रूपन्देही । रूपन्देहीको तिलोत्तमा नेपालको एक उत्कृष्ट नगरपालिका हो । भौगोलिक हिसावले पनि सुन्दर, सुरक्षित र शान्त समतल तिलोत्तमा सहरमा बस्ती पनि बाक्लिदै गएको छ । फराकिला मोटरबाटा र ब्यवस्थित बस्तिले सुसज्जित बन्दै गएको यस नगरमा थुप्रै पर्यटकीय स्थल निर्माण भइरहेका छन् ।
यस नगर क्षेत्रमा रहेका पार्कहरुलाई ब्यवस्थित गरेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न योजनाहरु बनाएको छ । नगरपालिकाले प्रदेश र केन्द्र सरकारसंग समन्वय गरेर यी पर्यटकीय क्षेत्रलाई थप ब्यवस्थित बनाउने प्रयास गरिरहेको छ । चालु आर्थिक वर्षमा ‘एक वडा एक पार्क’को अवधारणामा कार्यक्रम सुरु गरेर नगरका १७ वटै वडाहरुलाई बजेट बितरण गरिएको छ । चालु आर्थिक वर्षमा हरेक वडालाई न्यूनतम एक लाख रुपियाँ पार्क निर्माणको लागि वितरण गरिएको छ । यो रकमले पार्क नभएका वडामा नयाँ पार्क निर्माणको थालनी गरिएको छ भने भएका पार्कहरुलाई थप ब्यवस्थित गर्ने काम गरिएको छ ।
तिलोत्तमाको वडा नं. १ र २ को भूगोलमा पर्ने शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (बनबाटिका) यस क्षेत्रकै एक उत्कृट पार्क बनेको छ । यहाँ दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । बनबाटिकाका अध्यक्ष बेलप्रसाद शर्मा भन्छन, ‘वनबाटिकामा बार्षिक ४ लाखको हाराहारिमा पर्यटकहरु भित्रिने गरेका छन् । यसलाई थप ब्यवस्थित बनाउन विभिन्न परियोजना संचालन गरेका छौं ।’ अध्यक्ष शर्माका अनुसार ४१.३५ क्षेत्रफलमा फैलिएको यस बनबाटिका परिसरमा २४ प्रजातिका तीन सय ४० बटा बन्यजन्तु राखिएको छ । चितुवा, भालु, स्याल चिल, अजिंगर तथा विभिन्न प्रजातिका चराहरु यहाँ राखिएको छ । यहाँ विभिन्न साना पार्क तथा स्मृति स्तम्भहरु निर्माण गरिएको छ भने पार्कलाई हरियाली बनाइएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष फर्सुराम गिरीका अनुसार बाल उद्यान निर्माण गरेर बालबालिकाको लागि रेल समेत सवार गर्ने ब्यवस्था मिलाईएको छ । बनभोज खान आउनेहरुको लागि दुई दर्जन सेडहरु निर्माण गरिएको छ ।
अध्यक्ष शर्माका अनुसार हरियाली प्रवर्धन कार्यक्रमको लागि हाल सात लाखको बजेटमा काम भइरहेको छ । त्यस्तै १० करोडको लागतमा बनबाटिकाका संस्थापक अगुवा बाबुराम अर्यालको सम्झनामा स्मृति पार्क बनाउने योजना अघि सारिएको छ ।
त्यस्तै तिलोत्तमाको वडा नं. ६ स्थित मंगलापुरमा रहेको कुन्जपार्क पनि पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्न पुगेको छ । करिब छ बिघा क्षेत्रफलमा फैलिएको यस पार्क हरियाली बोटविरुवा र बीचमा सुन्दर तालले सुसज्जित छ । स्टीमरमा सरर पानीमाथि सयर गर्न सकिने यस कुन्जपार्कमा आन्तरिक पर्यटक रमाउने गर्दछन् । वडा नं. ६ का वडाअध्यक्ष गणेश पाठकका अनुसार नगरपालिकाको सहयोगमा यो पार्कलाई थप ब्यवस्थित बनाउने प्रयास भइरहेको छ । यसको क्षेत्रफल पनि बस्तार गर्ने योजना रहेको पाठकले उल्लेख गरे । यस पार्कमा रम्न स्थानीयमात्र नभर विभिन्न जिल्लाका मानिसहरु आउने गर्दछन् । खासगरी नयाँ वर्ष तथा जाडोयाममा बनभोज खान मानिसहरु धेरै आउने गर्दछन् । यहाँ पाँचवटा बनभोजका लागि सेडहरु निर्माण गरिएको छ ।
यस वडा नं. ६ मा तिलोत्तमा पार्क पनि ब्यवस्थित छ । यस पार्कभित्र कवर्ड हल, खेलमैदान, खुल्ला ब्ययाम हल तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ । बिगत सात बर्षको अवधिमा यहाँ करिब ४ करोडको लगानीमा संरचनाहरु निर्माण गरिएको वडाअध्यक्ष पाठकले जानकारी दिए । वडा नं. ६ कै आनन्दबन तथा बाउन्नकोटी सामुदायिक वन क्षेत्रमा हरियाली पार्क स्थापना गरिएको छ । यहाँ हरियालीसहित बनभोजका लागि सेडहरु निर्माण गरिएको छ भने दुर्गा मन्दिर स्थापना गरिएको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिकाको वडा नं. १७ मा जमुहानी पार्क निर्माण गरिएको छ । यस पार्कलाई बहुउद्देश्यी प्रयोजनको लागि थप ब्यवस्थित बनाउदै लागिएको वडाअध्यक्ष दानबहादुर चौधरीले बताए । चौधरीले भने, ‘वि.सं. २०७५ सालदेखि पार्क निर्माणको काम थालिएको हो, यसमा विभिन्न संरचना बनाइएको छ । थप ब्यवस्थित गर्दै लगिएको छ ।’ चौधरीका अनुसार यस पार्कमा संरचना निर्माण गर्दा हालसम्म ५४ लाख रुपियाँ खर्च भइसकेको छ भने अर्को ४० लाखको काम भइरहेको छ । यस पार्कमा महाशिवरात्रीको मेला समेत लाग्ने गर्दछ । यहाँ विभिन्न मन्दीर तथा बनभोजका लागि सेडहरु निर्माण गरिएको छ । हनुमानको मूर्ति पनि निर्माण गरिएको छ । यहाँ बहुउपयोगी सामुदायिक भवन बनाउने तयारी पनि रहेको वडाअध्यक्ष चौधरीले बताए । साढे दुई बिघा क्षेत्रफलको सार्वजनिक जग्गामा यो पार्क निर्माण गरिएको हो । वडा नं. ८ को करहिया सामुदायिक वन क्षेत्रमा पनि बोटानिकल पार्क निमार्ण गरिएको वडाअध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । यस पार्कलाई नमूना पार्कका रुपमा विकास गर्न लागिएको उनले बताए ।
तिलोत्तमालाई पर्यटकीय नगरको रुपमा विकास गर्न हरेक वडाहरुलाई चालु आर्थिक वर्षमा बजेट बितरण गरिएको नगरप्रमुख रामकृष्ण खाँणले उल्लेख गरे । उक्त अवधारणा अनुसार ‘एक वडा एक पार्क’ अभियान सुरु गरिएको खाँणले जानकारी दिए । यो कार्यक्रम अनुसार सबै वडाहरुले पार्क निर्माणको काम सुरु गरेको उनले बताए । पुराना पार्कलाई थप ब्यवस्थित गर्न र पार्क नभएका वडाहरुमा पार्क बनाउन प्रोत्साहित गरिएको उनको भनाई छ ।
नगरपालिकाबाट बजेट पाएपछि प्राय सबै वडाहरुले पार्क निर्माणको अभियान थालेको नगरपालिकाले जनाएको छ । तिलोत्तमाले बुटवल–भैरहवा छलेन सडकको बीच भागमा पनि पार्कहरु निर्माण गरी फूल प्रजातिका बोटविरुवा तथा बुद्धका मूर्तिहरु पनि राखेको छ ।