नतिजा नदिन सक्छ । देवदह नगरपालिकाले यस प्रकारका राम्रा अभ्यास जारी राख्दै बेथिति र भ्रष्टाचारको गन्ध नआउने गरि कार्यसम्पादन गर्नुपर्ने स्थानीयको भनाई छ ।
असार १० गते सम्पन्न चौधौं नगरसभाबाट १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट ल्याएको देवदह नगरपालिकाले पुर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरेको छ । जसमध्ये उपभोक्ता मार्फत हुने योजनाको सम्झौता आवश्यकता अनुसार वडामै पुगेर गर्ने तयारी गरेको नगरपालिकाले टेण्डरमार्फ़त हुने कामको लागि पनि समयमै आह्वान गर्ने र कार्यसम्पन्न गर्ने जनाएको छ ।
देवदह नगरपालिकाले आ.व. ०८१/८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय रुपैंया आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य समेत लिएको छ ।
नगरको समग्र बजेटको कुरा गर्दा आर्थिक विकासतर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा कृषितर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदातर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारणतर्फ २ लाख ८० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ ६ करोड ३३ लाख ४९ हजार ५ सय रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षातर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाले विपद व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार रुपैंया छुट्याएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology