बुटवल । सोमबार हुल बाधेंर पहिरोको अवलोकन गर्न गएका बुटवल उप-महानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय युवाले मुक्का प्रहार गरे । पहिरो पिडितहरू जसले आफ्नो घर गुमाएर अर्कैको घरमा शरण लिएर बस्दै आएका छन् र जो पहिरोको जोखिममा छन्, उनीहरू निकै आक्रोशित देखिन्थे मेयर सुवेदीप्रती । जसको कारण अन्य केही नभएर नगर प्रमुखका रुपमा भोट दिएर जिताएका आफ्ना जनप्रतिनिधिले अपेक्षाकृत काम नगर्नु नै थियो ।
सुवेदी मात्रै होइनन्, अहिले पनि स्थानीय जनप्रतिनिधि देखि लिएर संघीय सांसद र मन्त्रीसम्म आफ्नो दायित्वबाट पन्छिने तर समृद्धिका गफ भने चुट्न नछाड्ने मनोरोगबाट ग्रसीत छन् ।
अनावश्यक मिडियावाजी गर्ने र भोजभतेर तथा खादामालामा राम्रै खर्च गर्ने तर जनताका सामान्य समस्या हल गर्न पनि यो प्रक्रिया र त्यो प्रक्रिया भन्दै आलटाल गर्ने प्रवृत्तिबाट माथि नउठेका जनप्रतिनिधिले राजनैतिक कोणबाट हेर्दा नागरिकबाट २-४ मुक्का वा तिखा शब्द भेट्नु सामान्य नै हो । यद्यपि कानुनी रुपमा त्यसप्रकारका गतिविधिलाई गैरकानुनी मानिन्छ ।
बुटवलका मेयर पिटिदा देवदह र तिलोत्तमाले सिक्ने कि जनआक्रोशको निन्दा गर्ने ?
सोमबार मेयर सुवेदीमाथिको हातपातको निन्दा गर्दै बुटवलसंग सिमा जोडिएका तिलोत्तमा र देवदह लगायतका नगरपालिकाले विज्ञप्ति जारी गरे । एउटा कोणबाट हेर्दा उक्त विज्ञप्तिबाजी मेयर सुवेदीप्रती सहानुभूति होला । तर राजनीति गरेर चुनाव लडेर नगर प्रमुख, उपप्रमुख बनेका नेताहरूका लागि सामान्य सहानुभूति भन्दा नैतिकताको राजनीति धेरै माथी हुनुपर्छ । जनआक्रोशलाई सम्हाल्ने र उनीहरूका माग सम्बोधन गर्दै निरन्तर नेतृत्व गर्ने क्षमता र तदारुकता नेताहरूले देखाउनुपर्छ त्यो न बुटवलका मेयरले देखाए नत देवदह र तिलोत्तमाका प्रमुख, उप-प्रमुखले देखाउन सके ।
हुन त, उहीँ प्रक्रियाबाट आएका, उसैगरी काम गर्ने र भोलि आफुमाथी पनि त्यसैगरी स्थानीयहरू जाईलाग्न सक्ने अनुमान गरेर उनीहरूले स्थानीय युवाहरूको आक्रोशप्रति निन्दा व्यक्त गरिनु स्वाभाविक नै पनि मान्न सकिएला । तर, जनप्रतिनिधि कर्मचारी होईनन्, उनीहरू नेता हुन् र नेताले कुनैपनि घटनालाई प्रथमतः राजनैतिक कोणबाट हेर्न र विश्लेषण गर्न जरुरी छ ।
हो, कानुनी रुपमा हातपात गरिनु अपराध नै हो । तर नागरिक नेताका अभिभावक पनि हुन् । अनि आफ्ना अभिभावकले आफैले जन्माएर (निर्वाचन मार्फत) मेयर बनाएको बच्चालाई हक्ल्याउन पनि नपाउँने ? निर्वाचन जितेर राज्यको सेवा सुविधा लिएर नागरिकको काम नगर्नेहरूलाई जनताले सधैं ज्यु हजुरी गर्नुपर्ने हो ? अवश्यपनि होइन ।
जनताले जिताउँछन, जनताले अफ्ट्यारोमा बचाउँछन र जनताले आफुलाई आफ्ना प्रतिनिधिले, आफ्ना नेताले अलमल्याएको वा धोका दिएको महसुस गरेभने मुक्का पनि बर्षाउँछन् भन्ने सानो उदाहरण हो - बुटवल घटना । विश्व राजनीतिक ईतिहास र नेपालको इतिहासले समेत बारम्बार उक्त कुरा पुष्टि गर्दै आएको छ ।
तसर्थ, कुनैपनि जनप्रतिनिधि वा कर्मचारीले जनतामाथी प्रहरी लगाएर होईन, धम्क्याएर र झुक्याएर होईन । उनीहरूप्रती ईमानदार भएर काम गर्नु जरुरी छ । बुटवलमा मेयर कुटिदा देवदह वा तिलोत्तमा वा अन्य कुनै स्थानीय सरकारले जनआक्रोशको निन्दा गरेर विज्ञप्तिबाजि गर्ने होईन । बुटवल वा अन्य स्थानीय तहका प्रतिनिधिले गरेका गल्तीबाट पाठ सिकेर, आफ्ना नागरिकलाई विश्वासमा लिएर काम गर्न जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology