देवदह । देवदह -७ स्थित ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयले चारदिने अभिभावक प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ । बालबालिकाको शैक्षिक तथा व्यवहारिक विकासमा अभिभावकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको विद्यालयले जनाएको छ ।
प्रशिक्षणको पहिलो दिन शिशु कक्षादेखि कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीका ४०० बढी अभिभावक सहभागीलाई प्रशिक्षित गरिएको विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले जानकारी दिए ।
प्रशिक्षणमा बालबालिकासँग अभिभावकले गर्ने व्यवहार, घरमा सिकाइका लागि उपयुक्त वातावरण निर्माण, बालबालिकाको क्षमता पहिचान तथा विद्यालय र अभिभावकबीचको सहकार्यलगायतका विषयमा प्रशिक्षण तथा छलफल गरिएको विद्यालयका सहप्रचार्य शंकर सुवेदीले बताए ।

कार्यक्रममा शिक्षाविद् तथा शैक्षिक उद्यमी कमल सिलवालले असल अभिभावकत्वका विभिन्न पक्षबारे प्रशिक्षण दिएको विद्यालयले जनाएको छ । सिलवालले बालबालिकाको सफलताका लागि विद्यालयको शैक्षिक प्रयाससँगै घरपरिवारको वातावरण र अभिभावकको व्यवहार पनि महत्वपूर्ण हुने विषयमा जोड दिएका थिए ।
विद्यालय संचालक समिति अध्यक्ष विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन देवदह अध्यक्ष रामबहादुर गुरुङ, ग्रीन प्लान्ट मन्टेश्वरीकी प्रिन्सिपल सिमरन खड्का लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology